‘आयातित सुपारी घुमाएर निर्यात गर्ने कुरा अब इतिहास बन्यो’ अर्थमन्त्री शर्मा


अर्थमन्त्री जनार्दन शर्माले सबैको स्वाधिनता कायम हुने गरी सरोकारवाला पक्षहरुसँग बारम्बार छलफल गरेर आगामी आर्थिक बर्ष ०७९/८० को बजेट सार्वजनिक गरेको बताएका छन् ।

उनले बजेट कार्यान्वयनमा सहयोग गरेर मुलुकलाई आत्मनिर्भर र समाजवादउन्मुख अर्थतन्त्र निर्माण गर्ने लक्ष्यमा सहयोग गर्न पनि आग्रह गरेका छन् ।

नेपाल आर्थिक संघ र बैंक तथा बित्तीय संस्था परिसंघले अर्थ मन्त्रालयको सहकार्यमा आयोजना गरेको कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले विभिन्न विषयगत क्षेत्रका सरोकारवाला, टेलिफोनबाट दुरदराजका नागरिक र रौतहटका अल्पसंख्यक परिवारदेखी कर्णालीको जनजातीसम्मलाई प्रत्यक्ष सोधेर बजेट निर्माण गरेकाले सबैको स्वाधिनता रहेको बताए ।

‘यो बजेट तपाईहरुको हो, म त केबल प्रतिनिधि मात्र हुँ’ उनले भने, ‘मेरो क्षमताले भ्याएसम्म सबैको बिषयलाई सम्बोधन गर्नेगरी बजेट बनाएको छु । अब यसलाई सबै मिलेर कार्यान्वयन गरौं ।’

आम जनताले स्वामित्व लिन सक्ने गरी बजेट बनाएकाले कार्यान्वयन हुने र बजेटले लिएका उद्धेश्य हाँसिल हुने उनको विश्वास छ । ‘संसदमा अहिले यसबारेमा विभिन्न प्रश्न उठेका छन्, बहस भइरहेका छन् । यसले बजेट कार्यान्वयनमा सघाउ पुग्ने मेरो अपेक्षा छ’ उनले भने । कृषिलाई उत्पादन, रोजगारी र निर्यातको क्षेत्र भएकाले प्राथमिकता दिएर बजेटमा समावेश गरेको उनको भनाई थियो ।

 

कृषिमा संरचनागत सुधारको पहल लिएको र ढुवानीका लागि कृषि एम्बलेन्स तथा बजारका लागि संकलन केन्द्रको बिषय राखिएको उनले जानकारी दिए । किसानलाइ उत्साहित गर्न, परिचय पत्र बितरण गर्न र कृषि पेशाप्रति आकर्षण बढाउन किसान पेन्सनको योजना अघि सारेको बताएका अर्थमन्त्री शर्माले यसलाई कार्यान्वयन गरेरै छाड्ने बताए ।

मुलुकमा कृषि बस्तुको ठूलो उत्पादन संभावना भएकाले प्रमुख खाद्य बाली, तरकारी र फुलफुलको ३० प्रतिशतसम्म आयात प्रतिस्थापन गर्ने लक्ष्य राखिएको अर्थमन्त्री शर्माले बताए ।

‘हामीसँग जे छ, त्यसकै अधिकतम उत्पादन गर्ने र आत्मनिर्भर भई निर्यात गर्ने लक्ष्य राखिएको छ । त्यसैले यो असंभव भन्ने छैन’ उनले भने, ‘हामीले दोब्बर निर्यात गर्ने भनेका छौं । बजेटको सही कार्यान्वयनबाट उत्पादन वृद्धि गर्ने हो भने मैले त संभव देखेको छु ।’

जुन सुपारी आयात ग¥यो, त्यहीं सुपारी निर्यात गर्ने बिषय अब इतिहास हुने उनको भनाई थियो । मुलुक भित्रै उत्पादन भएको बस्तु तथा सेवा निर्यातका लागि बजेटले अधिकमत स्थान दिएको उनले बताए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।