मुलुकमा युवा उद्यमशीलताको विकास गर्नुपर्छ : प्रधानमन्त्री देउवा


प्रधानमन्त्री शेरबहादुर देउवाले शैक्षिक बेरोजगारी न्यूनीकरण गर्न युवा उद्यमशीलता विकास गर्नुपर्ने बताएका छन् । अन्तर्राष्ट्रिय युवा दिवस मूल समारोह समितिले अन्तर्राष्ट्रिय युवा दिवसका अवरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले देशविकासको अभियानमा युवा वर्ग क्रियाशील हुनुपर्नेमा जोड दिएका हुन् ।

विभिन्न पुस्तामा रहेका सीप, क्षमता युवालाई हस्तान्तरण गरी नयाँ पुस्तालाई सवलीकरणको खाँचो औँल्याउँदै उनले देश र समाजको परिवर्तन तथा राष्ट्रको विकासका लागि विशेष भूमिका निर्वाह गर्ने युवा वर्गको योगदानलाई सबै समक्ष चिनाउन र युवा वर्गको समग्र हित र अधिकारको विषयलाई व्यवस्थित तवरले अघि बढाउन आवश्यक रहेको बताए ।

अन्तर्राष्ट्रिय युवा दिवसले विश्वभर रहेका सबै जातजाति, धर्म, लिङ्ग, तथा समुदायका युवालाई एकापसमा जोड्ने एउटा मत्वपूर्ण उत्सव भएको बताउँदै प्रधानमन्त्री देउवाले यस दिवसले युवा पिँढीमा रहेका क्षमताको उजागर गरी दिगो विकास लक्ष्य हासिल गर्न सार्थक साझेदारका रूपमा सहयोग पु¥याउने बताए ।

प्रधानमन्त्री देउवाले यो वर्षको अन्तर्राष्ट्रिय युवा दिवसको नाराले विभिन्न पुस्तामा रहेका सीप, दक्षता, क्षमता र अनुभवलाई समन्वयात्मक र परिपूरक ढङ्गले एकैसाथ प्रयोग गरी विश्वले परिकल्पना गरेको समतामूलक र शान्तिपूर्ण समाज निर्माण गर्ने विषयमा सबैलाई अभिप्रेरित गर्ने बताए ।

देशभित्रै पर्याप्त अवसर सिर्जना गरी मुलुकका नवप्रतिभा र नव शक्तिलाई स्वदेशमै रोजगारमूलक र सिर्जनात्मक कार्यमा संलग्न गराउने वातावरण निर्माण गर्न सरकार, निजी क्षेत्र तथा नागरिक समाज सबैले समन्वयात्मक रूपमा कार्य गर्न आवश्यक रहेको उनको भनाइ थियो ।

प्रधानमन्त्री देउवाले मुलुकमा एकातिर राज्यले सीपयुक्त र दक्ष नागरिकको खोजी गरिरहेको बताउँदै शिक्षित युवालेसमेत आफ्नो योग्यता र क्षमता अनुसारको काम र रोजगारी नपाइ विदेशिनुपर्ने बाध्यता रहेकामा चिन्ता व्यक्त गरेका थिए ।

सरकारी तहबाट युवा केन्द्रित गतिविधिको कार्य योजना निर्माण, कार्य सम्पादन तथा संयोजनको कार्यभार सुम्पिएको युवा परिषद्ले युवा उद्यमशीलता विकास, युवा रोजगारी प्रवद्र्धन, विकास निर्माणमा युवा सहभागिता, युवा वर्गको नेतृत्व विकास, युवा स्वास्थ्यलगायतका क्षेत्रमा कार्य गर्दै आइरहेको उनको भनाइ थियो ।

प्रधानमन्त्री देउवाले खासगरी युवा वर्गलाई जीवनोपयोगी सीप र कौशल सिकाइ स्वदेशी माटोमै रम्न र सहजरूपमा जीविकोपार्जन गर्नसक्ने अवस्थामा पु¥याउन जोड दिनुपर्ने खाँचो औँल्याए ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।