बोटलर्स नेपाल बालाजु र तराईले कति प्रस्ताव गरे लाभांश ?


कोकाकोला उत्पादक कम्पनी बोटलर्स नेपाल बालाजु र बोटलर्स नेपाल तराईले लाभांश बितरण गर्ने प्रस्ताव गरेका छन् ।

दुवै कम्पनीको बिहीबार बसेको सञ्चालक समितिको बैठकले नगद लाभांश मात्र बितरण गर्ने प्रस्ताव गरेको हो ।

बोटलर्स नेपाल बालाजुको बिहीबार साँझ बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई २० प्रतिशत नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो । हाल कम्पनीको चुक्ता पुँजी १९ करोड ४८ लाख ८९ हजार रुपैयाँ छ । जस अनुसार बोटलर्स नेपाल बालाजुले २० प्रतिशतले हुन आउने ३ करोड ८९ लाख ७७ हजार ८०० रुपैयाँ बराबरको लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो ।

गत आर्थिक वर्षको असार मसान्तसम्ममा बोटलर्स नेपाल बालाजुले ८७ करोड ६० लाख ३२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । उक्त नाफा कम्पनीको चुक्ता पुँजीभन्दा ४ गूणाभन्दा धेरै हुन आउँछ । अर्थात कम्पनीको प्रतिसेयर आम्दानी ४१७ रुपैयाँ थियो ।

बोटलर्स नेपाल बालाजुको जगेडा कोषमा ४ अर्ब ७३ करोड ९ लाख ६१ हजार रुपैयाँ सञ्चित छ । कम्पनीले अघिल्लो आर्थिक वर्षमा लगानीकर्तालाई प्रतिफल बितरण गरेको थिएन ।

त्यसैगरी बिहीबार साँझ बसेको बोटलर्स नेपाल तराईको सञ्चालक समितिको बैठकले सेयरधनीलाई ६० प्रतिशत नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ । हाल कम्पनीको चुक्ता पुँजी १२ करोड १० लाख रुपैयाँ छ । जस अनुसार बोटलर्स नेपाल तराईले ६० प्रतिशतले हुन आउने ७ करोड २६ लाख रुपैयाँ बराबरको नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो ।

गत आर्थिक वर्षको असार मसान्तसम्ममा बोटलर्स नेपाल तराईले ६८ करोड ३१ लाख ६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । उक्त नाफा कम्पनीको चुक्ता पुँजीभन्दा ५ गूणाभन्दा धेरै धेरै हो । अर्थात बोटलर्स नेपालको गत असार मसान्तको प्रतिसेयर आम्दानी ५६५ रुपैयाँ थियो ।

बोटलर्स नेपाल तराईको जगेडा कोषमा ३ अर्ब २५ करोड ३३ लाख ३७ हजार रुपैयाँ सञ्चित छ । कम्पनीले अघिल्लो आर्थिक वर्षमा लगानीकर्तालाई प्रतिफल बितरण गरेको थिएन ।

दुवै कम्पनीले प्रस्तावित लाभांशका सम्बन्धमा नेपाल धितोपत्र बोर्ड तथा नेपाल स्टक एक्स्चेञ्जलाई जानकारी गराएका छन् । बिहीबार बसेको सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि लगानीकर्ताको खातामा जम्मा हुनेछ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।