‘लगानी सम्मेलन परिणाममुखी हुने’

0
Shares

मुलुकलाई समृद्ध बनाउन विदेशी ज्ञान, सीप, प्रविधि तथा पूँजी भित्र्याउनु पर्नेमा अर्थविद्ले जोड दिनुभएको छ । रिपोर्टर्स क्लबद्वारा आज यहाँ आयोजित साक्षात्कारमा वक्ताहरुले यही चैत १५ र १६ गते हुन लागेको लगानी सम्मेलनमा रु ३० खर्ब बैदेशिक लगानी भित्रिने र त्यसको परिचालनबाट नेपाल समृद्धिको मार्गमा लम्किने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा राजन भट्टराइले गणतन्त्र स्थापनापछि नेपालले नयाँ दिशा पक्रेको, राजनीतिक स्थिरता हासिल गरेकाले आर्थिक विकासलाई केन्द्रमा राखेर आयोजना गर्न लागिएको लगानी सम्मेलन परिणाममुखी हुने बताउनुभयो ।

उहाँले भन्नुभयो, “विकासका लागि हाम्रो योग्यता र क्षमताले मात्र नपुग्ने भएकाले सरकारले विदेशी ज्ञान, सीप, प्रविधि तथा पूँजी भित्र्याउने पहल गरेको हो ।’’ उहाँले लगानी सम्मेलनमा फ्रान्स र म्यान्माका मन्त्रीसहित ४० मुलुकका ३८२ प्रतिनिधि आउने निश्चित भइसकेको जानकारी दिनुभयो ।

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा शङ्कर शर्माले नेपालमा हाल विदेशी लगानी अत्यन्त न्यून रहेको लगानी सम्मेलनका लागि रु ३० खर्बको परियोजना तयार पारी लगानीको लागि योजना तयार भइरहेको बताउनुभयो ।
डा शर्माले नेपालको आर्थिक समृद्धि हासिल गर्न प्रतिवर्ष रु १५ खर्ब बजेट चाहिने र त्यसका लागि बाहिरबाट आठ खर्ब लगानी भित्र्याउन सके मात्र देशको आर्थिक समृद्धिले गति लिन्छ भन्नुभयो ।

पूर्वअर्थसचिव युवराज भुषालले नेपालको बजेट खर्च गर्ने क्षमतामा निकै ह्रास आएको बताउँदै विकास बजेट खर्च नहुँदा मुलुकको विकासले गति लिन नसकेको हो भन्नुभयो । उहाँले नेपालको आर्थिक विकासका लागि पहिलो आधार शान्ति सुरक्षा भएकाले नेकपा विप्लव समूहसँग वार्ता गरेर समस्याको समाधान गर्नुपर्नेमा जोड दिनुभयो ।

नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले वैदेशिक लगानीको उपयुक्त वातावरण बनाउन विशेष आर्थिक क्षेत्र बनाई लगानीकर्तालाई आकर्षण गर्नुपर्ने धारणा राख्नुभयो ।
–––