काठमाडौँ । दुईदिने औपचारिक भ्रमणका लागि प्रधानमन्त्री बालेन्द्र साह आइतबार भारत पुगेसँगै पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको हवाई रुटसम्बन्धी बहस पुनः सतहमा आएको छ । यद्यपि, भारतले हवाई रुट उपलब्ध गराउँदैमा यी दुवै विमानस्थल पूर्ण क्षमतामा सञ्चालन हुने निश्चित छैन ।
भ्रमणको दोस्रो दिन आज उनले भारतीय प्रधानमन्त्रीसँग भेटवार्ता गर्दैछन् । भेटवार्तामा पोखरा र भैरहवा विमानस्थलका लागि आवश्यक हवाई रुटको विषयमा पनि छलफल हुने अपेक्षा गरिएको छ ।
तर, भारतले रुट उपलब्ध गराए पनि यात्रु उपलब्धता, अन्तर्राष्ट्रिय एयरलाइन्सको व्यावसायिक चासो र सरकारी तयारीबिना दुवै विमानस्थल नियमित रूपमा सञ्चालन हुन चुनौतीपूर्ण देखिन्छ ।
अर्कोतर्फ, रुट परमिट अन्तर्राष्ट्रिय उडान विस्तारको एउटा आधार मात्र भएकाले नियमित उडानका लागि पर्याप्त यात्रु, अन्तर्राष्ट्रिय एयरलाइन्सको व्यावसायिक चासो र सरकारी सहजीकरण उत्तिकै आवश्यक छ ।
भारतले पनि बागडोग्रा विमानस्थलको लागि नेपालसँग रुट प्रमिट मागेको र नेपाललाई महेन्द्रनगर र नेपालगञ्जबाट रुट परमिट दिन सकारात्मक देखिएको नेपाली पक्षको भनाइ छ । तर, भैरहवा र पोखरा दुवै विमानस्थलका समस्या र चुनौती फरक–फरक प्रकृतिका रहेकाले रुट खुल्दैमा विमानस्थल पूर्ण रुपमा सञ्चालन नहुने निजी क्षेत्र र विमानस्थल सम्बद्ध अधिकारीहरूको भनाई छ ।
सिद्धार्थ उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष ठाकुर कुमार श्रेष्ठ भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि हवाई रुटको विषय त्यति महत्वपूर्ण नरहेको बताउँछन् । उनका अनुसार रुटभन्दा पनि नेपाल सरकारले अन्तर्राष्ट्रिय एयरलाइन्सहरूसँग संवाद गर्न चासो देखाएन र विमानस्थलप्रति अपनत्व लिएन । “नेपाल सरकारले अपनत्व लिँदैन, पहिले यहाँबाट फ्लाई दुबई, एयर एसिया, जजिरा चल्यो । उहाँहरू निरन्तर उडान गर्न चाहनुहुन्थ्यो” उनले भने, “सरकारले दिएको सेवा सुविधाहरू जजिरा एयरलाइन्सले समयमा पाएन, उसले आफ्नो उडान स्थगित गर्नुप¥यो ।”
श्रेष्ठका अनुसार भैरहवाबाट भारतका दिल्ली वा बेंगलोरजस्ता सहरमा सीधा उडान सञ्चालन भए अन्तर्राष्ट्रिय एयरलाइन्सहरू स्वतः आकर्षित हुनेछन् । तर, सरकारले त्यसतर्फ तदारुकता नदेखाएको उनको भनाइ छ । भारतले भैरहवा विमानस्थल सञ्चालनका लागि स्वीकृति र सहयोग दिने वातावरण बनाउन सरकारले कूटनीतिक पहल गर्नुपर्ने र प्रधानमन्त्रीको भ्रमणका क्रममा यो विषयले प्राथमिकता पाउनुपर्ने उनले बताए ।
विमानस्थल बन्ने उत्साहमा भैरहवा र लुम्बिनी क्षेत्रमा निजी क्षेत्रले अर्बौँ लगानी गरेको श्रेष्ठले उल्लेख गरे । विमानस्थल शिलान्यास भएपछि रुपन्देही जिल्लामा मात्रै १२ देखि १५ वटा स्टार होटल तथा अनगिन्ती साना होटल खोलिएको उनले जानकारी दिए । तर, उद्घाटन भएको साढे तीन वर्ष पुग्न लाग्दा पनि नियमित उडान नहुँदा निजी क्षेत्रको लगानी जोखिममा परिसकेको र उद्योग व्यवसाय धराशायी भइरहेको उनको भनाइ छ ।
वैदेशिक रोजगारीमा जाने श्रमिकहरू विमानस्थल सञ्चालनको महत्वपूर्ण आधार भए पनि श्रम स्वीकृति, मेडिकल, भिसा सेन्टर र म्यानपावर लगायतका काम काठमाडौँ केन्द्रित हुँदा यात्रु भैरहवा नआउने गरेको श्रेष्ठले बताए ।\
“दुई हजार रुपैयाँ भाडा तिरेर श्रम स्वीकृति लिन काठमाडौँ जाने श्रमिक फेरि फर्केर जहाज चढ्न भैरहवा आउँदैन, उतैबाट जान्छ,” उनले भने । श्रम स्वीकृति र भिसा सेन्टरजस्ता कार्यालयका लागि निजी क्षेत्र आफ्ना भवनसमेत उपलब्ध गराउन तयार रहेको बताउँदै उनले भैरहवाबाटै ती सेवा र स्वास्थ्य परीक्षणको व्यवस्था मिलाउन सुझाव दिएका छन् । साथै, अन्य एयरलाइन्सलाई आकर्षित गर्न नेपाल एयरलाइन्सले कम्तीमा भैरहवाबाट उडान सुरु गर्नुपर्ने उनको भनाइ छ ।
यता, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका एक्टिङ जनरल म्यानेजर श्याम किशाेर साह विमानस्थल सञ्चालनमा रुट प्रमिट बाहेक अरु कुनै समस्या नरहेको बताउँछन् । उनका अनुसार साढे तीन वर्षअघि अन्तर्राष्ट्रिय उडान सञ्चालनमा आएयता हालसम्म झन्डै १३ सय अन्तर्राष्ट्रिय मुभमेन्ट भएका छन् र करिब ७० हजार यात्रुले सेवा लिएका छन् ।
तर यात्रु अभाव भएर उडान स्थगित भएको विषलाई भने नकार्न नसकिने उनको भनाई छ “अन्तराष्ट्रिय विमान कम्पनीहरूले यात्रु कम भयो, लोड पुगेन भनेर उडान रोकेका हुन्” उनले भने, “अहिले पनि विमानस्थलमा बिहान ६ बजेदेखि राति १० बजेसम्म आन्तरिक तथा चार्टर उडान भइरहेको छन् ।”
भैरहवाको तुलनामा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको अवस्था भने फरक रहेको सरोकारवालाहरूको भनाई छ । पोखरामा रुट विस्तार नै महत्वपूर्ण रहेको उनीहरूको दाबी छ ।
पोखरा उद्योग वाणिज्य संघकी अध्यक्ष शोभा गौतम पोखरा विमानस्थलमा अरुट प्रमिट बाहेक तत्काल कुनै ठूलो बाधा नरहेको बताउँछिन् । भारतले रुट परमिट दिए र रुट थपिए विमानस्थलको व्यावसायिक सम्भावना बढ्ने र पूर्ण रूपमा सञ्चालनमा आउनेमा आफू विश्वस्त रहेको उनले बताइन् ।
यस्तै, पोखरा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष गोकर्ण कार्कीले हवाई रुट मुख्य बाटो भएकाले त्यो आवश्यक रहेको बताए । हाल फ्लाई दुबई चलिरहेको अवस्थामा भारतले रुट प्रमिट दिए दिल्ली, बनारस, अयोध्या वा गुजरातजस्ता धार्मिक तथा व्यापारिक गन्तव्यमा आउने र जाने यात्रु आफै बढ्ने उनको बुझाई छ ।
एयरलाइन्सहरू व्यावसायिक फाइदाका लागि आउने भएकाले रुट प्रमिटले उनीहरू आफै आकर्षित हुनेमा आफु विश्वस्त रहेको उनको भनाई छ । नेपाल एयरलाइन्ससँग थोरै जहाज रहेकाले अन्य एयरलाइन्सको व्यावसायिक लगानी र यात्रुको माग महत्त्वपूर्ण रहेको उनको भनाइ छ ।
पोखरा विमानस्थलका सूचना अधिकारी विनोद सिंह रावतले हाल प्रत्येक दिन फ्लाई दुबईको एउटा उडान भइरहेको जानकारी दिए । सिमराको रुटसँगै थप बाटा खुले उडानका लागि अझ सजिलो हुने र घुमाउरो बाटो कम हुँदा एयरलाइन्सहरूको इन्धन खर्च पनि घट्न सक्ने उनले बताए । तर, नियमित उडानका लागि यात्रुको उपलब्धता पनि उत्तिकै महत्त्वपूर्ण रहेको उनको भनाइ छ ।
“रुट भनेको बाटो हो, बाटो फराकिलो हुँदैमा विमानस्थल चलिहाल्ने भन्ने हुँदैन, जहाज र यात्रु चाहिन्छ,” रावतले भने । उनका अनुसार ठूलो जहाजमा थोरै यात्रु हुँदा एयरलाइन्सले घाटा खाएर लामो समय उडान टिकाउन सक्दैनन् । वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि श्रम, भिसा लगायतका सेवा काठमाडौँ केन्द्रित हुँदा र म्यानपावर व्यवसायीले काठमाडौँबाटै टिकट काटिदिँदा यात्रुको अभाव देखिएको उनले बताए ।
पोखरा र भैरहवा विमानस्थलमा ल्यान्डिङ, पार्किङ, नेभिगेसन, ग्राउन्ड ह्यान्डलिङ र इन्धनमा छुट रहेको उनी बताउँछन् । साथै काठमाडौँको तुलनामा प्रतिउडान ५ देखि ७ लाख रुपैयाँसम्म कम खर्च लाग्ने बताउँदै रावतले भने, “सेवा विकेन्द्रीकरण, पर्यटन प्रवद्र्धन र अन्तर्राष्ट्रिय एयरलाइन्सको आकर्षण आवश्यक रहेको छ ।” इन्डिगोसहितका भारतीय एयरलाइन्सले पोखरा उडान गरे भारतीय पर्यटक सिधै पोखरा आउने र विमानस्थल दीर्घकालीन रुपमा चल्न सक्ने उनको बुझाई छ । यसको लागि प्रधानमन्त्रीले पहल गर्नुपर्ने उनको भनाई छ ।
सरकारको प्रभावकारी कूटनीतिक तथा नीतिगत सहजीकरण र अन्तर्राष्ट्रिय एयरलाइन्सका लागि नाफामूलक व्यावसायिक वातावरण नबनेसम्म पोखरा र भैरहवा दुवै विमानस्थल पूर्ण क्षमतामा सञ्चालन हुन कठिन रहेको सरोकारवालाहरूको भनाई छ ।







