प्रतिकुल मौसममा उडान गर्न नपाउने व्यवस्थाप्रति वायु सेवा प्रदायकहरुको आपत्ति


नेपाल नागरिक उड्डयन प्राधिकरणले गरेको प्रतिकुल मौसममा हवाई उडान गर्न नपाउने व्यवस्थाप्रति वायु सेवाप्रदायकहरुले आपत्ति जनाएका छन् । भिएफआर उडान सुरक्षा अभिवृद्धि गर्न भन्दै प्राधिकरणले जारी गरेको प्रेस विज्ञप्तिप्रति वायु सेवा सञ्चालक संघ नेपालले ध्यानाकर्षण भएको जनाएको हो ।

नेपालमा उड्डयन सुरक्षाको स्तरबृद्धी गर्ने कार्यमा बायुसेवाहरु अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) तथा नेपाल नागरिक उड्डयन प्राधिकरणबाट जारी गरिएको मापदण्डहरुको पूर्ण परिपालना गर्दै आई रहेको संघले जनाएको छ ।

फलस्वरुप अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनबाट हालै सम्पन्न सेफ्टी अडिटमा नेपाल उड्डयन सुरक्षा प्रावधानहरुको कार्यान्वयन स्थिति विश्वको औसत भन्दा माथि रहेको प्रारम्भिक जानकारी दिइएको अवस्थाले नेपालको हवाई सुरक्षाको स्थिति स्पष्ट पार्ने संघले दाबी गरेको छ ।

नेपालको जटिल भू बनावट तथा हिमाली भेगमा छिटो छिटो मौसम परिवर्तन भई रहँदा पूर्व अनुमान गरिए भन्दा मौसम प्रतिकुल हुने अवस्था आउने र हवाई दुर्घटनाका सम्भावना रहने गरेको संघले जनाएको छ ।

नेपालमा मौसम सम्बन्धी जानकारी दिने जिम्मेवारी जल तथा मौसम विज्ञान विभागको हो । हाल मौसम विज्ञान विभागबाट काठमाडौं तथा भैरहवामा आधा आधा घण्टा र अन्य यान्त्रिक उडान (आइएफआर) सविधा उपलब्ध ८ वटा विमानस्थलहरुमा एक एक घण्टामा मौसम सम्बन्धि जानकारी मेटार जारी गर्ने गरिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवा विमानस्थलले प्रत्येक छ छ घण्टामा टर्मिनल एशिया फोरकास्ट जारी गर्ने गरेको संघद्धारा जारी विज्ञप्तिमा उललेख छ ।

आन्तरिक उडानका लागि इनरुट वेदर सुविधा नभएको तर अन्तर्राष्ट्रिय उडानका लागि १८ हजार मिटर माथिका मौसमी जानकारी गराउने गरिएको छ । आन्तरिक उडान हुने सबै विमानस्थलहरुको इन रुट वेदर उपलब्ध हुन सकेको खण्डमा उड्डयन सुरक्षा सुदृढ हुने संघको धारणा छ ।

“नेपाल नागरिक उड्डयन प्राधिकरणले सम्बन्धित निकायसँग समन्वय गरी यथाशक्य सबै विमानस्थलको इनरुट वेदर समयमा उपलब्ध गराउने व्यवस्था मिलाउन यो संघ आग्रह गर्न चाहन्छ,” संघले भनेको छ । यो काममा सरकार र प्राधिकरणसँग सहकार्य गर्न तयार रहेको पनि संघले जनाएको छ ।

एक ईन्जिन भएका हेलिकप्टरहरुमा २ जना पाईलट अनिवार्य रुपमा राख्नु पर्ने व्यवस्थाका सम्बन्धमा उत्पादनकर्ताको डिजाईन उद्देश्य र अन्तर्राष्ट्रिय प्रचलन प्रतिकुलको व्यवस्थालाई पनि प्राधिकरणले पुनर्विचार गर्नु पर्ने संघले जनाएको छ । नेपालमा संचालनमा रहेका एक इन्जिन हेलिकप्टरहरु उत्पादक कम्पनी र सम्बन्धित देशका नियामक निकायबाट एकल चालक संचालकका लागि स्वीकृत प्राप्त वायुयान रहेको भन्दै संघले उक्त व्यस्थामा पुनरविचार गर्न भनेको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।