पेट्रोलियम पदार्थको मूल्य नघट्ने, नोक्सान समायोजन गर्दा स्वचालित मूल्य प्रणाली ओझेलमा


भारतीय आयल कर्पोरेशन (आईओसी) ले पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाए पनि नेपाल आयल निगमले भने मूल्य नघटाउने भएको छ ।

आईओसीले नयाँ मूल्यसूची पठाए लगत्तै पत्रकार सम्मेलनको आयोजना गरी आयल निगमले पेट्रोलियम पदार्थको मूल्य नघट्ने जनाएको हो ।

पत्रकार सम्मेलनमा निगमले नोक्सान समायोजनका लागि नेपालमा पेट्रोलियम पदार्थको मूल्य नघटाउने निर्णय भएको जानकारी दिएको हो ।

ऋणको दायित्व धेरै भएका कारण तत्काल पेट्रोलियम पदार्थको मूल्य यथावत राख्ने भएको हो । पत्रकार सम्मेलनमा निगमका कार्यकारी निर्देशक उमेश थानीले निगमको आर्थिक अवस्थामा सुधार आएपछि मात्र पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरिने जानकारी दिए । उनका अनुसार मंगलबार प्राप्त नयाँ मूल्यसूची अनुसार निगमलाई मासिक झण्डै ६२ करोड रुपैयाँ घाटा भइरहेको छ ।

आईओसीलाई २३ अर्ब रुपैंया भुक्तान गर्न बाँकी रहेको थानीले जानकारी दिए । सरकार र वाणिज्य बौंकबाट लिइएको १० अर्ब ऋण र २३ अर्ब वक्यौता गरी ३३ अर्बको भारले निगम दवाबमा परेको बताएका उनले स्वचालित मूल्य प्रणाली प्रभावकारी बनाउन नसक्नुको कारक यही भएको बताए ।

मंगलबार आईओसीले पठाएको नयाँ मूल्इसूची पछि निगमलाई प्रतिलिटर पेट्रोलमा ४ रुपैयाँ ७४ पैसा नाफा हुँदा डिजेलमा ४ रुपैयाँ ५० पैसा र प्रतिसिलिण्डर खाना पकाउने ग्याँसमा ४९९ रुपैयाँ ५७ पैसा घाटा रहेको निगमको भनाई छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।