काठमाडौँ । निर्जीवन बीमकहरुले पुससम्म मोटर बीमामार्फत सर्वाधिक व्यापार भित्र्याएका छन् । मोटर बीमामार्फत कम्पनीहरुले ८ अर्ब १ करोड ४५ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको हुन्। जुन कुल व्यापारको ३२.९८ प्रतिशत हिस्सा हो ।
नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार पुससम्म १४ वटा निर्जीवन बीमा कम्पनी र ४ वटा लघु निर्जीवन बीमा कम्पनीले २४ अर्ब ३० करोड २९ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका हुन् ।
चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म सम्पत्ति बीमामार्फत कम्पनीहरुले ५ अर्ब ९० करोड ७१ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन्। कुल व्यापारमा सम्पत्ति बीमाको हिस्सा २४.३१ प्रतिशत रहेको छ ।
यस्तै, इन्जिनियरिङ र ठेक्का बीमाले ३ अर्ब ८४ करोड २५ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।
यस्तै कम्पनीहरुले विविध बीमामार्फत २ अर्ब ६४ करोड ८३ लाख रुपैयाँ, सामुद्रिक बीमामार्फत १ अर्ब ४६ करोड १५ लाख रुपैयाँ, हवाई बीमामार्फत ९२ करोड ९८ लाख रुपैयाँ, कृषि तथा बाली बीमामार्फत ८६ करोड ३६ लाख रुपैयाँ र लघु बीमामार्फत ६३ करोड ५२ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् ।
पुससम्म शिखर इन्स्योरेन्सले सर्वाधिक धेरै कमाएको छ । चालु आर्थिक वर्षको पुससम्म शिखर इन्स्योरेन्सले २ अर्ब ७७ करोड ६४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्ष पुससम्म कम्पनीले २ अर्ब ५९ करोड २ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो।
यस्तै, सगरमाथा लुम्बिनी इन्स्योरेन्सले शिखर इन्स्योरेन्स पछि सबैभन्दा धेरै व्यापार भित्र्याएको छ । समीक्षा अवधिसम्म कम्पनीले २ अर्ब ६१ करोड ३३ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले २ अर्ब ५५ करोड ३६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो ।
त्यस्तै तेस्रो धेरै व्यापार भित्र्याउनेमा हिमालयन एभरेष्ट इन्स्योरेन्स रहेको छ। चालु वर्षको पुससम्म यो कम्पनीले २ अर्ब ४९ करोड २९ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।
यसैगरी, ६ महिनाको अवधिमा सिद्धार्थ प्रिमियर एभरेस्ट इन्स्योरेन्सले २ अर्ब २९ करोड ६५ लाख रुपैयाँ व्यापार भित्र्याएको छ भने आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले २ अर्ब ६ करोड ८० लाख रुपैयाँ व्यापार भित्र्याएको छ ।
यसैगरी, एनएलजी इन्स्योरेन्सले १ अर्ब ८७ करोड ९० लाख रुपैयाँ र नेको इन्स्योरेन्सले १ अर्ब ८० करोड २८ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् ।
समिक्षा अवधिमा युनाइटेड अजोड इन्स्योरेन्सले १ अर्ब ५३ करोड २२ रुपैयाँ, ओरिएन्टल इन्स्योरेन्सले १ अर्ब ५० करोड १३ लाख रुपैयाँ र सानिमा जीआईसी इन्स्योरेन्सले १ अर्ब ४२ करोड ८३ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् ।
त्यस्तै पुस मसान्तसम्म नेपाल इन्स्योरेन्सले १ अर्ब १८ करोड १२ लाख रुपैयाँ, प्रभु इन्स्योरेन्सले ९३ करोड ७२ लाख रुपैयाँ, नेसनल इन्स्योरेन्सले ६९ करोड ९३ लाख रुपैयाँ र राष्ट्रिय बीमा कम्पनीले ५६ करोड ७२ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् ।












प्रतिक्रिया