मोरङ व्यापार संघको मागप्रति भारतीय केन्द्रीय मन्त्रीको आश्वासनः एक महिना भित्रै नयाँ पुल सञ्चालन


मोरङ व्यापार संघले बथनाहा–जोगबनी सडक खण्डमा पर्ने परमान नदीमा निर्मित नयाँ पुलको शीघ्र सञ्चालनका लागि विगत एक महिना देखि उठाउँदै आएको माग प्रति भारतीय सडक, परिवहन तथा राजमार्ग मन्त्री नीतिन गड्करीले सकारात्मकत प्रतिकृया दिएका छन् । गड्करीले आगामी एक महिना भित्र सो पुल पूर्ण रुपमा संचालनमा ल्याउने गरी काम अघि बढाउन आफूले सम्बन्धित निकायमा निर्देशन दिएको बताएका छन् ।

नेपाल स्थित भारतीय राजदूतावास मार्फत भारतका केन्द्रीय मन्त्री माननीय गड्करीले यस्तो जानकारी दिएका हुन् ।

भारत स्थित नेपाली राजदूतावासले समेत संघको मागलाई भारतीय पक्ष समक्ष पेश गरी सकिएको जनाएको छ । संघको पहलले पाएको सफलता प्रति संघका अध्यक्ष नवीन रिजालले खुसी व्यक्त गरेका छन् ।

नेपाली उद्योगी/व्यवसायीहरुले मोरङ–सुनसरी आर्थिक कोरिडोरको दुःख भनी सम्बोधन गर्दै आएको जीर्ण अवस्थाको मीरगञ्ज पुलको विकल्पका लागि मोरङ व्यापार संघले विगत केहि वर्ष देखि नेपाल र भारतका कैयौं निकायहरुको ध्यानाकर्षण गराउँदै आएको थियो ।

विगतमा आएका बाढीहरुका कारण मीरगञ्ज पुल क्षतिग्रस्त हुँदा मुलुककै दोश्रो ठूलो नाका विराटनगर भन्सार कार्यालय मार्फत मालवाहक सवारी साधनहरुको आवागमन पटक पटक अवरुद्ध हुँदै आएकोमा संघले तत्कालिक रुपमा भीमनगर-भन्टाबारी नाका मार्फत रि–रुट र क्षतिग्रस्त पुलको जीर्णोद्वार लगायतका कार्य गरी सवारी साधनहरुको आवागमन अस्थायी रुपमा सूचारु गराउँदै आएको छ ।

त्यसका साथै संघले त्यसको स्थायी समाधान स्वरुप मीरगञ्ज पुलको समानान्तरमा ४ लेनको नयाँ पक्की पुल निर्माणका लागि भारत र नेपालका विभिन्न निकायहरुमा जोडदार पहल गर्दै आएको थियो । फलतः विगत २ वर्षको छोटो अवधिमै उक्त नयाँ ४ लेनको पुलको निर्माण कार्य अन्तिम अवस्थामा आई पुगेको छ । जनवरी २०२२ को पहिलो सातामा मीरगञ्ज पुल पुनः क्षतिग्रस्त भई सवारी साधनहरुको आवागमन ठप्प हुन गएकोमा संघका अध्यक्ष रिजाल सहितको टोलीले पुलको स्थलगत निरीक्षण गरी त्यसको समानान्तरमा अन्तिम अवस्थामा निर्माणाधिन नयाँ पुलको निर्माण कार्य यथाशीघ्र सम्पन्न गर्न र तत्कालिक रुपमा सम्भव देखिएको सो पुलको अस्थायी सञ्चालनका लागि माग गर्दै आएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।