स्वदेशी कच्चा पदार्थमा आधारित निर्यातमूलक उद्योगमा बैंककाे लगानी सुस्त


काठमाडौँ । स्वदेशी कच्चा पदार्थमा आधारित निर्यातमूलक उद्योगमा बैंक तथा वित्तीय संस्थाहरूको कर्जा प्रवाह अत्यन्त सुस्त देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदनअनुसार यो क्षेत्रमा बैंकहरूको ऋण लगानी नगन्य देखिएको हो ।

राष्ट्र बैंकको प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८२/८३ मा वाणिज्य बैंकहरूले “आन्तरिक कच्चा पदार्थमा आधारित निर्यातमुलक उद्योग” शीर्षकमा ६५ करोड ४९ लाख रुपैयाँ मात्र कर्जा लगानी गरेका छन् । यो रकम वाणिज्य बैंकहरूले प्राथमिकता प्राप्त क्षेत्रमा प्रवाह गरेको कुल १९ खर्ब ६४ अर्ब ६५ करोड ४ लाख रुपैयाँ कर्जाको ०.०३३३ प्रतिशत मात्र हो ।

यता, विकास बैंकहरूको कर्जा लगानी ५२ लाख रुपैयाँ मात्र रहेको छ । यो रकम विकास बैंकहरूले प्राथमिकता प्राप्त क्षेत्रमा लगानी गरेको कुल १ खर्ब २० अर्ब ७८ करोड १४ लाख रुपैयाँ कर्जाको ०.००४३ प्रतिशत मात्र हुन आउँछ । वाणिज्य बैंक र विकास बैंकको यो लगानी जोड्दा स्वदेशी कच्चा पदार्थमा आधारित निर्यात उद्योगमा गएको कर्जा ६६ करोड १ लाख रुपैयाँ पुग्छ ।

राष्ट्र बैंकको वार्षिक प्रतिवेदनमा अघिल्ला आर्थिक वर्ष २०८०/८१ र २०८१/८२ मा यस शीर्षकमा कर्जा विवरण उल्लेख छैन । गत आर्थिक वर्ष २०८२÷८३ बाट मात्र यस क्षेत्रको तथ्याङ्क समावेश गरिएको देखिन्छ ।

तर प्रतिवेदनको सोहि तालिकामा गत आर्थिक वर्षमा मात्रै देखिएको “सूचना तथा सञ्चार प्रविधिमा आधारित उद्योग” तर्फ वाणिज्य बैंकको कर्जा १६ अर्ब ३५ करोड ५८ लाख रुपैयाँ र विकास बैंकको कर्जा १४ करोड २३ लाख रुपैयाँ छ ।

स्वदेशी कच्चा पदार्थ प्रयोग हुने उद्योगको दायरा सानो हुनु र उद्यमीहरूको व्यावसायिक प्रस्ताव कम आउँदा यो क्षेत्रमा कर्जा लगानी सुस्त देखिएको बैंकिङ क्षेत्रका अधिकारीहरूको भनाई छ । हिमालयन बैंकका सूचना अधिकारी सुनील गोर्खाली स्वदेशी कच्चा पदार्थ प्रयोग भएर निर्यात हुने वस्तुको दायरा नै सीमित रहेको बताउँछन् ।

कार्पेटका लागि न्युजिल्यान्डबाट ऊन र गार्मेन्टका लागि भारत तथा चीनबाट कपडा आयात गर्नुपर्ने अवस्था रहेको उनको भनाई छ । नेपाली कच्चा पदार्थ प्रयोग हुने उद्योग मुख्यतया हस्तकला र नेपाली कागजमै सीमित रहेको उनको बुझाई छ । “नेपाली नै कच्चा पदार्थ प्रयोग भएर उत्पादन हुने भनेको धेरैजसो हस्तकलाका सामग्री र नेपाली कागज नै हुन्,” उनले भने । गोर्खालीका अनुसार अहिले निर्यातजन्य वस्तुमा सिमेन्ट निर्यात देखिएको र सफ्टवेयरको निर्यात पनि भइरहेको छ, तर पूर्ण रूपमा स्वदेशी कच्चा पदार्थमा आधारित क्षेत्रको दायरा भने सानो छ ।

डलरको विनिमय दरका कारण नेपाली उत्पादन महँगो पर्न जाँदा पनि कार्पेट, गार्मेन्ट र हस्तकलाका वस्तुले अपेक्षाअनुसार गति लिन नसकेको उनको भनाइ छ ।

कामना सेवा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दिनेश थकाली भने बैंकहरू उत्पादनमूलक क्षेत्रमा लगानी गर्न इच्छुक रहे पनि उद्यमीहरू अघि नसरेको बताउँछन् । राष्ट्र बैंकले तोकेको सीमाअनुसार बैंकहरूले कर्जा प्रवाह गरिरहेको र नपुगेको खण्डमा जरिवाना लाग्ने उल्लेख गर्दै थकालीले बैंक आफैँले उद्योग खोलेर लगानी गर्न नसक्ने बताए । “बैंक भनेको तरल सम्पत्ति व्यवस्थापन गर्ने संस्था हो, जहाँ अवसर र आवश्यकता हुन्छ तरलता त्यतै बग्छ,” उनले भने, “उत्पादनका लागि उद्यमी र व्यवसायी नै अघि सर्नुपर्छ ।” उत्पादनका लागि देशभित्र के उत्पादन भइरहेको छ र उद्यमी तथा इन्टरप्रेनर कसरी अघि बढिरहेका छन् भन्ने पक्ष महत्वपूर्ण रहेको उनको भनाई छ ।

तर, नेपाल हस्तकला महासंघका वरिष्ठ उपाध्यक्ष राजमान बज्राचार्य सरकार र बैंकका योजनाबारे पर्याप्त सूचना नपुग्नु तथा कागजी प्रक्रिया झन्झटिलो हुनुले कर्जा प्रवाह बढ्न नसकेको बताउँछन् । सरकारले नवप्रवर्तन, स्टार्टअप र महिला उद्यम कर्जाजस्ता योजना ल्याए पनि ती सुविधाको सूचना प्रवाह र उपयोग अपेक्षाकृत हुन नसकेको उनको भनाइ छ । “सरकारले सुविधा दिए पनि त्यसको वास्तविक उपयोग हुन सकेको छैन,” बज्राचार्यले भने, “परम्परागत तथा घरायसी रूपमा काम गरिरहेका कालीगडसम्म जानकारीकै कमी छ र कागजात तथा ऋण प्रक्रिया पनि झन्झटिलो हुनुहुँदैन ।”

हस्तकला क्षेत्रमा औपचारिक रूपमा अघि बढेका व्यवसायीसँगै घरायसी तथा परम्परागत शैलीमा काम गर्ने कालीगडका लागि प्रक्रिया सरल बनाउनुपर्ने उनले बताए । अन्य क्षेत्रका उद्योगमा माग नभएर उत्पादन बन्द गर्नुपर्ने अवस्था आएपनि हस्तकलाको क्षेत्रमा भने यस्तो नभएको उनी बताउँछन् । मूर्तिकला र चाँदीका गहनाजस्ता नेपाली हस्तकलाका नमुना छिमेकी तथा अन्य मुलुकले समेत उत्पादन गरेर बजार लिइरहेको बताउँदै उनले मागको समस्या नरहेको स्पष्ट पारे ।

“बजारमा माग नै नभएको भन्ने होइन, छिमेकी तथा अन्य राष्ट्रले हाम्रै नमुना अनुसार उत्पादन गरेर बजार लिइरहेको अवस्था छ,” उनले भने, “मुख्य कुरा मार्केटिङ गर्नुपर्ने र बजारमा प्रतिस्पर्धी बन्नुपर्ने हो ।” व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र (टीईपीसी) र वाणिज्य मन्त्रालयको तथ्याङ्कले पनि समग्र हस्तकलाको निर्यात बढिरहेको देखाएको समेत उनको भनाई छ । बज्राचार्यले ऋण प्रक्रिया सरल बनाउन सके र प्रतिस्पर्धी बन्न सके यो क्षेत्रमा लगानी विस्तार हुने बताए ।

प्रकाशित मिति: ६ मंसिर २०८३, आइतबार  ०७ : २० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।