कृषि क्षेत्र विकास कार्यक्रम र प्रभु बैंकबीच मूल्य शृङ्खलामा आवद्ध कृषकलाई वित्तीय सेवा दिने सम्झौता


कृषि क्षेत्र विकास कार्यक्रमको मूल्य शृङ्खलामा आवद्ध कृषकहरुको वित्तीय आवश्यकतालाई सम्बोधन गर्न कृषि क्षेत्र विकास कार्यक्रम र प्रभु बैंकका बिचमा सम्झौता भएको छ ।

सम्झौता पत्र हस्ताक्षर कार्यक्रम नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा। गोविन्द प्रसाद शर्माको अध्यक्षतामा सम्पन्न भएको छ । उक्त कार्यक्रममा प्रभु बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन, कृषि विकास मन्त्रालयका सह(सचिव एवं प्रवक्ता प्रकाश कुमार सञ्जेल, कृषि क्षेत्र विकास कार्यक्रमका कार्यक्रम संयोजक विनोद कुमार भट्टराई र कृषि तथा पशुपन्छी विकास मन्त्रालय एवं कृषि क्षेत्र विकास कार्यक्रम तथा प्रभु बैंक लिमिटेडका कर्मचारीहरुको समेत उपस्थिती थियो ।

हस्ताक्षर कार्यक्रमको मुख्य उद्देश्य कृषि मूल्य शृङ्खलामा आवद्ध कृषकहरुको वित्तीय आवश्यकतालाई सम्बोधन गर्न सहयोग गर्नु रहेको बताइएको छ । हस्ताक्षर कार्यक्रममा सम्बोधन गर्दै कार्यक्रमका अध्यक्ष तथा कृषि तथा पशुपन्छी मन्त्रालयका सचिव डा। गोविन्द प्रसाद शर्माले शुभ कार्यको लागि धन्यवादका साथै सम्झौताको प्रभावकारी कार्यान्वयनका लागि शुभकामना व्यक्त गरेका थिए ।

प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले सम्झौता अनुरुप लक्षित वर्गहरुलाई कर्जा सेवासंगै वित्तीय साक्षरता समेत प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरे ।

कृषि क्षेत्र विकास कार्यक्रमका संयोजक विनोद कुमार भट्टराईले कर्णाली प्रदेशमा कृषि क्षेत्रको विकास, सो क्षेत्रमा लगानीको अभाव हुन नदिन र किसानको वित्तीय आवश्यकतालाई सम्बोधन गर्न प्रभु बैंकले सहयोग गर्ने विश्वास व्यक्त गरे ।

कृषि क्षेत्र विकास कार्यक्रम कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोषको आर्थिक सहयोगमा नेपाल सरकारको संघीय कृषि तथा पशुपन्छी विकास मन्त्रालयद्धारा सञ्चालित कार्यक्रम हो ।

कर्णाली प्रदेशका पहाडी तथा उच्च पहाडी क्षेत्रमा बसोवास गरेका जनताहरुको गरिवी तथा पोषण असुरक्षा न्यूनिकरण गरी नेपालको दिगो विकास लक्ष्य (लक्ष्य १- गरिवी विहीन र लक्ष्य २- शून्य भोकमरी) प्राप्तिमा योगदान पुर्याउने कार्यक्रमको लक्ष्य रहेको छ । यस कार्यक्रमका निम्नलिखित ४ सह-सम्भाग रहेका छनः

सह-सम्भाग १ विस्तारित एवं विविधिकृत (समावेशी र दिगो कृषि मूल्य शृङ्खला)
सह-सम्भाग २ कृयाशील (बजारमुखी सार्वजनिक तथा सामुदायिक) पूर्वाधार
सह-सम्भाग ३ मूल्य शृङ्खला विकासका लागि सुदृढ ग्रामीण वित्तीय सेवा
सह-सम्भाग ४ मूल्य शृङ्खला विकासका र नविनताको लागि दिगो कृषि सेवा सहयोग

माथि उल्लेखित चार वटा सह(सम्भागमध्ये कृषि क्षेत्र विकास कार्यक्रमले सह–सम्भाग ३ मार्फत कृषि उत्पादक, कृषि व्यवसायी र साना किसानको माग अनुसारको वित्तीय सेवाको लागि उपयुक्त वित्तीय सेवा प्रदायकहरुस बैंक तथा वित्तीय संस्था र सहकारीसंग जोड्न सहजीकरण गर्ने बताइएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।