विदेशी काठको आयात निरुत्साहित गर्छु : मन्त्री यादव


वन तथा वातावरणमन्त्री प्रदीप यावदले नेपालको सबै वन क्षेत्रको दीगो व्यवस्थापन गरी काठको उत्पादनमा बृद्धि गरी नेपाललाई काठ दाउराको मागमा आत्मनिर्भर बनाईने बताएका छन् ।

सामुदायिक वन उपभोक्ता महासंघ नेपालले “सुशासन र समृद्धि, सामुदायिक वनमा उद्यम र उद्यमी” भन्ने मूल नाराका साथ आयोजना गरेको सामुदायिक वन दिवस २०७९ को कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले नेपाललाई काठ दाउराको मागमा आत्मनिर्भर बनाई विदेशी काठमाको आयातलाई निरुत्साहन गर्ने बताए ।

“वनको दीगो व्यवस्थापन गरी काठको उत्पादनमा बृद्धि गरी नेपाललाई काठ दाउराको मागमा आत्मनिर्भर बनाउने र बैदेशिक काठ आयातमा निरुत्साहित गर्ने मेरो योजना छ, सोही अनुसार काम गर्ने छु,” मन्त्री यादवले भने ।

सामुदायिक वनले अघि सारेका कार्यक्रमले नेपालमा हरियाली वृद्धि हुन सहयोग पुग्नुका साथै वनले ओगटेको क्षेत्रफलमा उल्लेखनीय बृद्धि भइ वनको हैसियतमा सुधार आएको तथा भूक्षय नियन्त्रण एवं जलाधार संरक्षण हुँदा वन्यजन्तुको बासस्थान संरक्षण लगायत जैविक विविधतामा अतुलनीय योगदान पुगेको उनको भनाई थियो ।

सामुदायिक वनकै कारण गरिब तथा विपन्न वर्गको जिविकोपार्जनमा सुधार हुनुका साथै सामाजिक बहिस्करणमा परेका महिला, दलित, आदीवासी जनजाती वर्गलाई सामाजिक मूलप्रवाहिकरण, महिला वर्गको नेतृत्व विकास तथा सामाजिक सदभाव कायम राख्न उल्लेख्य योगदान र भूमिका निर्वाह गरेको मन्त्री यादवको भनाई थियो ।

मन्त्री यादवले वर्तमान अवस्थामा वन ऐनका प्रावधानहरु बमोजिम व्यवस्थापनका लागि नेपालमा करिव २२ हजार ५१९ सामुदायिक वन उपभोक्ता समूहहरुले करिव २३ लाख ५१ हजार ५७७ हेक्टर राष्ट्रिय वनको संरक्षण, व्यवस्थापन र उपयोगमा सहयोग पुगेको जानकारी दिए ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।