बजारको आवश्यकता अनुसार सुन चाँदी उपलब्ध गराउन राष्ट्र बैंक प्रतिवद्ध छ : गभर्नर अधिकारी


नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बजारको आवश्यकता अनुसार कच्चा सुन तथा चाँदी उपलब्ध गराउने ब्यवस्था मिलाउन केन्द्रीय बैंक प्रतिवद्ध रहेको बताएका छन् ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घको प्रतिनिधि मण्डलसँगको गभर्नर अधिकारीले बजारको आवश्यकता अनुसार सुनचाँदी जस्ता वस्तुको कच्चा पदार्थ उपलब्ध गराउने ब्यवस्था गर्न राष्ट्र बैंक प्रतिवद्ध रहेको बताएका हुन ।

भेटका क्रममा गभर्नर अधिकारीले व्यवसायीहरूलाई बजारमा सुनचाँदीको विद्यमान अवस्था, माग र आपूर्ति ब्यवस्था, सुनको वितरण प्रणाली, खपत, पुराना सुनको रिसाइक्लिङ लगायतका विषयमा जानकारी लिएका थिए ।

त्यसक्रममा उनले सुनको आयात, बिक्री वितरण प्रणाली, बैंकिङ कारोबार र उत्पन्न हुने समस्यालाई आपसी छलफल र सरसल्लाहका आधारमा सम्बन्धित निकायबाट नै निराकरण गर्न सकिने सुझाएका थिए ।

भेटका क्रममा व्यवसायीहरूका तर्फबाट बजारको माग अनुसार कच्चा सुन तथा चाँदीको आयात गर्ने ब्यवस्था गरिनुपर्ने, सुन वितरण प्रणालीलाई प्रादेशिक संरचना अनुरूप बदल्नु पर्ने, प्यान नम्बरका आधारमा सुन वितरण गर्ने ब्यवस्था गरिनुपर्ने, नाकाबाटै सुन उपलब्ध गराइनुपर्ने, एउटै बैंकको खाताबाट जुनसुकै बैंकको सुन खरिद तथा भुक्तानीको ब्यवस्था मिलाइनुपर्ने लगायतका माग राखेका थिए ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।