के हो बैंकहरूले जारी गर्ने अविमोच्य असञ्चिति अग्राधिकार सेयर ? यसमा कसले लगानी गर्ने ?


काठमाडौँ । नेपाली बैंकिङ क्षेत्रमा पछिल्लो समय पुँजी वृद्धि गर्ने नयाँ औजारको रूपमा अविमोच्य असञ्चिति अग्राधिकार सेयर (पीएनसीपीएस) प्रचलनमा ल्याइएको छ । बैंकहरूले आफ्नो पूँजीकोष बलियो बनाउनको लागि यस्तो सेयर जारी गर्न थालेका छन् ।

हालसम्म नेपाल धितोपत्र बोर्डबाट नबिल बैंक, एनएमबी बैंक, सिद्धार्थ बैंक र कामना सेवा विकास बैंकले यस्तो सेयर जारी गर्ने अनुमति पाइसकेका छन् । यी चारवटै बैंकले कुल १५ अर्ब रुपैयाँ बराबरको यस्तो सेयर बजारमा ल्याई सकेका छन् । बोर्डको तथ्याङ्क अनुसार, नबिल बैंकले ५ अर्ब, सिद्धार्थ बैंक र कामना सेवा विकास बैंकले समान ३.५ अर्ब र एनएमबी बैंकले ३ अर्ब रुपैयाँ बराबरको यस्तो सेयर निष्कासन गरेका छन् ।

आफ्नो व्यवसाय विस्तार गर्ने र कर्जा प्रवाह गर्ने क्षमता बढाउनका लागि बैंकहरूले यो विशेष प्रकारको लगानीको स्रोत प्रयोग गर्न थालेका हुन् ।

यो सेयर किनिसकेपछि लगानीकर्ताले बैंकसँग आफ्नो साँवा रकम फिर्ता माग्न पाउँदैनन् । बैंकले आफैँले चाहेको अवस्थामा बाहेक यो रकम सधैँका लागि बैंककै पुँजी बनेर रहन्छ ।

त्यस्तै असञ्चितिको अर्थ यदि कुनै वर्ष बैंक घाटामा गयो भने त्यो वर्षको लाभांश लगानीकर्ताले पाउँदैनन् र पछिल्ला वर्षहरूमा नाफा हुँदा पनि अघिल्लो वर्षको पैसा थपिएर आउँदैन । यद्यपि, बैंक नाफामा भएको बेला साधारण सेयरधनीहरूलाई लाभांश बाँड्नुभन्दा पहिले यी लगानीकर्तालाई तोकिएको निश्चित दरमा अनिवार्य रूपमा लाभांश दिनुपर्ने प्राथमिकता भने यस प्रकारको सेयरमा हुन्छ ।

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीका अनुसार, बैंकहरूको व्यवसाय विस्तार भइरहेको सन्दर्भमा पुँजीको आधार बलियो बनाउन यस्तो औजार ल्याइएको हो । यसले बैंकको पुँजीमा आइपर्ने जोखिमलाई थेग्न सघाउ पुर्‍याउनुका साथै लाभांश वितरण गर्ने क्षमता र व्यवसाय गर्ने सामर्थ्यलाई पनि सन्तुलित बनाउँछ ।

हालको अवस्थामा धेरैजसो बिमा कम्पनीहरूले यस्तो सेयरमा लगानी गर्न रुचि देखाइरहेका समेत उनले बताए । ‘यो बैंकहरूका लागि एउटा यस्तो स्थायी पुँजी हो जसले गर्दा उनीहरूले ढुक्क भएर लामो समयका लागि लगानी र कर्जा परिचालन गर्न सक्छन,’ उनले भने ।

यद्यपि यस प्रकारको सेयर सर्वसाधारणले किन्न पाउँदैनन् । नेपाल राष्ट्र बैंक र धितोपत्र बोर्डका कडा नीतिहरूका कारण यो सेयरमा सर्वसाधारणले लगानी गर्न नपाउने ज्ञवालीले बताए । ‘यो सेयरमा जोखिमको मात्रा निकै उच्च हुने भएकाले यसलाई केवल संस्थागत लगानीकर्ताहरू जस्तै बिमा कम्पनी, पेन्सन फण्ड वा अन्य बैंकहरूका लागि मात्र सीमित गरिएको छ ।’

यदि बैंक कुनै बेला संकटमा पर्‍यो वा नाफा कमाउन सकेन भने लगानीकर्ताको सावाँ र ब्याज दुवै जोखिममा पर्न सक्ने उनको भनाई छ । सर्वसाधारणको सानो–सानो बचत यस्तो अनिश्चित र जोखिमपूर्ण क्षेत्रमा नफसोस् भन्ने उद्देश्यले नै यस्तो कानुनी व्यवस्था गरिएको उनको भनाई छ । साथै, यसको जटिल वित्तीय संरचना र जोखिमको विश्लेषण गर्न विशेष दक्षता चाहिने हुनाले ठूला संस्थाहरूले मात्रा यो सेयर खरिद गर्न पाउँने धितोपत्र बोर्डका प्रवक्ता निरञ्जय घिमिरेले जानकारी दिए ।

‘धितोपत्र बोर्डको नियम अनुसार यस्तो सेयर बढीमा ५० जना संस्थागत लगानीकर्तालाई मात्र बिक्री गर्न पाइने प्रावधान छ,’ उनले भने । प्रवक्ता घिमिरेका अनुसार अनुमति पाएको दुई महिनाभित्र यी बैंकहरूले सेयर निष्कासन प्रक्रिया पूरा गरिसक्नुपर्ने हुन्छ ।

प्रकाशित मिति: ४ फाल्गुन २०८२, सोमबार  ११ : ५७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।