अर्थमन्त्री जनार्दन शर्माले विदाई हुँदै गर्दा भने, ‘राजश्वमा चाप परे पनि अर्थतन्त्र सुध्रिँदै छ’


अर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्र सुधिने क्रममा रहेको बताएका छन् । कार्यकाल पूरा हुँदै गर्दा सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री शर्माले पछिल्ला दिनमा सरकारको राजश्वमा चाप परेको जानकारी गराएका हुन् ।

आयातमा लगाइएको प्रतिबन्ध तथा २ पटक सम्पन्न निर्वाचनका कारण राजश्वमा परेको चाप अझै लम्बिन सक्ने उनले बताए ।

राजश्वमा चाप पर्दा पर्दै पनि अर्थतन्त्र सुधारको बाटोमा रहेको उनको दाबी थियो । रुस–युक्रेन युद्धको सिधा असर नेपालमा पनि पर्दा मूल्य र आपूर्तिमा चाप पर्दा नेपालको मुद्रास्फीति पनि प्रभावित भएको उनको भनाई थियो ।

वित्त र मौद्रिक नीतिबीच सन्तुलन जरुरी रहेको बताएका शर्माले बजारमा देखिएको समस्या समाधान गरी अर्थतन्त्र चलायमान बनाउन अझै काम गर्नुपर्ने र यसमा राष्ट्र बैंकको महत्वपुर्ण भूमिका हुने बताए ।

शोधनान्तर स्थिति २० अर्बले बचतमा रहेको जानकारी गराउँदै मन्त्री शर्माले कात्तिक मसान्तसम्म १८ प्रतिशतले आयात घटेको साथै व्यापार घाटा पनि १६ प्रतिशतले कम भएको बताएका थिए । विदेशी मुद्राको सञ्चिति बढेको बताएका उनले रेमिट्यान्सको आकार पनि बढेको जानकारी गराएका थिए ।

पुँजीगत खर्च बढिरहेको भन्दै उनले आगामी दिनमा अर्थतन्त्र सहज बन्दै जानेमा विश्वास समेत व्यक्त गरेका थिए ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।