स्मार्ट टेलिकम प्रकरणबारे एनआईएमबी बैंकले भन्यो – सबै प्रक्रिया कानुन सम्मत छ


काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले स्मार्ट टेलिकम प्रालिसँग सम्बन्धित कर्जा असुली प्रक्रिया र सम्पत्ति लिलामी प्रकरणबारे सञ्चार माध्यममा आएका समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ।

नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान ब्यूरोको २०८३ वैशाख ३० गतेको प्रेस विज्ञप्ति अनुसार बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको विषय सार्वजनिक भएपछि बैंकले स्पष्टीकरण जारी गरेको हो।

बैंकका अनुसार २०८२/०६/०३ मा प्रकाशित सूचना अनुसार स्मार्ट टेलिकमसँग सम्बन्धित उपकरण तथा सामग्री लिलामी गरिएको थियो। उक्त लिलामीबाट प्राप्त करिब ४ अर्ब ६० करोड रुपैयाँ मध्ये ४ अर्ब २२ करोड रुपैयाँ सहवित्तीयकरण कर्जा भुक्तानीमा प्रयोग भएको र बाँकी करिब ३८ करोड रुपैयाँ बैंकको ‘अर्नेष्ट मनी अक्सन अकाउन्ट’ मा रहेको बैंकले जनाएको छ।

बैंकले प्रचलित बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ तथा सुरक्षित कारोबार ऐन, २०६३ अनुसार निक्षेपकर्ताको निक्षेपबाट प्रवाह भएको कर्जा असुली प्रक्रियालाई कानुनी दायराभित्र रही अघि बढाइएको स्पष्ट पारेको छ।

बैंकका अनुसार उक्त रकम सम्बन्धित ऋणीले तिर्न बाँकी बहाल, विद्युत महशुल लगायतका दायित्व भुक्तानीका लागि रोक्का राखिएको र आवश्यक प्रमाणसहित सम्बन्धित निकायबाट अनुरोध आएपछि मात्र क्रमिक रूपमा भुक्तानी गरिने छ।

यस्तै, बैंकले अनुसन्धान प्रक्रियाका कारण बैंकको दैनिक कार्य सञ्चालन, वित्तीय सुशासन, निक्षेपकर्ता तथा शेयरधनीको हितमा कुनै असर नपर्ने जनाएको छ ।

प्रकाशित मिति: ३१ बैशाख २०८३, बिहिबार  ०९ : ३९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।