भोजपुरका सबै घरमा आगामी आर्थिक वर्षमा बिजुली बल्ने


प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले भोजपुरका सबै स्थानीय तहमा आगामी आर्थिक वर्ष भित्रमा विद्युत् विस्तार गरिसक्ने बताएका छन् । भोजपुरको पौवादुङमा गाउँपालिकामा च्याङ्ग्रेली सद्भाव सेवा समाज भोजपुरले आज आयोजना कार्यक्रममा मुख्यमन्त्री राइले भने, “प्रदेशले भोजपुर जिल्लाबाट नेतृत्व पाएको छ, मैले विकासको कामलाई प्राथमिकताका साथ अगाडि बढाएको छु, आगामी आर्थिक वर्षभित्र भोजपुरका सबै स्थानीय तहमा पूर्णरुपमा विद्युत् विस्तार हुन्छ ।”

मुख्यमन्त्री राईले भोजपुरको पौवादुङमा गाउँपालिका र धनकुटाको सिमाना पर्ने अँधेरीघाटमा पुल निर्माणसँगै सडक विस्तार गरिने समेत बताए । विकासका लागि प्रशस्तमात्रामा बजेट विनियोजन गरेको बताउँदै मुख्यमन्त्री राईले विकासको कामलाई देखावटीमा मात्र नभएर गुणस्तरीय र उपलब्धिमूलक बनाइनुपर्ने विचार व्यक्त गरेका थिए ।

“विकासका लागि धेरै बजेट विनियोजन गरिएको छ, तर बजेट उपलब्धिमूलक ढङ्गले खर्च हुन सकेको छैन, हामीले विकासको काम गर्दा बजेट सक्ने मात्रभन्दा पनि जनता सेवा पाउने तवरबाट गर्नुपर्छ यसमा मेरो गम्भीर ध्यान गएको छ ।” मुख्यमन्त्री राइले भने ।

मुख्यमन्त्री राईले सङ्घीयता कार्यान्वयनसँगै जनताले विकासको अनुभूति गर्न पाएको भए पनि कानून निर्माण तथा अन्य विविध कारणले सोचे जस्तो विकास गर्न नसकेकोे बताए । प्रदेशको विकासमा आफू लागिपरेको बताउँदै मुख्यमन्त्री राइले पाँच वर्षको कार्यकालभित्र जनताले चाहेजस्तो विकास गरेर देखाउने समेत बताए । “देश समृद्धिको बाटोमा लागि सकेको छ, हामीले विकास निर्माणलाई प्राथमिकतामा राख्दै युवा लक्षित कार्यक्रम लागि प्रदेश सरकारले २० करोड विनियोजन गरेर कार्यक्रम सञ्चालन गर्दैछ ।” मुख्यमन्त्री राईले भने ।