निष्काशन बन्द नहुँदै डेढ अर्बको आकारमा उक्लियो एनआईबिएल समृद्धि फण्ड २


एनआईबिएल एस क्यापिटलले बिक्रीमा ल्याएको एनआईबिएल समृद्धि फण्ड २ का सबै इकाईहरु निष्काशन सुरु भएको तेस्रो दिनमा बिक्री भएका छन् ।

क्यापिटलका अनुसार तेस्रो दिनसम्म कुल ५६ हजार १ सय २ सर्वसाधारण आवेदकहरुबाट ११२.३० प्रतिशत इकाइका लागि आवेदन परेको छ । जस अनुसार सर्वसाधारणबाट मात्र १ अर्ब ३४ करोड ७५ लाख ७२ हजार रुपैंयाको आवेदन परेको हो ।

क्यापिटलले बैशाख १३ गतेदेखि प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब २ करोड रुपैयाँ बराबरको १२ करोड इकाई बिक्रीमा ल्याएको हो ।

फण्डले १५ प्रतिशत इकाई कोष प्रवर्धक नेपाल इन्भेष्टमेण्ट बैंकलाई सुरक्षित गरी बाँकी रहेको इकाई सर्वसाधारणहरुलाई बिक्रीमा राखेको थियो । सुरक्षित गरिएका उल्लेखित इकाई समेत गर्दा ३ दिनमा १ अर्ब ६१ करोड रुपैंयाको इकाई माग भएको हो ।

क्यापिटलका डेपुटी प्रमुख कार्यकारी अधिकृत मेखबहादुर थापाका अनुसार बिहीबार निष्काशन बन्द हुने दिनको मध्यान्हसम्ममा सर्वसाधारणबाट नै झण्डै डेढ अर्ब रुपैयाँको आवेदन परेको छ । योसँगै १ अर्ब २० करोड रुपैंया आकारमा इकाई निष्काशन गरेको फण्डको आकार बढेर डेढ अर्ब रुपैयाँ पुगेको छ ।

उक्त फण्डमा न्यूनतम १०० देखि १ करोड २० लाख इकाईसम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ । इकाई खरीदका लागि आवेदन दिने आज अन्तिम दिन हो ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

प्रकाशित मिति: १६ वैशाख २०७८, बिहीबार  १२ : १७ बजे