मंसिरको तुलनामा पुसमा महंगी घट्यो


चालु आर्थिक वर्षको मंसि महिनामा मंहगी घटेको छ । नेपाल राष्ट्र बैंकको ६ महिनाको तथ्याङक अनुसार मंसिर महिनाको तुलनामा पुसमा महंगी घटेको हो ।

गत पुसमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ७.२६ प्रतिशत रहेको छ । गत मंसिर महिनामा यस्तो मुद्रास्फीति ७.३८ प्रतिशत थियो । गत वर्षको पुस महिनामा भने यस्तो मुद्रास्फीति ५.६५ प्रतिशत रहेको थियो । यस आधारमा गत वर्षको तुलनामा भने यस वर्षको पुसमा महंगी बढी हो ।

पुस महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.६२ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ८.५७ प्रतिशत रहेको छ । चालु आवको ६ महिनामा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत रेष्टुरेण्ट तथा होटल उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क १५.५६ प्रतिशत, सुर्तीजन्य पदार्थको ११.८१ प्रतिशत, दुग्ध पदार्थ तथा अण्डाको ९.७० प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ ।

खाद्य तथा खाद्यजन्य पदार्थको ९.५६ प्रतिशत, र मदिराजन्य पेय पदार्थको ८.८४ प्रतिशतले बढेको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ । गैर–खाद्य तथा सेवा समूह अन्तर्गत यातायात उप– समूहको मूल्य सूचकाङ्क १६.४३ प्रतिशत, स्वास्थ्यको ११.२२ प्रतिशत, मनोरञ्जन तथा संस्कृतिको ८.७६ प्रतिशत, विविध वस्तु तथा सेवाको ८.६८ प्रतिशत र फर्निसिङ्ग तथा घरायसी उपकरणहरुको ८.३३ प्रतिशतले मुद्रास्फिती बढेको छ ।

समीक्षा महिनामा काठमाडौं उपत्यकामा ६.९३ प्रतिशत, तराईमा ७.४९ प्रतिशत, पहाडमा ७.३० प्रतिशत र हिमालमा ६.६९ प्रतिशत मुद्रास्फीति रहेको छ ।

२०७८ पुस महिनामा यी क्षेत्रहरुमा क्रमशः ५.२८ प्रतिशत, ६.१५ प्रतिशत, ५.३४ प्रतिशत र ५.२२ प्रतिशत मुद्रास्फीति रहेको थियो ।

२०७९ पुस महिनामा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ९.८२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको पुस महिनामा यस्तो मुद्रास्फीति ८.०८ प्रतिशत रहेको थियो ।

समीक्षा महिनामा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको थोक मूल्यवृद्धि क्रमशः ४.४७ प्रतिशत, १३.८० प्रतिशत र ४.५० प्रतिशत रहेको छ । समीक्षा महिनामा निर्माण सामग्रीको थोक मूल्यवृद्धि १०.६७ प्रतिशत रहेको छ ।

२०७९ पुस महिनामा वार्षिक बिन्दुगत तलब तथा ज्यालादर सूचकाङ्क १०.२७ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही महिनामा उक्त सूचकाङ्क ५.७७ प्रतिशतले बढेको थियो । समीक्षा महिनामा तलब सूचकाङ्क र ज्यालादर सूचकाङ्क क्रमशः १२.३९ प्रतिशत र ९.६४ प्रतिशतले बढेको छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।