काठमाडौँ । विगत लामो समयदेखि सुस्त रहेको देशको आर्थिक गतिविधि र बैंकहरूको कर्जा प्रवाहमा निर्वाचनले उत्साह थपेको छ । निर्वाचनको मिति नजिकिएसँगै बजारमा पैसाको चहलपहल बढ्न थालेको छ । जसको प्रत्यक्ष प्रभाव बैंकिङ्ग क्षेत्रको कर्जा प्रवाहमा देखिएको हो ।
नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्याङ्क अनुसार, बैंकिङ्ग प्रणालीमा निक्षेप संकलनको तुलनामा कर्जा प्रवाहको निकै बढी देखिएको छ । तथ्यांक अनुसार १ दिनमा बैंकिङ्ग प्रणालीमा १ अर्ब रुपैयाँ निक्षेप थपिँदा कर्जा प्रवाह भने ६ अर्ब रुपैयाँले वृद्धि भएको छ । केन्द्रीय बैंकका अनुसार अघिल्लो दिन ७७ खर्ब ३३ अर्ब रुपैयाँ रहेको कुल निक्षेप भोलिपल्टै ७७ खर्ब ३२ अर्ब रुपैयाँ पुगेको छ ।
तथ्याङ्क अनुसार यो अवधिमा वाणिज्य बैंकहरूको निक्षेप संकलन ६९ खर्ब ६८ अर्ब रुपैयाँमा स्थिर रहेको छ । अन्य बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप संकलन भने १ अर्ब रुपैयाँले घटेर ७ खर्ब ६४ अर्ब रुपैयाँ पुगेको छ । यो अवधिमा वाणिज्य बैंकहरूले ५ अर्ब र अन्य वित्तीय संस्थाहरूले १ अर्ब गरी कुल ६ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको केन्द्रीय बैंकले जनाएको छ । कर्जाको माग बढेसँगै बैंकहरूको औसत सीडी रेसियो ७४.३३ प्रतिशतबाट बढेर ७४.४० पुगेको छ भने अन्तर बैंक ब्याजदर पनि २.७४ बाट बढेर २.७५ प्रतिशत पुगेको छ ।
निर्वाचनमा राजनीतिक दल र उम्मेदवारहरूले पर्चा, पम्पलेट, भोजभतेर र प्रचारप्रसारमा गर्ने ठूलो खर्चले बैंकिङ्ग क्षेत्रको कर्जा प्रवाहमा सुधार ल्याएको हो । विशेषगरी मतदाता ओसारपसार र चुनावी व्यवस्थापनका लागि ठूलो नगद प्रवाह भएको हो ।
सार्वजनिक यातायात व्यवसायी महासंघका महासचिव भरत नेपालका अनुसार यो निर्वाचनको समयमा करिब १२ लाख मानिसले काठमाडौं उपत्यका छोड्ने अनुमान गरिएको छ । यसमध्ये धेरैजसो मतदातालाई राजनीतिक दल र उम्मेदवारहरूले गाडी रिजर्भ गरेर लगिरहेका छन् भने कतिपय स्वतःस्फूर्त रूपमा गइरहेका छन् । यसले यातायात र इन्धनको कारोबारमा ठूलो वृद्धि ल्याएको उनी बताउँछन् ।
नेपाल राष्ट्र बैंकका प्रवक्ता गुरुप्रसाद पौडेल निर्वाचनको समयमा अर्थतन्त्र चलायमान हुनुलाई स्वाभाविक प्रक्रिया मान्नुपर्ने बताउँछन् । “विगतका निर्वाचनहरू हेर्दा पनि सामान्य अवस्थाको तुलनामा चुनावी माहोलमा आर्थिक गतिविधि बढ्ने गरेको छ,” उनले भने । पौडेलका अनुसार हाल बजारमा ७ खर्ब ८७ अर्ब रुपैयाँ नगद रहेकोमा निर्वाचनको प्रभावले यो ८ खर्ब नाघ्ने अनुमान केन्द्रीय बैंकको छ । यसले बजारलाई चलायमान बनाउन सहयोग गर्ने हुँदा यसलाई सकारात्मक रूपमा लिनुपर्ने उनको तर्क छ ।
अर्थविद् केशव आचार्य निर्वाचनले होटल, यातायात र छापाखाना जस्ता क्षेत्रमा तत्कालै ठूलो व्यापार सिर्जना गरेको बताउँछन् । यसले बैंकिङ्ग प्रणालीमा रहेको पैसालाई बजारमा पु¥याउने र राजस्व संकलनमा समेत सघाउ पु¥याउने उनको भनाई छ ।
यता, अर्का अर्थविद् डा.डिल्लीराज खनाल भने यो चहलपहल क्षणिक भएको जीकिर गर्छन् । “चुनावले अर्थतन्त्रलाई केही समयका लागि प्राण दिएको देखिए पनि यो दिगो होइन,” उनले भने, “निर्वाचनमा हुने खर्च उत्पादनमूलक क्षेत्रमा भन्दा बढी उपभोग र आयातमा जान्छ ।” यस्तो खर्चले कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा करिब १ प्रतिशत मात्र योगदान दिने भएकाले यसलाई दिगो आर्थिक सुधारको रूपमा बुझ्न नहुने उनको दाबी छ ।
निर्वाचनले सुस्त रहेको बजारमा तत्कालका लागि रगत सञ्चार गर्ने काम गरेको जानकाहरूको बुझाई छ । तर चुनावपछि फेरि बजार सुस्त हुन सक्ने जोखिम कायमै रहेको उनीहरू बताउँछन् । बैंकहरूबाट भइरहेको कर्जा प्रवाह र बजारमा बढिरहेको नगदको मात्राले तत्काललाई व्यापार बढाए पनि यो उपभोगमुखी खर्चले दीर्घकालीन अर्थतन्त्रलाई सहि बाटो देखाउन नसक्ने उनीहरूको भनाई छ ।












प्रतिक्रिया