राजश्व चुहावटमा लेखापरीक्षक मतियार बन्दै, राजश्व अनुसन्धानद्धारा साढे १७ करोड बिगो सहित मुद्धा दायर


व्यवसायिक प्रतिष्ठानहरुमा आबद्ध लेखापरीक्षकहरु प्रतिष्ठानको गलत आर्थिक कृयाकलापमा मतियार बनेको भन्दै राजश्व अनुसन्धान विभागले उच्च अदालत पाटनमा मुद्धा दायर गरेको छ ।

विभागले मूल्य अभिवृद्धि कर तथा आयकर छली गरेको भन्दै काठमाण्डौंको अन्तरा इन्टरनेशनल र सोही फर्मका २ जना लेखापरीक्षक विरुद्ध उच्च अदालत पाटनमा मुद्धा दायर गरेको हो ।

विभागका अनुसार स्थायी लेखा नम्बर ३०१८११६१३ का सञ्चालक तथा लेखापरीक्षकहरु गणेशबहादुर केसी र श्याम सुन्दर यादवले राजश्व चुहावट गर्न जालसाँझी गरेको भन्दै मुद्धा दायर गरेको हो ।

अन्तरा इन्टरनेशनलले नक्कली तथा भुठा मूल्य अभिवृद्धि कर बिजक खरिद गरेर वित्तीय विबरण तथा आय विबरण तयार गरेर कर छली गरेको विभागले जनाएको छ । मूल्य अभिवृद्धि करतर्फ २ करोड ५० लाख ४५ हजार ३११ रुपैंया साथै आयकरतर्फ ६ करोड ३ लाख ३२ हजार २४३ रुपैंया गरी ८ करोड ५३ लाख ७७ हजार ५५४ रुपैंया राजश्व चुहावट गरेको विभागको ठहर छ । राजश्व चुहावट भएको बिगो रकम र शतप्रतिशत जरिवाना समेत गरी १७ करोड ७ लाख ५५ हजार १०८ रुपैंया मागदाबी गर्दै उच्च अदालतमा मुद्धा दायर गरिएको विभागले जनाएको छ ।

राजश्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन २०५२ को पहिलो संशोधनमा गरिएको व्यवस्था अनुसार कैद सजाय समेत माग गर्दै विभागले मुद्धा दर्ता गरेको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।