२५ दिनको विश्राम पछि जनार्दन शर्माले फेरी सम्हाले अर्थमन्त्रीको कार्यभार


बजेट निर्माणका विषयमा विवादमा तानिए पछि अर्थमन्त्रीबाट राजिनामा दिएका जनार्दशन शर्माको पुनरागमन भएको छ ।

राजिनामा दिएको २५ दिनमा पुनः नियुक्ती पाएका शर्माले आइतबार साँझ अर्थमन्त्रीको पदभार सम्हालेका हुन् ।

आइतबार साँझ राष्ट्रपति कार्यालय, शीतल निवासमा राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ लिए लगत्तै शर्माले सिंहदरबारस्थित मन्त्रालय पुगेर पदभार ग्रहण गरेका हुन् ।

पदभार ग्रहण गर्दै अर्थमन्त्री शर्माले आफुले बनाएको बजेट कार्यान्वायनको अवसर पाएकोमा खुसी व्यक्त गरे । प्रधानमन्त्री शेरबहादुर देउवा सहित सत्तापक्षीय राजनितिक दलका नेताहरुका कारण आफु पुनः अर्थमन्त्रीको जिम्मेवारी फर्किन पाएको भन्दै उनले सबै नेताहरुलाई धन्यवाद दिएका थिए । अबको आफ्नो जिम्मेवारी बजेट कार्यान्वायन केन्द्रित हुने बताएका उनले कर्मचारीबाट पूर्ण साथ र सहयोग पाउने अपेक्षा गरेका थिए ।

बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई प्रवेश गराएको विषयलाई लिएर उत्पन्न विवाद उत्कर्षमा पुगेपछि शर्माले गत असार २२ गते अर्थमन्त्री पदबाट राजिनामा दिएका थिए । सोही दिन गठित छानबिन समितिले बजेट निर्माणका सम्बन्धमा उठेका विषयमा सफाइ दिएपछि माओवादीको सिफरिसमा शर्मा पुनः अर्थमन्त्री नियुक्त भएका हुन् ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।