अमेरिकी किसानलाई १५ अर्ब डलर राहत


अमेरिकामा मध्यावधि निर्वाचन नजिकिँदै गर्दा राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले बढ्दो इन्धन र मलको मूल्यबाट प्रभावित किसानलाई राहत दिन १५ अर्ब डलरभन्दा बढीको सहयोग घोषणा गरेको छ ।

अमेरिकी कृषि मन्त्रालयले आठ अर्ब डलर डिजेल खर्च बढेका किसानलाई एकपटकका लागि भुक्तानी गर्ने जनाएको छ । पशुपालक तथा माछापालकका लागि ५ अर्ब डलरको ऋण प्रत्याभूति र मल उत्पादन, मासु प्रशोधन तथा विशेष बालीका परियोजनाका लागि पनि रकम छुट्याइएको छ ।

यसअघि सन् २०२५ को बाली वर्षका लागि योग्य किसानलाई १३ अर्ब ८० करोड डलर भुक्तानी गर्ने योजना बनाइएको थियो । तर, कृषि व्यवस्थापन विशेषज्ञ ग्रेग इबेन्डहलले सरकारी सहयोगले तत्काल राहत दिए पनि उत्पादन लागत बढ्नुका दीर्घकालीन समस्या समाधान नगर्ने बताएका छन् ।

यस वर्ष मल र इन्धनको मूल्यवृद्धि तथा चीनसँगको व्यापार तनावले अमेरिकी किसानको आम्दानी प्रभावित भएको छ । एएएका अनुसार डिजेलको औसत मूल्य प्रतिग्यालन ६.३२ डलर पुगेको छ । यो एक वर्षअघिको तुलनामा ७० प्रतिशत बढी हो ।

राजनीतिक विश्लेषकहरूका अनुसार किसान र ग्रामीण मतदाता ट्रम्पका महत्त्वपूर्ण समर्थक भए पनि उहाँका केही नीतिप्रति असन्तुष्ट छन् । सरकारी राहतले तत्काल सहयोग गरे पनि जीवनयापन खर्च र स्वास्थ्य सेवाजस्ता विषयमा मतदाताको चासो कायमै रहेको विश्लेषकहरूको भनाइ छ । मध्यावधि निर्वाचनको दुई दिनअघि ट्रम्पले आयोवा र कन्सासको भ्रमण गरेका छन् ।

प्रकाशित मिति: १६ कार्तिक २०८३, सोमबार  १५ : ०३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।