समस्या समाधानका लागि पहल गरिदिन बिराटनगरका उद्योगीको अर्थमन्त्रीसँग आग्रह


बिराटनगरका उद्योगी व्यवसायीले उद्योग व्यवासय सञ्चालनमा देखिएका समस्या समाधानका लागि पहल गरिदिन अर्थमन्त्री विष्णु पौडेलसँग आग्रह गरेका छन् ।

बिहीबार सिंहदरबारस्थित अर्थमन्त्रालयमा मन्त्री पौडेलसँग भेट गरी मोरङ व्यापार संघ तथा नेपाल उद्योग परिसंघ प्रदेश नं. १ सिएनआई प्रदेश १ का प्रतिनिधिले यस्तो आग्रह गरेका हुन् ।

मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजाल, नेपाल उद्योग परिसंघ प्रदेश नं. १ का अध्यक्ष भीम घिमिरे लगायतले अर्थमन्त्री पौडेलसँगको भेटमा चर्को बैंक व्याजदर, प्रतिकूल बैंकिङ नीति, लोडसेडिङ्ग, आयात तथा भन्सार सम्बन्धि जटिलताहरु लगायत उद्योगी व्यवसायीहरुका विद्यमान समस्याहरुका सम्बन्धमा अवगत गराउँदै समाधानका लागि आग्रह गरेका हुन् ।

अर्थ सचिव तोयम राया, राजस्व सचिव डा. रामप्रसाद घिमिरको समेत उपस्थिती रहेको भेटमा मोरङ व्यापार संघका अध्यक्ष रिजालले विद्यमान चर्को बैंक व्याजदर, प्रतिकूल बैंकिङ नीति र समसामयिक समस्याहरु तत्कालै निराकरणमा पहल गरिदिन आग्रह गरेका थिए ।

भारत सरकारले नेपाललाई ५० हजार मेट्रिक टन गहुँको कोटा निर्धारण गरेता पनि नेपाल सरकारले नेपाली उद्योगीहरुलाई सो कोटा बाँडफाँड गर्न नसकेको भन्दै संघका अध्यक्ष रिजालले गहुँमा आश्रित नेपाली उद्योगहरु प्रभावित भई बन्द हुने अवस्थामा रहेको जानकारी गराएका थिए । सो कोटा बाँडफाँडका सम्बन्धमा तत्कालै आवश्यक कदम चाल्न पनि उनले आग्रह गरेका थिए ।

भेटका क्रममा अर्थसचिव रायाले नेपाली उद्योगहरुलाई गहुँको कोटा निर्धारणको कामलाई शिघ्रताका साथ अघि बढाइने आश्वासन दिएका थिए भने चर्को बैंक व्याजदर तथा बैकिङ नीति सम्बन्धि समस्याहरु निराकरणका लागि आवश्यक कामहरु भईरहेको र नतिजा आउन समय लाग्ने जानकारी गराएका थिए ।

पर्यटन सचिव सुरेश अधिकारीका साथै सरकारका उच्च पदस्थ कर्मचारीहरुसँग पनि उक्त टोलीले भेट गरी अर्थतन्त्रका समस्याका सम्बन्धमा जानकारी गराउँदै समस्या समाधानका लागि पहलकदमी लिन आग्रह गरेको थियो ।

नेपाल उद्योग परिसंघ प्रदेश नं. १ का सदस्यहरु गिरिजा सारडा राजेन्द्र राठी पनि उक्त टोलीमा थिए ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।