काठमाडौँ । पछिल्ला दिनहरूमा देशका विभिन्न भागबाट नक्कली नोटसहित कैयौँ व्यक्तिहरू पक्राउ पर्ने क्रम बढेको छ ।
गत माघ २२ गते सुनसरीको हरिनगर गाउँपालिका १ बाट एक हजार दरका २८ थान नक्कली नोटसहित इनरुवा नगरपालिका १० बस्ने २५ वर्षीय बहिस मियालाई प्रहरीले पक्राउ ग¥यो । त्यस्तै, केही दिनअघि मात्रै काठमाडौँको गोकर्णेश्वर ८ अत्तरखेल चोकबाट एक हजार दरका ७६ थान नक्कली नोटसहित ६ जनाको ठुलो गिरोह प्रहरीको फन्दामा परेको थियो ।
यी घटनाहरू त केवल प्रतिनिधि पात्र मात्र हुन् । बजारमा अझै ठुलो परिमाणमा जाली नोट परिसञ्चरण (सर्कुलेसन) भइरहेको हुनसक्ने सुरक्षा निकायको अनुमान छ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनको मिति नजिकिँदै गर्दा मुलुकभर चुनावी चहलपहल बढेको छ । राजनीतिक दलहरू गाउँगाउँमा चुनावी अभियानमा व्यस्त रहँदा अर्कोतिर यही मौका छोपेर आपराधिक समूहहरू पनि सक्रिय हुन थालेका हुन् । विशेष गरी निर्वाचनको समयमा हुने ठुलो नगद प्रवाह र भिडभाडको फाइदा उठाउँदै बजारमा नक्कली नोटको कारोबार बढेको देखिन्छ ।
चुनाव र नक्कली नोटको सम्बन्ध
निर्वाचनको समयमा राजनीतिक दलका ¥याली, सभा र प्रचारप्रसारका क्रममा ठुलो मात्रामा नगद खर्च हुने गर्दछ । यस्तो बेला चिया पसलदेखि ठुला होटलहरूसम्म मानिसहरूको चाप बढी हुन्छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रामेश्वर कार्कीका अनुसार, चुनावका बेला सुरक्षाकर्मीको ध्यान शान्ति सुरक्षा र चुनावी गतिविधिमा केन्द्रित हुन्छ ।
अपराधीहरूले यही मौकालाई सुनौलो अवसरका रूपमा प्रयोग गर्छन् । “चुनावमा नगद कारोबार गर्दा मानिसहरूले नोटको विस्तृत जाँच गर्ने फुर्सद पाउँदैनन् । हतारमा ठुलो मात्रामा नगद नोट साटासाट हुन्छ,” एसएसपी कार्कीले भने, “यसैको फाइदा उठाउँदै अपराधिक गिरोह सक्रिय हुन्छ ।” प्रहरीले हाल शंकास्पद स्थानहरूमा सूक्ष्म निगरानी र सर्च अपरेसन जारी राखेको उनले बताए । विशेष गरी बढी आर्थिक गतिविधि हुने स्थानहरू, सीमावर्ती क्षेत्रका हाटबजार, पेट्रोल पम्प, लगायत स्थानहरूमा नक्कली नोटको कारोबार बढी हुने उनको भनाई छ । त्यस्ता ठाउँहरू आपराधिक कारोबारीको मुख्य निशानामा पर्ने उनको भनाई छ । उनले भने, “आर्थिक गतिविधि धेरै हुने स्थानहरु, सीमावर्ती क्षेत्रहरू र ठुलो मात्रामा नगद कारोबार गर्दा सचेत रहनुपर्ने हुन्छ ।”
यस्तै, उनले कसैले दिएको नोट शंकास्पद लाग्छ भने तुरुन्तै नजिकको प्रहरी चौकीमा खबर गर्न आग्रह गरे । नक्कली नोट लुकाएर राख्नु वा चलाउनु पनि कानुनी अपराध भएको कार्कीले बताए । निर्वाचनको समयमा मात्र नभएर अरु समयमा सचेत हुनुपर्ने कार्कीको सुझाव छ ।
मुलुकी अपराध संहिताअनुसार नक्कली नोट बनाउने वा कारोबार गर्नेलाई कसुरको प्रकृति हेरेर ५ देखि १० वर्षसम्म कैद र १ लाख रुपैयाँसम्म जरिवानाको व्यवस्था छ ।
अर्थतन्त्रमा गम्भीर असर
नेपाल राष्ट्र बैंकका प्रवक्ता गुरुप्रसाद पौडेल नक्कली नोटको कारोबारलाई अर्थतन्त्रको ठुलो चुनौती मान्छन् । “बजारमा नक्कली नोट बढ्नु भनेको देशको मुद्राको विश्वसनीयताको लागि राम्रो कुरा होइन,” उनी भन्छन्, “यसले एकातिर मुद्रास्फीति बढाउँछ भने अर्कोतिर सोझा सर्वसाधारणको मेहनतको कमाइ एकै क्षणमा कागजको टुक्रामा परिणत हुन्छ ।”
राष्ट्र बैंकले नक्कली नोटको जोखिमबाट बचाउन वित्तीय साक्षरता कार्यक्रमहरू चलाइरहेको जानकारी दिए । तर पनि अपराधीहरूले पछिल्लो समय आधुनिक प्रिन्टर र प्रविधिको प्रयोग गरेर सक्कली जस्तै देखिने नोटहरू तयार पार्न थालेका छन् । कानुनी रूपमा कुनै पनि नोट नक्कली हो वा होइन भनेर प्रमाणित गर्ने अधिकार केवल बैंक र वित्तीय संस्थाहरूलाई मात्र रहेको पण्डितले बताए । उनले भने, “कुनै पनि नोट नक्कली भनेर भन्ने अधिकार बैंक तथा वित्तीय संस्थाहरूलाई मात्र हुन्छ । तर, सचेत नागरिकले केही सावधानी अपनाएमा यस्तो ठगीबाट बच्न सकिन्छ ।”
सक्कली र नक्कली नोट छुट्याउने प्रभावकारी तरिका
केन्द्रिय बैंकका प्रवक्ता पौडेलले नक्कली नोटको पहिचान गर्न विभिन्न उपायहरू सुझाएका छन् । उनका अनुसार सक्कली नोट विशेष कटन कागजबाट बनेको हुन्छ, जुन साधारण कागज जस्तो चिप्लो हुँदैन । नोटलाई मुख्य तीन तरिकाबाट परीक्षण गर्न सकिन्छ ।
१. हेरेर गरिने परीक्षणः नोटलाई उज्यालोतर्फ फर्काएर हेर्दा लालीगुराँसको स्पष्ट पानीछाप (वाटरमार्क) देखिने उनी बताउँछन् । नक्कली नोटमा यो छाप हुँदैन वा बाहिरबाटै छापिएको जस्तो धमिलो देखिन्छ । यसका साथै १ हजारको नोटलाई उज्यालोमा हेर्दा अगाडि र पछाडि दुवैतर्फ छापिएको अङ्क मिलेर पूर्ण १००० देखिन्छ । ५०० र १०० मा NRB स्पष्ट देखिन्छ ।
२. छामेर गरिने परीक्षणः सक्कली नोटमा प्रयोग गरिएको अक्षर र चित्रहरू अलि उठेका हुन्छन् । गभर्नरको हस्ताक्षर र नेपाल राष्ट्र बैंक लेखिएको ठाउँमा हातले छाम्दा खस्रो महसुस हुन्छ । तर नक्कली नोट बढी चिल्लो हुन्छ । दृष्टिविहीनहरूले चिन्नका लागि १ हजारको नोटमा ‘M’ अक्षर, ५०० मा दुई वटा थोप्ला र १०० मा एउटा थोप्ला उठाइएको हुन्छ ।
३. ढल्काएर गरिने परीक्षणः १ हजारको नोटलाई ढल्काउँदा बिचमा रहेको सुरक्षा धागोको रङ परिवर्तन हुन्छ र त्यसमा ‘NRB’ लेखिएको स्पष्ट देखिन्छ । साथै ५०० र १००० का नोटमा भएका केही चित्रहरू ढल्काउँदा चम्किलो रङमा परिवर्तन हुन्छन्, जुन नक्कली नोटमा सम्भव छैन ।
४. प्रविधिको प्रयोगः नोटलाई यूभी लाइटमा राख्दा सक्कली नोटमा भएको सगरमाथाको चित्र र नोटको नम्बर चम्किलो भएर बल्छ । नक्कली नोटमा यस्तो चमक हुँदैन ।












प्रतिक्रिया