चोरी भएको महँगो घडी माफीपत्रसहित फिर्ता


जापानको टोकियोस्थित एक पसलबाट चोरी भएको करिब २ लाख ९० हजार अमेरिकी डलर मूल्यको स्विस लक्जरी घडी हस्तलिखित माफीपत्रसहित फिर्ता गरिएको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार घडी चोरी भएको एक सातापछि पसलमा प्याकेजमार्फत फिर्ता पठाइएको हो ।

ग्राहकको भेषमा पसल पुगेका एक व्यक्तिले अडेमार्स पिगुएट ब्रान्डको घडी लगाएर हेर्ने क्रममा आफ्नो नाडीमा राखेपछि पसलबाट भागेका थिए । तर, चोरी भएको घडी भएको प्याकेज र त्यससँगै ‘माफ गर्नुहोस्’ लेखिएको हस्तलिखित नोट पसलमा प्राप्त भएपछि घटनाले नयाँ मोड लिएको हो ।

असाही सिम्बुनलगायत जापानी सञ्चारमाध्यमले सोमबार अज्ञात अनुसन्धान स्रोतलाई उद्धृत गर्दै घडी फिर्ता आएको समाचार प्रकाशित गरेका छन् । घडीको सिरियल नम्बरबाट चोरी भएको वस्तु पहिचान गरिएको बताइएको छ ।

एएफपीले सम्पर्क गर्दा सम्बन्धित पसलले घटनाबारे टिप्पणी गर्न अस्वीकार गरेको छ । असाही सिम्बुनका अनुसार टोकियो प्रहरीले चोरीमा संलग्न भएको आशङ्कामा व्यक्तिको खोजी जारी राखेको छ ।

यसै वर्ष अगस्टमा सोही सपिङ कम्प्लेक्सको अर्को पसलबाट २ करोड येन मूल्यका चारवटा महँगा घडी चोरी भएका थिए ।

प्रकाशित मिति: १७ कार्तिक २०८३, मंगलबार  १४ : ३१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।