माथिल्लो तामाकोशीको ७६ मेगावाटको पहिलो युनिटको मेकानिकल परीक्षण सुरु, पहिलो परीक्षणमा देखिएन समस्या


माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको पहिलो युनिटको मेकानिकल परीक्षण सफल भएको छ । सोमबार ७६ मेगावाट क्षमताको पहिलो युनिटको मेकानिकल परीक्षण गरिएको र त्यसमा कुनै समस्या नदेखिएको जलविद्युत आयोजनाले जनाएको छ ।

आयेजना प्रमुख विज्ञान श्रेष्ठका अनुसार पहिलो युनिटको एउटा तहको परीक्षण सफल भएको हो । नोटबजारसँगको कुराकानीमा आयोजना प्रमुख श्रेष्ठले धेरै किसिमका परिक्षणहरु गर्दै जानु पर्ने बताए । त्यस क्रममा सोमबार पहिलो युनिटको एउटा परिक्षण सफल भएको उनको भनाई छ । धेरै युनिटहरुको एक पछि अर्को गर्दै परीक्षणलाई तीव्र पारिएको उनले बताए ।

श्रेष्ठका अनुसार केही दिनको परीक्षण पश्चात एउटा युनिटबाट विद्युत उत्पादन सुरु हुनेछ । परीक्षणका दौरान दोहोरिने कामहरुलाई नदोहोरिने गरी एकै पटक परीक्षण अघि बढाइएको बताएका उनले पहिलो युनिटमा समस्या देखिने सम्भावना न्युन रहेको उल्लेख गरे । विद्युत उत्पादन बाहेकको मेकानिक परीक्षणमा पहिलो युनिटमा समस्या नदेखिएको खण्डमा सुरुङमा रहेको पानी खाली गर्ने र अडिट गेट मर्मत गरी सुरुङमा पानी प्रवाह गराउन सक्ने अवस्थामा राखिने उनले बताए । यो अवस्थासम्म पुग्न सकेको खण्डमा सुरुङमा पानी छाडे पछि पहिलो युनिटबाट विद्युत उत्पान सुरु गर्न सकिने उनले बताए । ३ सातामा सबै किसिमका परीक्षण पुरा गरेर विद्युत उत्पादन सुरु गरिने आयोजना प्रमुख श्रेष्ठको भनाई छ ।

केही समय अघि दोस्रो अडिट टनेलमा गरिएको परिक्षणमा समस्या देखिएको थियो । उक्त समस्या समाधान गर्ने तयारी भए पनि काम सुरु भइनसकेको आयोजना प्रमुख श्रेष्ठले बताए । परीक्षणका क्रममा उक्त युनिटको अडिटबाट पानी चुहिएको थियो । पानी चुहिएपछि पानी बन्द गरेर परीक्षणको काम स्थगित गरिएको थियो ।

आयोजनाको जलाशय, बाँध लगायतका भौतिक तथा अन्य प्राविधिक संरचनाको यस अघि नै परीक्षण पुरा भईसकेको छ । उक्त परीक्षण पुरा भए पछि बैशाख दोस्रो सातादेखि पहिलो युनिटबाट नियमित विद्युत उत्पादन सुरु हुने अनुमान आयोजनाले गरेको थियो । यद्यपी विभिन्न कारणले निर्धारित समयमा आयोजनाबाट विद्युत उत्पादन हुन नसकेको हो ।

४५६ मेगावाटको आयोजनामा विभिन्न युनिटमा ७६ मेगावाट क्षमताको ६ वटा टर्वाइन जडान गरिएको छ । आगामी असार मसान्त भित्रमा ३ वटा युनिटबाट ७६ मेगावाटका दरले २२८ मेगावाट विद्युत उत्पादन सुरु गर्ने लक्ष्य रहेको आयोजना प्रमुख श्रेष्ठले बताए ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।