मर्जरमा जान नेपाल इन्भेष्टमेन्ट-मेगा र ग्लोबल आईएमई-बिओकेलाई राष्ट्र बैंकको ‘एलओआई’


नेपाल राष्ट्र बैंकले ४ वटा वाणिज्य बैंकका बिचमा हुन लागेको २ वटा मर्जरका लागि सैद्धान्तिक सहमति दिने निर्णय गरेको छ । राष्ट्र बैंक सञ्चालक समितिको बैठकले नेपाल इन्भेष्टमेण्ट बैंक र मेगा बैंकलाई मर्जरमा जानका लागि सैद्धान्तिक सहमति दिएको राष्ट्र बैंकका एक सञ्चालकले नोट बजारलाई जानकारी दिए । उनका अनुसार उक्त बैठकले ग्लोबल आईएमई र बैंक अफ काठमाण्डूलाई पनि मर्जरमा जानका लागि सैद्धान्तिक सहमति दिने निर्णय गरेको छ ।

गत जेठ २७ नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकका बिचमा एक आपसमा मर्ज हुने सम्झौता भएको थियो । 

हिमालयन बैंकसँगको मर्जर प्रकृया तोडिए पछि इन्भेष्टमेण्ट बैंकले मेगा बैंकसँग मर्जर सम्झौता गरेको हो । मेगा बैंकको १०० कित्ता शेयर बराबर इन्भेष्टमेण्ट बैंकको ९० कित्ता शेयर हुने गरी सम्झौतामा भएको थियो । मर्जर पछि बैंकको नाम नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड हुनेगरि सम्झौता भएको थियो । 

इन्भेष्टमेण्ट र मेगा बैंकबिच मर्जर सम्झौता, चुक्ता पूँजी ३३ अर्ब


हिमालयनसँगको
मर्जर तोडिए पछि इन्भेष्टमेण्ट बैंकलाई अर्को मर्जरमा जान निर्देशन दिएको नेपाल राष्ट्र बैंकले मेगासँगको मर्जरलाई छिटै सैद्धान्तिक सहमति दिएको हो । 

अहिले नेपाल इन्भेष्टमेन्ट बैंकको चुक्ता पुँजी १८ अर्ब ३० करोड रुपैयाँ छ भने मेगाको १६ अर्ब १२ करोड रुपैयाँ छ । ९० प्रतिशतको स्वापमा मर्जर हुँदा नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडको चुक्ता पूँजी ३३ अर्ब हाराहारी पुग्नेछ ।

यता असार २ गते मर्जर सम्झौता गरेका ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू १ बराबर एकको अनुपातमा मर्जरमा जान लागेका हुन् । 

दुई बैंकबीच मर्जरपछि चुक्ता पुँजी ३४ अर्ब ४१ करोड पुग्नेछ । 

ग्लोबल आइएमई र बैंक अफ काठमाण्डूबीच मर्जर सम्झौता, चुक्ता पुँजी ३४ अर्ब ४१ करोड पुग्ने

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।