सेयर बजारमा २ दिनमा ११ अर्बको कारोबार, सेन्सेटिभ इण्डेक्स दवाबमा


नयाँ सरकार गठन भए यता उकालो लाग्ने क्रममा रहेको सेयर बजार आइतबार पनि बढेको छ । बजार खुलेदेखि नै उकालो लागेको बजार २ हजार १९० अंकसम्म पुगेर फर्किँदा २० अंकको सुधारमा बन्द भएको हो । बजार उकालो लाग्दै गर्दा कारोबार रकम पनि साढे ५ अर्ब बढी पुगेको छ । पछिल्ला २ कारोबार दिनमा मात्र ११ अर्ब हाराहारीको सेयर किनबेच भएसँगै लगानीकर्ता उत्साहित बनेका छन् ।

आइतबार २०.६८ अंकले बढेर बजार परिसुचक नेप्से २ हजार १६४.६१ अंकमा पुगेको छ । यस क्रममा २५९ कम्पनीका १ करोड ४१ लाख ९८८ कित्ता सेयरहरु ७५ हजार ४६५ पटक किनबेच हुँदा ५ अर्ब ४५ करोड ९९ लाख २५ हजार रुपैयाँको कारोबार भएको छ । यो कारोबार रकम पछिल्लो १० महिना यताको सर्वाधिक हो । गत बिहीबार ५ अर्ब ४० करोड रुपैयाँको सेयर किनबेच भएको थियो । बिहीबार र आइतबार मात्र १० अर्ब ९५ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको हो ।

बैंक वित्तीय संस्थामा निक्षेप बढ्दै गएको खबरले तरलताको अवस्था सहज हुने र व्याजदर घट्ने आशमा बजार वृद्धिको गतिले निरन्तरता पाएको हो । नयाँ सरकार गठन भएयताका १० कारोबार दिनमा ८ दिन बजार बढेको छ भने २ दिन सामान्य करेक्सनको अवस्थामा थियो ।

आइतबार ठुला कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इण्डेक्स स्थिर रहँदा यस्ता कम्पनीको कारोबारयोग्य सेयरको मापन गर्ने सेन्सेटिभ फ्लोट भने ०.०५ अंकले घटेर १३७.७५ अंकमा अडिएको छ ।
सूचीकृत भएका कम्पनीहरुको कारोबार योग्य सेयरको मापक फ्लोट इण्डेक्स १.४५ अंकले बढेर १५१.८८ अंकमा पुगेको छ । यो इण्डेक्समा आएको सुधारले नै बजारलाई माथि लगेको हो ।

आइतबार साना तथा मझौला कम्पनीहरुको सेयर मूल्य धेरै बढेको ज । जसमा खप्तड लघुवित्त, बाराही हाइड्रो, ङादी ग्रुप पावर, मनकामना स्मार्ट लघुवित्त लगायत कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।

त्यसैगरी बुद्धभूमी हाइड्रो, विन नेपाल लघुवित्त, श्रृजनशील लघुवित्त, समीट लघुवित्त, हिमालयन डिष्टीलरी लगायत कम्पनीको सेयर मूल्य ४ प्रतिशतसम्मले घटेको छ ।

कारोबार रकम र कारोबार संख्याका आधारमा हिमालयन डिष्टीलरीको अधिक कारोबार भएको बजारमा सबैभन्दा धेरै कित्ता सेयर हिमाल दोलखा हाइड्रोको किनबेच भएको छ ।

योसँगै समग्र बजार पूँजीकरण ३१ खर्ब २५ अर्ब १४ करोड ४३ लाख रुपैयाँ कायम भएको छ । गत बिहीबार समग्र बजार पुँजीकरण ३१ खर्ब १ अर्ब ४४ करोड १ लाख रुपैयाँ थियो । आइतबार २४ अर्बभन्दा बढीले पुँजीकरण बढेको हो । गत बुधबार ३० खर्ब ७४ अर्ब ७४ करोड २७ लाख रहेको बजार पुँजीकरण बिहीबारको बजार वृद्धिसँगै २६ अर्ब ७० करोडले बढेको थियो ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।