काठमाडौँ । मध्यपूर्वमा चलिरहेको युद्धको कारण अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य आकाशिदै गएको छ । जसको प्रत्यक्ष असर नेपालमा पनि पर्दै गएको हो ।
नेपाल आयल निगमले एक महिनाको अवधिमा पाँचपटक पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । चैत २ गतेबाट लागू हुने गरी पेट्रोलको मूल्यमा प्रतिलिटर १५ रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्यमा १० रुपैयाँ वृद्धि गरेको निगमले चैत १२ गतेबाट लागू हुने गरी फेरि पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १५ रुपैयाँको दरले मूल्य बढाएको थियो ।
त्यस्तै चैत १९ गतेबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १५ रुपैयाँको दरले मूल्य वृद्धि भएकोमा चैत २७ गतेबाट लागू हुने गरी पेट्रोलमा प्रतिलिटर १७ रुपैयाँ डिजेल र मट्टितेलमा प्रतिलिटर ५५ रुपैयाँ, हवाइ इन्धन आन्तरिक तर्फ प्रतिलिटर ६ रुपैयाँ र ग्यासमा १०० रुपैयाँ बढाएको थियो । निगमले बुधबार रातीदेखि लागु हुने गरि फेरि पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । निगमले करिब एक महिनाको अवधिमा पाँचपटक मूल्य बढाएको हो ।
निगमले निर्धारण गरेको पछिल्लो मूल्य अनुसार काठमाडौं उपत्यकामा पेट्रोल २१९ डिजेल र मट्टीतेल प्रतिलिटर २३७ रुपैयाँ पुगेको छ । त्यस्तै, हवाई इन्धनको मूल्य प्रतिलिटर २५६ रुपैँया पुगेको छ । एलपी ग्यास प्रतिसिलिन्डर २ हजार १० रुपैयाँ कायम भएको छ ।
यता, पेट्रोलियम पदार्थको मूल्य लगातार उकालो लागिरहँदा दैलेखमा भेटिएको मिथेन ग्यासको उत्खनन कहिलेदेखि सुरु हुन्छ भन्ने चासो बढेको छ ।
चिनियाँ अध्ययन टोलीले दैलेख जिल्लाको जलजले क्षेत्रमा ८० अर्ब ७० करोड घनमिटर मिथेन रहेको अनुमान गरेको छ ।
उक्त मिथेन ग्यासले अहिलेको इन्धन संकट अन्त्य गर्ने र स्थानीय समुदाय र समग्र राष्ट्रलाई आर्थिक र सामाजिक हिसाबले प्रचुर फाइदा हुने विश्लेषकहरू बताउँछन् ।
तर, सरकार भने पेटोलियम उत्खननमा समय लाग्ने बताउँदै आइरहेको छ । खानी तथा भूगर्व विभागको पेट्रोलियम परियोजना प्रमुख धर्मराज खड्काले ड्रिलिङको काम सकिए पनि थप प्रक्रियाको लागि समय लाग्ने बताए । उनका अनुसार चिनियाँ प्राविधिक टोलीले आफ्नो प्रारम्भिक प्रतिवेदन विभागमा बुझाई सकेको छ, र हाल त्यसको विस्तृत अध्ययन र समिक्षा भइरहेको छ ।
“ड्रिलिङको काम सकिएको छ, तर अन्तिम प्रतिवेदन नआएकोले उत्पादन कहिलेबाट हुन्छ भनेर तुरुन्तै भन्न सकिने अवस्था छैन,” खड्काले भने, “अझै धेरै कामहरु बाँकी छन् । चिनियाँ टोलीले बुझाएको प्रारम्भिक प्रतिवेदन अहिले अध्ययन भइरहेको छ । चिनियाँ पक्षले छिट्टै अन्तिम प्रतिवेदन बुझाउने जानकारी दिएको र सोहि अनुसार अन्य काम अघि बढ्ने उनले बताए ।
उद्योग मन्त्रालयले चिनियाँ टोलीले अन्तिम प्रतिवेदन पेश गर्नको लागि समय माग गरेको भएपनि कहिले बुझाउने भनेर यकिन नभएको जनाएको छ ।
पहिले परिक्षण उत्पादन गर्ने र त्यसको सफलतापछि मात्र व्यवसायिक उत्पादन सुरु गर्ने मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीले बताए ।
प्रवक्ता सुवेदीले भने, “अन्तिम प्रतिवेदन प्राप्त भएपछि लगानीकर्ता छनोट गर्ने र परीक्षण उत्पादन सुरु गर्छौ ।” यो परीक्षण उत्पादन नेपाल सरकार आँफैले गर्ने कि कुनै दातृ निकाय, सरकार वा अन्तर्राष्ट्रिय संस्थासँग अनुरोध गर्ने भन्ने विषयमा छलफल भइरहेको उनले जानकारी दिए ।
तत्कालिन प्रधानमन्त्री केपी ओलीको नेतृत्वमा रहेको सरकारले चिनियाँ कम्पनीलाई नै परिक्षण उत्पादन र उत्खननको जिम्मा दिने तयारी गरेको भएपनि अहिले केही समयदेखि यो विषयमा छलफल हुन नसकेको मन्त्रालयका अधिकारीहरू बताउँछन् ।
यसअघि चिनियाँ सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा दैलेखको जलजलेमा ड्रिलिङसहितका अन्वेषण कार्य सञ्चालन गरिएको थियो । नेपालको खानी तथा भूगर्भ विभाग र चिनियाँ जिओलजिकल सर्भे छेन्दु केन्द्रबीच भएको सहमतिका आधारमा अन्वेषणका निम्ति सिबु ड्रिलिङ इन्जिनियरिङ नामको चिनियाँ कम्पनी खटाइएको थियो । उक्त कार्यका निम्ति हालसम्म लगभग सवा दुई अर्ब रुपैयाँ खर्च भएको बताएको छ ।
खानी क्षेत्रसम्म पुग्ने बाटो बनाउने र परियोजनास्थलको जमिन अधिग्रहण गर्ने काम नेपाल सरकारले गरेका छ भने यो बाहेक हालसम्म भएका कामको सबै खर्च चीनियाँ पक्षले नै व्यहोरेको छ ।
भूगर्भविद्हरुले मिथेन ग्यासलाई एक स्वच्छ इन्धनको रुपमा व्याख्या गर्दै ऊर्जा समृद्धिको आधार बन्ने र पेट्रोलियम पदार्थको परनिर्भरता अन्त्य गर्ने दाबी गरेका छन् ।
मिथेन ग्यासलाई खाना पकाउने, गाडी चलाउने इन्धनको रूपमा प्रयोग गरिन्छ । “मिथेन पेट्रोल र डिजेलको तुलनामा सस्तो र वातावरणमैत्री हुन्छ । जसले गर्दा वातावरणीय स्वच्छता र विदेशी मुद्राको सञ्चिती बढ्छ,” भुगर्भविद् डा. नारायण अधिकारीले भने । साथै उनले दैलेखको मिथेन ग्यास नेपालको ऊर्जा समृद्धिको आधार बन्न सक्ने दाबी गरेका छन् ।
केन्द्र सरकारले उत्खननकोे काम अगाडी बढाएमा आफूहरू दत्तचित्त भएर सहयोग गर्न तयार रहेको त्यहाँका स्थानीय प्रतिनिधिहरूको भनाई छ ।
दैलेखको नारायण नगरपालिकाका प्रमुख लोमन शर्मा पेट्रोलियम उत्खननको काम अगाडि बढ्नु सम्पूर्ण नेपालीका लागि खुसीको विषय भएको र यसको उत्खननमा स्थानीय सरकार पूर्ण रुपमा सहयोग गर्न तयार रहेको बताउँछन् । जनशक्ति परिचालन र पूर्वाधार व्यवस्थापनमा सहयोग गर्न स्थानीय सरकार सधैं तत्पर रहने उनले बताए ।












प्रतिक्रिया