धितोपत्र बोर्डले नेतृत्व पाउन नसक्दा सेयर बजार अस्तव्यस्त, के गर्दै छ सिफारिस समिति ?


काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष पदबाट सन्तोषनारायण श्रेष्ठले राजीनामा दिएको २ महिना पुरा भइसकेको छ । तर, अहिलेसम्म बोर्डले नयाँ अध्यक्ष पाएको छैन ।

सरकारले अध्यक्ष नियूक्त गर्न ढिलाई गर्दा समग्र सेयर बजार अस्तव्यस्त बनेको छ । सरकारले बोर्डको अध्यक्ष नियुक्ति गर्न सिफारिस समिति बनाएको थियो ।

उक्त समितिले ४ जनाको नाम सिफारिस गरेको एक महिना पुग्नै लागि सक्यो । समितिबाट डा. नवराज अधिकारी, विनय देव आचार्य, मुकुन्द कुमार क्षेत्री र डा. गोपाल प्रसाद भट्ट सिफारिस भएका थिए । सिफारिस समितिले जेठ ४ गते ४ जनाको नाम सिफारिस गरेको हो । त्यसयता, पनि मन्त्रिपरिषद्का ५ वटा भन्दा बढी बैठक बसिसकेका छन् । तर अझै पनि बोर्डले नेतृत्व पाउन सकेको छैन ।

अध्यक्ष रिक्त रहेका बेला अर्थ मन्त्रालयबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सहसचिवले अध्यक्षको जिम्मेवारी लिने व्यवस्था बमोजिम अहिले सहसचिव उत्तरकुमार खत्री बोर्डको अध्यक्ष पदमा छन् । तर उनी बोर्डमा गएको दुई महिनामा दुई पटक मात्र सञ्चालक समितिको बैठक बसाएका छन् । उनले अध्यक्ष पदमा बसेर झारा टार्ने काम मात्रै गरिरहेका छन भन्दा फरक पर्दैन ।
हुन त बोर्डको अध्यक्ष पदमा किचलो यो पटक मात्रै होइन, पछिल्ला वर्षहरुमा पनि बोर्ड अध्यक्ष नियुक्तिमा विवाद नै हुने गरेको थियो ।

यसअघि पनि अध्यक्ष पद रिक्त भएको ११ महिनामा सन्तोषनारायण श्रेष्ठलाई अध्यक्ष नियुक्त गरिएको थियो । तत्कालीन अध्यक्ष रमेशकुमार हमालको कार्यकाल सकिएपछि २१ पुस २०८० देखि बोर्ड नेतृत्वविहीन बनेको उक्त पदमा १० मंसिर २०८१ मा मात्र श्रेष्ठलाई नियुक्त गरेको थियो ।

अध्यक्ष नहुँदा बोर्डको नियमित कामसहित नयाँ सर्वाजनिक निष्कासन तथा हकप्रद सेयर स्वीकृत हुन सकेको छैन ।

यसैगरी केही कम्पनीको बोनस सेयर बोर्डमै दर्ता नहुँदा नेप्सेमा सूचीकरण रोकिएको छ । सेबोनमा १०४ कम्पनीहरूको ६९ अर्ब ३० करोड ७७ लाख ४५ हजार १९६ रुपैयाँ बराबरको आईपीओको निष्काशन प्रक्रिया रोकिएको छ ।

हाइड्रोपावर सेक्टरबाट ३४ वटा कम्पनीहरूको आईपीओ पाइपलाइनमा रहेको छ। ३४ हाइड्रोपावर कम्पनीहरूले १७ करोढ १४ लाख ८३ हजार ७३६ कित्ता आईपीओ निष्काशनको अनुमति माग गरेका छन् । जसको मूल्य १७ अर्ब ५० करोड ३१ लाख ५ हजार ४३६ रुपैयाँ रहेको छ ।

त्यसैगरी उत्पादन तथा प्रशोधन सेक्टरबाट पनि ३० वटा कम्पनीहरूको आईपीओ स्वीकृतिको पर्खाइमा रहेका छन् । सबै कम्पनीले स्वीकृति पाएमा ३५ अर्ब ३५ करोड २२ लाख ८८ हजार ६१० रुपैयाँ बराबरको १६ करोड ६४ लाख २५ हजार ५३ कित्ता आईपीओ पाइपलाइमा छ ।

यता, होटल तथा पर्यटन सेक्टरका १८ वटा कम्पनीहरू आईपीओ स्वीकृतिको पर्खाइमा छन् । ती कम्पनीहरूले ६ अर्ब ४५ करोड १३ लाख ९३ हजार रुपैयाँ बराबरको ५ करोड ८२ लाख १३ हजार ९३० कित्ता आईपीओ निष्काशनको अनुमति माग गरेका छन् ।

त्यस्तै इन्भष्टमेन्ट सेक्टरबाट ५ कम्पनीहरूले २ करोड १४ लाख ३७५ कित्ता आईपीओ निष्काशनको माग गरेका छन् । यी कम्पनीले अनुमती पाएमा ३ अर्ब ४१ करोड ६० लाख ३७ हजार ५०० रुपैयाँ बजारमा आउने छ ।

यता माइक्रो इन्स्योरेन्स सेक्टरबाट पनि ३ वटा कम्पनीहरू ६७ लाख ५० हजार कित्ता आईपीओ स्वीकृतिको पर्खाइमा छन् जसको मूल्य ६७ करोड ५० लाख रुपैयाँ रहेको छ । अदर्स सेक्टरमा पर्ने १४ वटा कम्पनीहरूले दिएको आईपीओ निष्काशनको निवेदन पनि अनुमतिको पर्खाइमा रहेका छन् । १४ वटा कम्पनीले ४ करोड ८६ लाख २१ हजार ६९ कित्ता आईपीओ जारी गर्ने अनुमती माग गरेका छन् । जसको मूल्य ५ अर्ब ९० करोड ९९ लाख २० हजार ६५० रुपैयाँ रहेको छ ।

२५ कम्पनी हकप्रद निष्काशन गर्न बोर्डको अनुमति कुर्दै

यता, सेबोन अध्यक्ष बिहीन हुँदा हकप्रद सेयर निष्काशन गर्न आवेदन दिएका २५ कम्पनी पर्ख र हेरको अवस्थामा छन् ।
पछिल्लोपटक गत वर्ष फागुन २५ गते हिमालयन पावर पार्टनरलाई चुक्ता पुँजी ५० प्रतिशतले हुन आउने ५३ करोड २७ लाख ८ हजार ५ सय रुपैयाँ बराबरको ५३ लाख २५ हजार ८५ कित्ता हकप्रद शेयर निष्काशन गर्न अनुमति दिएपनि कुनै पनि कम्पनीलाई बोर्डले हकप्रद निष्काशनको अनुमति दिएको छैन ।

बोर्डमा अहिलेसम्म २५ वटा कम्पनीले कुल २५ अर्ब ४७ करोड ७७ लाख ५ हजार ६२७ रुपैयाँ बराबरको हकप्रद शेयर निष्काशन गर्न आवेदन दिएका छन् ।

जसमध्ये पिपल्स हाइड्रोपावरले १ बराबर १ को अनुपातमा १ अर्ब ९ करोड ५० लाख रुपैयाँ बराबरको १ करोड ९ लाख ५० हजार कित्ता बराबरको हकप्रद शेयर निष्काशन गर्न आवेदन दिएको छ ।

यस्तै, अरुण काबेली पावरले २ बराबर १ को अनुपातमा १ अर्ब ९४ करोड ७९ लाख ७१ हजार १ सय रुपैयाँ बराबरको १ करोड ९४ लाख ७९ हजार ७ सय ११ कित्ता हकप्रद शेयर निष्काशन गर्न अनुमति माग गरेको छ ।

जलविद्युत् क्षेत्रतर्फ बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले २५ करोड रुपैयाँ, मन्दाकिनी हाइड्रोपावरले ४२ करोड ९४ लाख २४ हजार २५० रुपैयाँ, माइखोला हाइड्रोपावरले ३९ करोड २१ लाख ५६ हजार ८०० रुपैयाँ, र सगरमाथा जलविद्युत् कम्पनीले १ अर्ब ७७ करोड ३२ लाख रुपैयाँ बराबरको हकप्रद जारी गर्न आवेदन दिएका छन् ।

यस्तै सयपत्री हाइड्रोपावरले २२ करोड २५ लाख ५८ हजार ९८९ रुपैयाँ, राधी विद्युत कम्पनीले १ अर्ब २८ करोड ५२ लाख ६२ हजार ६४४ रुपैयाँ, पाँचथर पावर कम्पनीले ९६ करोड २५ लाख रुपैयाँ, र दोल्ती पावर कम्पनीले ५१ करोड ५९ लाख ८६ हजार रुपैयाँको हकप्रद स्वीकृतिको लागि आवेदन दिएका छन् । भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीले ४८ करोड २३ लाख ८४ हजार रुपैयाँ, मनकामना इन्जिनियरिङ हाइड्रोपावरले ६१ करोड ७१ लाख २६ हजार ८०० रुपैयाँ, मोदी इनर्जीले २ अर्ब ६१ करोड ८ लाख ५० हजार रुपैयाँको हकप्रद निष्काशनको लागि आवेदन दिएर अनुमति कुरिरहेको छ ।

यस्तै, सोही क्षेत्रका हिमालयन हाइड्रोपावरले १ अर्ब ९ करोड ५० लाख रुपैयाँ, पिपुल्स हाइड्रोपावरले ३ अर्ब २० करोड रुपैयाँ र अरुण काबेली पावर लिमिटेडले १ अर्ब ९४ करोड ७९ लाख ७१ हजार १०० रुपैयाँ बराबरको हकप्रद निष्काशनको अनुमति माग्दै प्रारम्भिक समीक्षाको सूचीमा रहेका छन् ।

उत्पादन तथा प्रशोधन क्षेत्रबाट घोराही सिमेन्ट इन्डस्ट्री लिमिटेडले ३ अर्ब ७६ करोड ७४ लाख ७ हजार ७०३ रुपैयाँ बराबरको ठूलो परिमाणको हकप्रद निष्काशनको अनुमति मागेको छ ।

सोही क्षेत्रको नेपाल ल्युब आयलले १४ करोड ५७ लाख २५ हजार ३६० रुपैयाँको आवेदन दिएको छ । इन्भेष्टमेन्ट क्षेत्रबाट सीइडीबी होल्डिङ्स लिमिटेडले ५६ करोड ३६ लाख ५९ हजार १९८ रुपैयाँ हकप्रदको लागि आवेदन दिएका छन् ।
यस्तै, सोही क्षेत्रबाटै एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले १ अर्ब ७९ करोड ८१ लाख २१ हजार १९९ रुपैयाँ बराबरको हकप्रदका लागि आवेदन दिएका छन् ।

होटल क्षेत्रबाट ओरिएन्टल होटल्स लिमिटेडले ३१ करोड ५५ लाख ५ हजार ४० रुपैयाँ र कालिञ्चोक दर्शन लिमिटेडले ६३ करोड रुपैयाँको हकप्रद प्रस्ताव गरेका छन् ।

यस्तै, हकप्रदका लागि अन्य समूहका मुक्तिनाथ कृषि कम्पनीले ४५ करोड ३६ लाख रुपैयाँ र नेपाल वेयरहाउजिङ कम्पनीले ६८ करोड ७५ लाख रुपैयाँ बराबरको आवेदन दिएका छन् ।

प्रकाशित मिति: २ असार २०८३, मंगलबार  ११ : २१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।