काठमाडौँ । बालेन्द्र साह (बालेन) को नेतृत्वमा सरकार गठन भएको ६ महिनामा सेयर बजार परिसूचक नेप्से ३६२ अंकभन्दा बढीले घटेको छ । बालेन नेतृत्वमा सरकार गठन हुँदा लगानीकर्तामा देखिएको आशा ६ महिनाको अवधिमै निराशामा परिणत भएको देखिएको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता साहको नेतृत्वमा २०८२ चैत १३ गते शुक्रबार मन्त्रिपरिषद् गठन भएको थियो । सरकारमा अर्थमन्त्रीका रूपमा विश्व बैंकका अर्थशास्त्री तथा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष स्वर्णिम वाग्ले आएपछि सेयर बजारका लगानीकर्ताले पनि सकारात्मक अपेक्षा गरेका थिए ।
तर, सरकार गठन भएको ६ महिनाको अवधिमा बजारले अपेक्षित गति लिन सकेको देखिएन । सरकार गठन हुनुअघिको अन्तिम कारोबार दिन चैत १२ गते बिहीबार नेप्से २९५०.१६ विन्दुमा बन्द भएको थियो । शुक्रबार नेप्से ११.९० अंकले घटेर २५८७.२५ विन्दुमा पुगेर बजार बन्द भएको छ । यसरी हेर्दा सरकार गठन भएपछिको यो अवधिमा नेप्सेमा परिसूचकमा ३६२.९१ अंकले गिरावट आएको छ ।
सरकार गठनको दिन शुक्रबार परेकाले सेयर बजार बन्द थियो । त्यसअघिको कारोबार दिन वाणिज्य बैंक समूह १ हजार ५५०.८२ रहेकोमा असोज १६ गते शुक्रबार १ हजार ४९४.४७ विन्दुमा पुगेको छ । विकास बैंक ६ हजार ३६९.६९ बाट ५ हजार ३३९ विन्दुमा पुग्दा वित्त समूह २ हजार ६५२ विन्दुबाट २ हजार १९८ विन्दुमा पुगेको छ ।
जीवन बीमा १३ हजार ६००.३१ र निर्जीवन बीमा समूह ११ हजार ८५८.९६ विन्दु रहेकोमा घटेर क्रमशः ११ हजार ६५१ र ९ हजार ४५८ विन्दुमा पुगेका छन् । अरु सबै उपसुचकमा पनि गिरावट आएको छ ।
यता, ठूला तथा प्रभावशाली कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ५०२.४५ विन्दुमा रहँदा फ्लोट इन्डेक्स २०२.७८ र सेन्सेटिभ फ्लोट इन्डेक्स १७१.८८ विन्दुमा थियो । शुक्रबार सेन्सेटिभ इन्डेक्स ४६३.०२ विन्दुमा पुग्दा फ्लोट इन्डेक्स १७८.३६ र सेन्सेटिभ फ्लोट इन्डेक्स १५६.१९ विन्दुमा पुगेको छ ।
लगानीकर्ताले गुमाए साढे ५ खर्ब
यो ६ महिनाको अवधिमा लगानीकर्ताले साढे पाँच खर्बभन्दा बढी रकम गुमाएका छन् । सरकार गठन हुनुभन्दा अघिल्लो दिन कुल बजार पुँजीकरण ५० खर्ब ९ अर्ब ३८ करोड रुपैयाँ थियो । शुक्रबार कुल बजार पूँजीकरण ४४ खर्ब ५० अर्ब ३७ करोड रुपैयाँ कायम भएको छ । यसरी हेर्दा यो अवधिमा लगानीकर्ताहरूले ५ खर्ब ५९ अर्ब १ करोड रुपैयाँ गुमाएका छन् ।
यो अवधिमा कारोबार रकमको पनि ठुलो अन्तर देखिएको छ । चैत १२ गते कारोबार रकम १२ अर्ब ९० करोड १० लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । शुक्रबार कारोबार रकम ४ अर्ब २९ करोड ३७ लाख रुपैयाँमा सीमित भएको छ ।
सेयर बजारका जानकारहरूका अनुसार सरकार गठन हुँदा लगानीकर्तामा बजार सुधार हुने अपेक्षा थियो । अर्थमन्त्री वाग्लेको आगमनले पनि लगानीकर्ताको अपेक्षा बढाएको उनीहरूको भनाइ छ । तर सरकारका सुरुवाती गतिविधिले बजारमा केही समय अन्योल र अविश्वास बढाएको उनीहरू बताउँछन् ।
सरकार गठनको सुरुवाती चरणमा सरकारको सेयर बजार र निजी क्षेत्रप्रतिको दृष्टिकोण स्पष्ट नहुँदा लगानीकर्ता अन्योलमा थिए । त्यसबीच भएका धरपकड तथा अनुसन्धानका घटनाले बजारमा मात्रै नभई समग्र निजी क्षेत्रका लगानीकर्ताको आत्मविश्वासमा असर गरेको सरोकारवालाहरूको भनाइ छ । पछि भने सरकारले निजी क्षेत्र र बजारप्रति सकारात्मक धारणा सार्वजनिक गर्न थालेको देखिन्छ । सरकारका नीति तथा अभिव्यक्तिमा निजी क्षेत्रलाई सहजीकरण गर्ने संकेत देखिए पनि त्यसको प्रभाव सेयर बजारमा तत्काल देखिन नसकेको उनीहरूको बुझाई छ ।
स्टक ब्रोकर एसोसिएसनका पूर्व अध्यक्ष भरत रानाभाटका अनुसार बजेटमार्फत करका विषयमा आएका व्यवस्थाले पनि लगानीकर्ताको मनोविज्ञानमा असर गरेको थियो । पुँजीगत लाभकरलगायत करसम्बन्धी विषयमा सरकारले गरेको परिवर्तनले बजारमा सरकारको नीतिप्रति थप प्रश्न उठाएको थियो । पछि कतिपय व्यवस्था परिमार्जन भए पनि त्यसले बजारमा अपेक्षित सकारात्मक प्रतिक्रिया नल्याएको उनको बुझाई छ ।
“सरकार बजार राम्रो बनाउनुपर्छ भनेर नीतिगत रूपमा अगाडि बढेको देखिए पनि त्यसको प्रभाव बजारमा तत्काल देखिएन,” रानाभाटले भने । उनका अनुसार अहिले सरकारको बजारप्रतिको दृष्टिकोण तुलनात्मक रूपमा सकारात्मक देखिए पनि लगानीकर्ताको विश्वास एकपटक कमजोर भएपछि त्यसलाई पुनः निर्माण गर्न समय लाग्छ ।
तर नेप्सेको पछिल्लो गिरावटलाई सरकारको ६ महिनाको प्रदर्शनसँग मात्रै जोड्न नहुने रानाभाटको भनाइ छ । उनका अनुसार पछिल्ला केही वर्षदेखि नै सेयर बजार दबाबमा छ । बीचमा बजारले केही समय सुधारको गति लिए पनि दीर्घकालीन रूपमा बजारमा स्थिर सुधार आउन सकेको छैन ।
कोभिडपछिको समयमा नेप्से ३१९८ विन्दुसम्म पुगेको थियो । त्यसपछि नियामकीय तथा नीतिगत व्यवस्थासहित विभिन्न कारणले बजार कमजोर हुँदै आएको रानाभाटले बताए । सरकार परिवर्तनसँगै अर्थमन्त्रीसँगको समन्वयमा बजार केही समय चल्ने गरेको भए पनि पछिल्लो एक वर्षको अवस्था अझ फरक रहेको उनको भनाइ छ । गत वर्ष भएको जेनजी आन्दोलन पछि गठित सरकार चुनावी प्रकृतिको भएकाले लगानीकर्ताले दीर्घकालीन नीति तथा कार्यक्रमका लागि पनि केहि समय अन्यौलताको सामना गर्नुपरेको थियो ।
सेयर बजार घट्नुमा सूचीकृत कम्पनीहरूको कमजोर वित्तीय अवस्था पनि एउटा कारण हुन सक्ने भए पनि त्यसलाई मात्रै मुख्य कारण मान्न नसकिने जानकारहरूको तर्क छ । अहिले बजारमा सूचीकृत धेरै कम्पनी पहिलेदेखि नै थिए । विगतमा ती कम्पनीकै सेयरले राम्रो मूल्य वृद्धि गरेका थिए । कतिपय कम्पनीले अहिले पनि लगानीकर्तालाई राम्रो प्रतिफल दिइरहेका छन् ।
वाणिज्य बैंक तथा जलविद्युत् कम्पनीमध्ये केहीले राम्रो प्रतिफल दिइरहेको सरोकारवालाहरूको मत छ ।
यद्यपि पछिल्लो समय बजारमा आधारभूत अवस्था कमजोर भएका कम्पनी पनि थपिएका र त्यस्ता कम्पनीमा लगानीकर्ताले अपेक्षित प्रतिफल नपाएको उनीहरू बताउँछन् । तर सबै कम्पनीको अवस्था उस्तै नरहेको र राम्रा वित्तीय अवस्था भएका कम्पनीको सेयर मूल्य पनि घटेकोले बजारको समग्र गिरावटलाई कम्पनीको वित्तीय अवस्थासँग मात्रै जोड्न नहुने जानकारहरू मत छ ।
यस्तै सरकार गठनपछिका केही घटनाले बजारको मनोविज्ञानमा थप असर पारेको देखिन्छ । रिइन्स्योरेन्स क्षेत्रसँग सम्बन्धित विवाद तथा विभिन्न अनुसन्धानका क्रममा नियामक निकायबाट भएका पत्राचार र कारबाहीले लगानीकर्ताको विश्वासमा असर गरेको पूर्वअध्यक्ष रानाभाटको भनाई छ । विशेषगरी अनुसन्धानका क्रममा सामान्य विषयमा पनि पत्र काट्ने, कारोबार रोक्ने वा अन्य नियामकीय कदम चालिने अवस्थाले लगानीकर्तामा जोखिमको भावना बढाएको उनले बताए । “यस्ता घटनाले अलिकति कन्फिडेन्स लुज भएको हो । अब बिस्तारै रिभाइभ होला, सधैं यस्तो अवस्था त रहँदैन,” उनले भने ।
अहिले सरकारका धेरै नीतिगत प्रयास बजार र निजी क्षेत्रलाई सकारात्मक वातावरण दिने दिशामा देखिएका छन् । तर नीतिगत घोषणा मात्रै पर्याप्त नभई त्यसले लगानीकर्ताको विश्वासमा पनि प्रतिबिम्बित हुनुपर्ने हुन्छ । सरकारले उद्योगी–व्यवसायीसँग छलफल गरेर निजी क्षेत्रको समस्या समाधान गर्ने र लगानीको वातावरण बनाउने विषयमा सकारात्मक संकेत दिइरहेको सरोकारवालाहरूको भनाई छ ।







