निर्वाचन नजिकिँदै गर्दा दैनिक उपभोग्य वस्तुको मूल्य आकासियो


काठमाडौँ । आगामी फागुन २१ गते तोकिएको प्रतिनिधि सभा निर्वाचनको मिति नजिकिदै गर्दा दैनिक उपभोग्य वस्तुको मूल्य बढेकोे छ । चामल, दाल, तेललगायत अन्य खाद्य वस्तुको मुल्य बढेको हो । सरकार निर्वाचनमा केन्द्रित हुँदा र नियमनकारी निकायहरुको मौनताका कारण व्यापारीहरुले खाद्य वस्तुको मूल्य मनमर्जी रुपमा बढाउदा उपभोक्ता चर्को मूल्य तिर्न बाध्य भएका छन् ।

आयातित खाद्यन्नसँगै स्वदेशी उत्पादनहरुमा पनि मूल्य बढ्दै गएको छ । पछिल्लो समय त्रिसुलीको पोखरेली चामलमा किलोमा ९० रुपैयाँ बढेको छ । त्यसैगरी, स्टिम जिरामसिनो चामल स्थिर रहेको छ भने वासमति चामल प्रतिकेजी १० रुपैयाँले बढ्दा सोना चामल किलोमा ५ रुपैयाँले बढेको हो । यसरी किलोमा नै ९० रुपैयाँसम्म बढ्दा बोरा भएको वृद्धि अधिक देखिएको छ ।

त्यस्तै, मासको दाल किलोमा ३० रुपैयाँले वृद्धि भएको छ भने मुसुरो दाल किलोमा ५० रुपैयाँले बढेको हो । चनाको दाल केजीमा १० रुपैयाँले बढेको नेपाल खुद्रा व्यापार संघको तथ्यांकमा उल्लेख गरिएको छ ।

तेलको मूल्यमा पनि उल्लेख्य वृद्धि भएको तथ्यांकले देखाएको छ । हाल सूर्यमुखी फुलको तेल प्रतिलिटर २४० रुपैयाँ रहेको छ । त्यस्तै, भट्मास तेल प्रतिलिटर २२०, काँचो तोरीको तेल २४० र भुटेको तोरीको तेल ३५० रहेको छ । संघले तोकेको मूल्य र खुद्रा व्यापारीले बेच्ने मूल्यमा भने फरक देखिन्छ । त्यो मूल्य पनि पसलपिच्छे फरक–फरक छ ।

व्यापारीहरुलाई नियमनको दायरामा ल्याउनुपर्ने सरकारी निकाय उल्टै उनीहरुको बचाउमा उत्रिएका छन् । नेपालमै उत्पादन हुने खाद्य वस्तुको भाउ बढ्दा पनि सरकारी निकायसमेत डलरको प्रभाव हो भन्दै मूल्य वृद्धिको ढाकछोप गरिरहेका छन् ।

अन्तराष्ट्रिय बजारमा डलरको भाउ बढेकाले खाद्यान्नको भाउ बढेको वाणिज्य आपूर्ती तथा उपभोक्ता संरक्षण विभागका निर्देशक नरहरी तिवारीले बताएका छन् । बजारको अनुगमन गरि वस्तुको मनपरी मूल्य कायम गरिएको खण्डमा भने कारवाहीको प्रक्रिया निरन्तर चलिरहेको उनको दाबी छ । विभागले यस्तो दाबी गरिरहँदा बजारमा खाद्य वस्तुको मूल्य घट्नुको सट्टा दैनिक बढीरहेको छ ।

सरकार निर्वाचन गराउने तयारीमा लागेको छ । सोही मौकामा व्यापारी तथा उद्योगीहरुले उपभोग्य वस्तुको मूल्य बढाएर उपभोक्तालाई ठग्ने काम गरेको उपभोक्ता संरक्षण मञ्चका अध्यक्ष प्रेमलाल महर्जन बताउँछन् ।
उनका अनुसार, वाणिज्य विभाग पनि निर्वाचन केन्द्रित नै भएको देखिन्छ । विभागका कर्मचारीहरु निर्वाचन तयारीमा खटाएका कारण बजार अनुगमन सीमित हुन पुगेको छ । सुस्त अर्थतन्त्र निर्वाचनका लागि राजनीतिक दलहरुले उद्योगी तथा व्यवसायीहरुसँग उठाउने चन्दाको कारण देखाएर व्यवसायीहरुले मूल्य वृद्धि गर्ने गरेको महर्जन बताउँछन् ।

सिजनमा नै छोइनसक्नु भयो हरियो तरकारीको भाउ

अहिले सिजनकै तरकारी गोलभेँडा, काउली, बन्दा, मुला, साग लगायतको मूल्य चर्काे छ । तरकारीको मूल्य अत्याधिक महँगो हुँदा सर्वसाधारणलाई भान्सा चलाउन समेत मुस्किल परेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार अहिले सिजनको काउली नै सबैभन्दा बढी महँगो बनेको छ । समितिका अनुसार माघ १४ गते काउली प्रतिकिलो थोक मूल्य ६३ रुपैयाँ छ ।

यो मूल्य गत वर्षको यही बेलासँग तुलना गर्दा ६ गुणा बढी हो । गत वर्ष माघ १५ मा काउली प्रतिकिलो १० रुपैयाँमा कारोबार भएको थियो । समितिका अनुसार काउलीसँगै गत वर्षभन्दा यो वर्ष अधिकांश हरियो तरकारीको मूल्य बढेको छ ।

यस्तै, भारतीय गोलभेँडा हाल गत वर्ष थोकमा प्रतिकिलो ६५ रुपैयाँमा कारोबार भएको थियो । यो वर्ष सोही दिन प्रतिकिलो ७५ रुपैयाँमा कारोबार भएको छ । यो गत वर्षभन्दा १० रुपैयाँ बढी हो । बन्दा लोकल ५ गुणाले बढेको छ । गत वर्ष प्रतिकिलो १२ रुपैयाँमा कारोबार भएको थियो । यो वर्ष बढेर प्रतिकिलो ६१ रुपैयाँ पुगेको छ ।

यस्तै, मुला रातो पनि गत वर्षभन्दा केही महँगो भएको छ । गत वर्ष मुला प्रतिकिलो २५ रुपैयाँमा कारोबार भएको थियो । अहिले बढेर २७ रुपैयाँमा कारोबार भएको तथ्यांकमा उल्लेख छ । घिउसिमी लोकल गत वर्ष ५५ रुपैयाँमा करोबार भएको घिउसिमी यो वर्ष बढेर १०५ रुपैयाँ पुगेको छ ।

अहिले सिजनको तरकारीको मूल्य घट्नुपर्नेमा नघटेको कालीमाटी तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठले बताए । ‘विगतको अवस्था हेर्दा अहिले काउली, गोलभेँडा, बन्दा, मुला लगायत सिजनको तरकारीको मूल्य घट्नुपर्ने हो । गत वर्ष किसानले तरकारीको मूल्य नपाएर खेतमै फाल्ने गरेका कारण यस पटक कम उत्पादन गरेको हुन सक्छ,’ उनले भने, ‘बेमौसमी तरकारीको मूल्य वृद्धि भए पनि सिजनको तरकारीको मूल्य घट्नुपर्ने थियो । तर, यो वर्ष सिजनको तरकारी काउली, बन्दा र गोलभेँडाको मूल्य पनि उच्च छ ।’

उनका अनुसार, यस वर्ष तरकारी लगाउने समयमा बेमौसमी बर्षाका कारण तरकारी छिटो उत्पादन हुन सकेन र उत्पादन कम भयो जस कारण महँगाई नघटेको हो ।

प्रकाशित मिति: १६ माघ २०८२, शुक्रबार  ०७ : ४८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।