उधारो असुली कानुन तर्जुमा गर्न व्यवसायीको माग


पछिल्लो समय उधारोमा बिक्री गरेको सामानको पैसा नउठ्ने समस्या बढ्दै गएको भन्दै व्यवसायीहरुले कानुन बनाउन माग गरेका छन् । उधारो असुली कानुनको अभावमा बक्यौता नतिर्नेविरुद्ध कानुनी उपचार खोज्न सक्ने अवस्था नभएको भन्दै नेपाल समुद्रपार निकासी पैठारी संघले कानुन तर्जुमामा जोड दिएको छ ।

उधारो असुली नभएकै कारण बैंकको साँवा ब्याज भुक्तानी गर्न ननसक्दा इमानदारी र प्रतिष्ठा जोगाउन समस्या भएको संघको भनाई छ । यस्तै कारण देखाउँदै व्यापारी व्यवसायीले आत्महत्या गरेका समाचारहरु एक पछि अर्को गर्दै आउनु दुखद भएको पनि संघले जनाएको छ ।

काठमाडौंको वानेश्वरस्थित संसद् भवनअगाडि व्यवसायी प्रेम आचार्यले गरेको आत्मदाहको घटनामा पनि उधारोमा बिक्री गरेको सामानको रकम असुली नहुनु प्रमुख कारणको रुपमा देखिएको बताएको संघले उक्त घटनाले संघ लगायत निजी क्षेत्रले लामो समयदेखि आवाज उठाउँदै आएको उधारो असुली कानुन कति आवश्यक छ भन्ने कुरालाई अझ प्रस्ट रुपमा उजागर गरेको जनाएको छ ।

आचार्यको आत्मदाह लगायत अन्य व्यवसायीले गरेका आत्महत्याका घटनाले कोरोना महामारी र रुस–युक्रेन युद्धले विश्वव्यापी रुपमै ल्याएको प्रतिकूल अवस्थाबाट मुलुकका उद्यमी व्यवसायी तनावको अवस्थामा पुगेको संघले बताएको छ ।

“आर्थिक कारोबारमा आएको कमीबाट उद्यमी व्यवसायी मात्र नभइ सरकार स्वयं पनि लक्षित राजस्व संकलनमा चुकेको अवस्था छ । यी सम्पूर्ण कुरालाई बेलैमा सम्बोधन गर्न नसके स्थिति अझ भयावह हुने निश्चित छ,” संघले भनेको छ, “अतः उपयुक्त नीतिगत र कार्यगत हस्तक्षेपमार्फत आर्थिक क्षेत्रमा देखिएका प्रतिकूलता न्यूनीकरण तथा उद्यमी व्यवसायीको चासो सम्बोधन गर्ने खालका कानुनी व्यवस्था यथाशीघ्र मिलाउन यो संघ सरोकारवाला सबै निकाय र जिम्मेवार अधिकारीहरुमा हार्दिक आग्रह गर्दछ ।”

अहिलेको प्रतिकूलताको अन्त्यका लागि आर्थिक मुद्दामा मुलुकका राजनीतिक दलहरु, उद्यमी व्यवसायी, राष्ट्र«सेवक कर्मचारीलगायत सबै सरोकारवाला पक्ष एकमत भई अघि बढ्नुपर्ने आवश्यकता देखिएको संघको भनाई छ । त्यसलै राजनीतिक विचार र दर्शनलाई आफ्नो ठाउँमा राखेर आर्थिक मुद्दामा राष्ट्रिय सहमति कायम गर्न पनि संघले सम्पूर्ण राजनीतिक दलहरुलाई आग्रह गरेको छ ।

कर्मचारीतन्त्रले पनि उद्यमी व्यवसायीको मनोबल बढ्ने खालको व्यवहार प्रदर्शन गर्नुपर्नेमा संघले जोड दिएको छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।