औद्योगिक क्षेत्रमा ७०० प्रतिशतसम्म भाडा बढाउँदा समस्या भयो : उद्योगी


औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले औद्योगिक क्षेत्रमा सञ्चालित उद्योगहरुको भाडा ७०० प्रतिशतसम्मले वृद्धि गर्दा उद्योगी समस्यामा परेको भन्दै उद्योगीहरुले छलफल थालेका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) र नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघ (फिनी) का बीच बुधबार भएको छलफलमा यो विषय प्राथमिकतामा परेको हो ।

एफएनसीसीआई सचिवालयमा मुलुकका औद्योगिक क्षेत्रभित्र संचालित उद्योगहरूमा उत्पन्न समस्याका बारेमा भएको छलफलमा जग्गाको उपलब्धताको विषयमा पनि परेको छ ।

छलफलमा औद्योगिक क्षेत्रभित्र उद्योगहरूले उपभोग गरीरहेका जमिनको अप्रत्यासित भाडा वृद्धि, विद्युत डिमाण्ड शुल्क, जीर्ण भौतिक पूर्वाधार, पानी आपूर्तिमा समस्या र वृहद औद्योगिक सम्मेलन लगायतका विषयमा छलफल भएको महासंघले जनाएको छ ।

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड संचालक समितिको २०७९ असार २२ को निर्णयबाट ४ वर्ष अघिदेखि लागू गर्ने भनि ७ सय प्रतिशतसम्म भाडा वृद्धि गरी बील बिजक औद्योगिक क्षेत्रभित्रका उद्योगहरूलाई पठाएपछि औद्योगिक क्षेत्रभित्रका उद्योगहरू समस्यामा परेको विषयमा छलफल भएको महासंघले जनाएको ।

लिमिटेड अन्तरगतका १० वटा औद्योगिक क्षेत्रमा सरोकारवालाहरूसंग छलफल तथा परामर्श नै नगरी भाडा बृद्धि गरी पत्र पठाएको फिनीकातर्फबाट जानकारी गराइएको थियो ।

पछिल्लो पटक राष्ट्रिय एवं अन्तराष्ट्रिय परिस्थितिका कारण चल्नै नसक्ने अवस्थामा पुुगेका उद्योगहरूलाई आपसी सहमतीका माध्यमबाट भाडा वृद्धि गर्नुको साटो एकतर्फी रूपमा गरिएको भाडा वृद्धिले मुलुकको समग्र औद्योगिक विकासमा प्रतिकुल असर पर्ने चिन्ताका सम्बन्धमा छलफलमा भएको थियो ।

औद्योगिक क्षेत्रभित्र उद्योग व्यवसाय फस्टाउने वातावरण बनाउने भन्दा पनि भएका जग्गा भवन भाडामा लगाएर आयआर्जन गर्ने प्रवृत्ति देखिएको भन्दै छलफलमा चिन्ता व्यक्त गरिएको थियो ।

त्यसैगरी औद्योगिक क्षेत्र भित्रका उद्योगहरूलाई ५० प्रतिशतभन्दा बढी विद्युत डिमाण्ड शुल्क लिइएको, पानीको सहज आपूर्तिको व्यवस्था नभएको, औद्योगिक क्षेत्र भित्रका भौतिक संरचनाहरू पुनरनिर्माण गरी प्रयोग गर्न योग्य बनाउनेतर्फ पहल नभएको लगायतमा गुनासो फिनीले राखेको थियो । आफुहरुले उठाएका मुद्धामा साथ दिन एफएनसीसीआईलाई फिनीले आग्रह गरेको थियो ।

एफएनसीसीआईका अध्यक्ष शेखर गोल्छाले फिनीले उठाएका मुद्धाहरु जायज रहेको बताएका थिए । कठिन अवस्थाबाट गुज्रिरहेको अर्थतन्त्र र उद्योग व्यवसायलाई राहत दिई काम गर्न सक्ने वातावरण बनाउनुु पर्नेमा उल्टो हतोत्साहित बनाउने निर्णय गरिनु चिन्ताजनक विषय भएको उनको भनाई थियो ।
भाडा वृद्धिको निर्णय समय र विषयका हिसावले समेत गलत रहेको बताउँदै गोल्छाले जग्गा र भवन भाडामा लगाएर राजस्व उठाउने प्रवृत्तिनै सही नभएको दाबी गरे ।

“तपाईहरूका जायज माग पुरा गराउने सम्बन्धमा एफएनसीसीआईको पनि साथ रहन्छ,” अध्यक्ष गोल्छाले पिनी पदाधिकारीलाई भने । फिनीका अध्यक्ष रामहिरा पाठकले दुवै महासंघले मुलुकभित्र औद्योगिक वातावरण बनाउने विषयमा एउटै स्वर र अवधारणामा जानुुपर्ने र आफ्नो संस्थाले उठाएका मुद्धामा एफएनसीसीआईको पूर्ण सहयोग पाउने आशा आफूहरूले गरेको बताएका थिए ।

भेटका क्रममा फिनीका अध्यक्ष पाठकले फिनीकातर्फबाट उठाइएका मुद्धाहरुको दस्तावेज एफएनसीसीआईका अध्यक्ष गोल्छालाई हस्तान्तरण गरेका थिए ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।