योजनाबद्ध ठगीमा सक्रिय तिखो कलम डटकमका पत्रकार प्रहरीको फन्दामा


सूचना तथा प्रशारण विभागले जारी गरेको पत्रकार परिचयपत्र सहित योजनाबद्ध रुपमा ठगी गर्दै आएका एकजनालाई प्रहरीले पक्राउ गरेको छ । परिचयमा नक्कली छाप र दस्तखत प्रयोग गरी ठगेको आरोपमा उनलाई पक्राउ गरिएको काठमाण्डौं प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मकवानपुर थाहा नगरपालिका ६ घर भई सातदोबाटो बस्दै आएका २१ वर्षीय बासुदेव अर्याललाई काठमाडौंमा नक्कली छाप र दस्तखतको प्रयोग गरी ठगी गरेको आरोपमा पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी परीसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीका अनुसार पक्राउ परेका अर्याल तिखो कलम डटकममा आबद्ध भएको खुलेको छ । उक्त समाचार संस्थाको परिचयपत्र उनको साथबाट बरामद भएको मैनालीले जानकारी दिए ।

अर्यालले प्युठान घर भई सीतापाइला बस्दै आएका प्रकाशराज भण्डारीले सञ्चालन गरेको फल्कोनाइड इम्पोर्ट एण्ड एक्सपोर्ट प्रालिको नक्कली छाप प्रयोग गरेको प्रहरीको आरोप छ । अर्यालले भण्डारीको नक्कली दस्तखत प्रयोग गरी नेपाल एसबिआई बैंकको खाताबाट पैसा निकालिरहेको भन्ने पीडितको सूचनाका आधारमा शुक्रबार बैंकबाट अर्याललाई पक्राउ गरिएको प्रहरी उपरीक्षक मैनालीले जानकारी दिए ।

उनका अनुसार पीडितले दिएको सूचनाका आधारमा उनकै सहयोगमा गत शुक्रबार अर्याललाई प्रमाणसहित पक्राउ गरिएको हो । कालिमाटी वृत प्रहरीले अर्याललाई कलंकीस्थित नेपाल एसबिआई बैंकबाट भण्डारीको चेकबाट रकम झिक्दै गर्दा पक्राउ गरेको मैनालीले जानकारी दिए । प्रारम्भिक अनुसन्धानमा अर्यालले भण्डारीको नक्कली दस्तखत तथा कम्पनीको नक्कली छाप बनाएको प्रहरी उपरीक्षक मैनालीले बताए ।

प्रहरी उपरीक्षक मैनालीका अनुसार अर्यालले सौरभ डंगोल नामका अर्का एक व्यक्तिको सवारी चालक अनुमति पत्र साथमा लिएर आफैं सौरभ बनेर चेक साट्ने गरेका थिए । यसरी उनले पटकपटक गरी १० लाख ४५ हजार रकम निकालेको प्रहरीले जनाएको छ ।

प्रहरीले उनीबाट तिखोकलम डट कम नामक सञ्चार संस्थाको पत्रकारको परिचय पत्र समेत फेला परेको जनाएको छ । उनीबाट सरोज डंगोलको चालक अनुमति पत्र, उनको नाममा काटिएको ६५ हजारको चेक, विभिन्न संस्थाका ८ थान छाप, १६ थान सिमकार्ड, विभिन्न व्यक्तिको हस्ताक्षर अभ्यास गरिएको ८ वटा डायरी लगायतका सामग्री बरामद गरिएको प्रहरीले जनाएको छ ।

अर्यालका बिरुद्ध ठगी र लिखत सम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतबाट ७ दिनको म्याद थप भई प्रहरी वृत्त कालिमाटीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले बासुदेव अर्यालबाट अन्य व्यक्ति वा संस्था समेत ठगिएको भए प्रहरी वृत्त कालिमाटीमा जाहेरी दिन पनि अनुरोध गरेको छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।