अप्पर इङ्गवा जलविद्युत आयोजनामा बैंक अफ काठमाण्डूको ७५ प्रतिशत कर्जा लगानी


बैंक अफ काठमाण्डू र इङ्गवा जलविद्युत लिमिटेड बिच अप्पर इङ्गवा जलविद्युत आयोजनामा कर्जा प्रवाह गर्ने सम्बन्धि सम्झौता भएको छ । गत जेठ ३१ गते भएको हस्ताक्षर अनुसार आयोजनामा बैंकले कुल लागतको ७५ प्रतिशत कर्जा लगानी गर्ने भएको हो ।

९.७ मेगावट उत्पादन क्षमता रहेका अप्पर इङ्गवा जलविद्युत आयोजनाको अनुमानित खर्च १ अर्ब ९५ करोड रुपैंया रहेको छ । इङ्गवा जलविद्युत लिमिटेडले ताप्लेजुङ र पाँचथर जिल्लाको याङबाराक र सिदिङबा गाऊँपालिकामा उक्त जलविद्युत आयोजनाको निर्माण कार्य गरीरहेको छ । उक्त आयोजनामा बैंक अफ काठमाण्डू लिमिटेडको एकल लगानी रहने छ ।

आयोजनामा कुल लागतको ७५% बैंक कर्जा वापतको लगानी रहनेछ भने बाँकी २५% इङ्गवा जलविद्युत लिमिटेडको लगानी रहनेछ । आयोजना पुरा भएपछि उत्पादित विद्युत अमरपुर सवस्टेसनमा जोडिनेछ । सबस्टेसनसम्मको आवश्यक १६ किलोमिटर लामो ३३ केभी प्रसारण लाइन कम्पनी आफैले निर्माण गर्नेछ । साथै कर्जा लगानी पश्चात् यस जलविद्युत आयोजना निर्माणमा सहयोग पुग्ने र समयसिमामा नै आयोजनाको निर्माण कार्य सम्पन्न हुने विश्वास बैंकले लिएको छ ।

हालसम्म बैंक अफ काठमाण्डूले ९० शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ । साथै, बैंक अफ काठमाण्डू नेपालको उर्जा क्षेत्रको विकासको लागि बैंकिङ्ग क्षेत्रबाट लगानी गर्ने पहिलो बैंक रहेको तथा अग्रणी स्थानमा रही ३७ वटा परियोजनामा लगानी गरिसकेको विज्ञप्तिमा उल्लेख छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।