अलैँची निर्यातमा नेपालको फट्को : ६ महिनामै झन्डै गत आर्थिक वर्षको हाराहारी निर्यात


काठमाडौँ । ’कालो सुन’ चिनिने अलैँचीको निर्यातमा अप्रत्याशित वृद्धि देखिएको छ। भन्सार विभागको पछिल्लो तथ्याङ्कअनुसार ६ महिनाको अवधिमा भएको निर्यात परिमाण र आम्दानी दुवै अघिल्लो पूरा आर्थिक वर्षको कुल निर्यातको हाराहारीमा पुगेको हो।

विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्षको ६ महीनामा नेपालबाट ७ अर्ब १९ करोड रूपैयाँको अलैंची निर्यात भएको छ । गत आव २०८१/८२ को सोही अवधिमा ४ अर्ब ५६ करोड रुपैयाँ बराबरको निर्यात भएको थियो । चालू वर्षको ६ महीनाको वृद्धिदर अघिल्लो वर्षको तुलनामा ५७.६६ प्रतिशत हो । गत आवको वार्षिक रुपमा ७ अर्ब ६८ करोड रुपैयाँ बराबरको अलैंची निर्यात भएको थियो । जुन यस वर्षको ६ महिनामा अघिल्लो वर्षको हाराहारीमा निर्यात भइसकेको छ ।

परिमाणको हिसाबमा पनि यस वर्ष ३४ लाख ६१ हजार किलोग्राम निर्यात भएको छ । जबकी गत आवमा ४३ लाख १ हजार किलोग्राम निर्यात भएको थियो ।

निर्यातको परिमाण र यसबाट आर्जित रकम दुवैले नयाँ रेकर्ड कायम गर्ने संकेत देखाउँदा यस क्षेत्रका व्यवसायी र किसानहरू उत्साहित भएका छन्। यो वर्ष अलैंची निर्यात बढ्नुको कारण मूल्य वृद्धि रहेको नेपाल अलैँची व्यवसायी महासंघका अध्यक्ष दिपक नेपालले बताए । किसान र व्यापारीले राम्रो मूल्य पाएपछि अलैंची होल्ड नगरी निर्यात गर्दा निकासीको आकार बढेको उनले जानकारी दिए ।

‘सुरुवाती महिनादेखि नै अलैँचीको मूल्य वृद्धि भयो, जसले गर्दा अलैंची किसानले राम्रो मूल्य पाए’ नेपालले भने, ‘किसान तथा निकासीकर्ताले राम्रो मूल्य पाएपछि उनीहरुले अलैँची स्टकमा राखेनन् ।’ गत वर्षहरुमा सुरुवाती चरणमा मूल्य नपाउँदा निकासीकर्ता तथा किसानले अलैंची बिक्री नगरी राख्ने गरेको उनले बताए ।

अध्यक्ष नेपालका अनुसार, हाल कोशी प्रदेशमा ठूलो अलैंची करिब १८ हजार हेक्टर क्षेत्रमा लगाइएको छ, जसमा करिब चार गुणाभन्दा बढी नयाँ क्षेत्र समावेश छन् । यसबाट १÷२ वर्षभित्र उत्पादन आउने अपेक्षा गरिएको छ । नेपालमा अलैंची उत्पादन हुने प्रमुख जिल्ला इलाम, पाँचथर, ताप्लेजुङ, संखुवासभा, तेह्रथुम, भोजपुर र धनकुटा हुन् । पछिल्लो समय बागमती र गण्डकी प्रदेशमा पनि यसको खेती विस्तार भएको छ । हाल कुल उत्पादनको करिब ९० प्रतिशत हिस्सा कोशी प्रदेशको नै रहेको छ ।

नेपालमा उत्पादित अलैँचीको करिब ९९ प्रतिशत भारत निर्यात हुने गरेको छ । भारतमा पुग्ने बित्तिकै त्यहाँ ‘ब्रान्डिङ’ भएर विश्व बजारमा पुनःनिर्यात हुने गरेको उनको भनाइ छ । नेपाली अलैँचीले अझै विश्व बजारमा आफ्नै पहिचान बनाउन नसकेको सापकोटाको गुनासो छ ।

संघका अध्यक्ष नेपालले स्टकमा रहेको अघिल्लो वर्षको अलैँची समेत यस वर्ष बिक्री हुँदा मूल्य र परिमाणमै अहिलेसम्मको सबैभन्दा धेरै निर्यात भएको बताए । गत वर्षको सुरुवातमा ६०÷७० हजार प्रतिमन भएको अँलैची यस वर्ष भने सुरुवातमा नै १ लाख माथि पुगेको उनले जानकारी दिए ।

नेपालमा उत्पादित ९९ प्रतिशत अलैँची भारततर्फ निर्यात हुन्छ । नेपालबाट अन्य मुलुकमा अलैँची निर्यात गर्न धेरै समय लाग्ने हुँदा अन्य मुलुकमा निर्यात प्रवद्र्धन हुन नसकेको उनले बताए । तर, भारतबाट भने १५ दिनमै ती देशमा अलैँची पु¥याउन सकिन्छ । नेपालबाट भारत निर्यात हुन्छ र भारतीय कम्पनी प्रशोधन गरेर अन्य बजारसम्म पु¥याउँछन् ।

पछिल्लो समयमा अलैँचीको मूल्यमा आएको वृद्धिले किसानहरुमा उत्साह ल्याएको छ । यद्यपि उत्पादन घट्दै जानु र रोगको प्रकोप बढ्नु दीर्घकालीन चुनौती बनेको छ । स्थायी लाभका लागि गुणस्तरीय उत्पादन र अन्तर्राष्ट्रिय बजारमा ‘नेपाली ब्रान्ड’ विकास गर्न अब सरकारले ठोस पहल गर्नुपर्ने आवश्यकता रहेको इलामका किसान महेश सापकोटाले बताएका छन् ।

नेपालमा उत्पादित अलैँचीको करिब ९९ प्रतिशत भारत निर्यात हुने गरेको छ । भारतमा पुग्ने बित्तिकै त्यहाँ ‘ब्रान्डिङ’ भएर विश्व बजारमा पुनःनिर्यात हुने गरेको उनको भनाइ छ । नेपाली अलैँचीले अझै विश्व बजारमा आफ्नै पहिचान बनाउन नसकेको सापकोटाको गुनासो छ ।

 

‘नेपाली उत्पादनलाई नेपाली ब्राण्डमा विकास गर्न सरोकारवालाहरुको चासो कम भएकै कारण नेपाली अलैँची विश्व बजारमा प्रसिद्ध हुन नसकेको हो । हामीले हरेक वर्ष भारतलाई सस्तो मूल्यमा नै अलैँची बिक्री गर्नु पर्ने बाध्यता रहेको छ ’ उनले भने।

नेपालबाट अन्य मुलुकमा निर्यात सम्झौता भए पनि निर्यात गर्न समय धेरै लाग्ने हुँदा निर्यात गर्न नसकेको व्यापार तथा निर्यात प्रवद्र्धन केन्द्रका सूचना अधिकारी कृष्णराज बजगाईँले बताए । ‘भारततर्फ निर्यात गर्न सहज हुन्छ । निर्याकर्ताले जहाँ सहज र छिटो हुन्छ, उतै निर्यात गरिहाल्छन् । आयातकर्ताले माग गरेको आधारमा निर्यात हुने हो । अन्य मुलुकबाट माग भए पनि कम माग हुन्छ त्यस कारण भारततर्फ नै बढी निर्यात हुने गरेको हो ।’ उनले भने ।

पाँच वर्षको अलैँची निर्यातको अवस्था

भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को ६ महिना (साउन–पुस) सम्म ७ अर्ब १९ करोड ९५ लाख रुपैयाँको ३४ लाख ६१ हजार किलोग्राम अलैँची निर्यात भएको छ । आव २०८१/८२ मा नेपालले ४३ लाख १ हजार किलो अलैँची ७ अर्ब ६८ करोड ३७ लाख रुपैयाँमा निर्यात गरेको थियो ।

त्यसैगरी, आव २०८०/८१ मा ७ अर्ब ९३ करोड ८१ लाख रुपैयाँ बराबरको ५० लाख १७ हजार किलोग्राम अलैँची निर्यात भएको विभागको तथ्यांकमा उल्लेख गरिएको छ । आव २०७९/८० मा ९९ लाख ९० हजार किलोग्राम अलैँची निर्यात गरेर नेपालले ८ अर्ब २७ करोड ६५ लाख रुपैयाँ आम्दानी गरेको थियो भने आव २०७८/७९ मा ५३ लाख ६७ हजार किलोग्राम अलैँचीबाट ४ अर्ब ८१ करोड ३४ लाख रुपैयाँ आम्दानी भएको थियो ।

प्रकाशित मिति: १२ माघ २०८२, सोमबार  ०८ : २८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।