खोटाङमा सडक ढलानको काम ६ महिनादेखि अलपत्र, १ वर्षमा ६० प्रतिशत मात्र काम


धुलिखेल निर्माण सेवाले ठेक्का लिएको खोटाङ जिल्लाकै पुरानो बजार मानिने खोटेहाङ गाउँपालिका–७ खोटाङबजारको सडक ढलानको काम अलपत्र परेको छ ।

खोटाङ बजार रोड कन्ट्रक्सन आयोजनाको ठेक्का धुलिखेल निर्माण सेवाले २०७७ असार ३० गते लिएको थियो ।

निर्माण कम्पनीले गत असारदेखि सडक ढलान तथा डिबिएसटी पिच (कालोपत्र) को काम रोकेर अलपत्र पारेको प्रदेश सरकारको दुई करोड ६९ लाख २५ हजार ७९७ को लागतमा खोटाङ बजारको सडक ढलान तथा डिबिएसटी पिचको ठेक्का लगाइएको थियो ।

विसं २०७८ असार ३० गतेसम्ममा काम सक्नेगरी ठेक्का लिएको ढलानको काम छ महिनादेखि अलपत्र परेको गाउँपालिका प्रमुख उदिमबहादुर राईले जानकारी दिए ।  सम्झौता म्याद नाघेको १८ महिना बितिसक्दा आयोजनाको करिब ६० प्रतिशतमात्र काम सकिएको  छ ।

खोटाङ बजारभित्र करिब सात सय मिटर आरसिसी ढलान र करिब छ सय मिटर डिबिएसटी कालोपत्र गर्नुपर्ने सम्झौता भएपनि ढिलासुस्तीसँगै गुणस्तरहीन गिट्टी र बालुवा प्रयोग गरिएको, मापदण्ड अनुसारको दूरीमा रडको जाली नराखिएको, ढलान गर्नुअघि राखिएको सोलिङ राम्ररी नगरिएको गुनासो आएको थियो ।

सडक ढलानमा प्रयोग गर्न ल्याइएका गिट्टी र बालुवा छुट्याउन नसकिने अवस्थाको रहेको खोटाङ बजारका वडाध्यक्ष शिवप्रसाद फुँयालले बताए । “बनिसकेका ड्रेन र मेसिरेनरी पर्खाल भत्किन थालेको छ, उनले भने, “ढलानका लागि ल्याएर जथाभावी थुपारिएको बालुवा, गिट्टी र रडका कारण बजारमा दुर्घटनाको जोखिम उत्तिकै बढेको छ । यसप्रति सम्बन्धित निकायले तत्काल ध्यान दिन जरुरी छ ।

सुरुमा खोटाङ बजारमा डिबीएसटी कालोपत्र गर्ने गरी डिपिआर तयार पारिएको थियो । तर डिबीएसटी गर्ने क्रममा रोलरको थर्कनले बजारका क्षेत्रका परम्परागत घरहरू (ढुङ्गामाटोको घर) लाई असर गर्ने जनाउँदै डिजाइन परिवर्तन गरेर घरहरू भएको क्षेत्रमा ढलान र घर नभएको ठाउँमा डिबिएसटी पिच गर्ने गरी काम अघि बढाइएको थियो ।

परिवर्तित डिजाइनअनुसार २ नम्बर धाराबाट इलाका प्रशासन कार्यालयको गेट र बजार पुछारसम्म ढलान तथा २ नम्बर धाराबाट गाउँपालिकाको कार्यालयसम्म डिबिएसटीको काम अघि बढाइएको थियो ।

निर्माण कम्पनीले दुईपटक थप भएको म्याद गुजारीसकेको सहरी विकास तथा भवन कार्यालय ओखलढुङ्गाले जनाएको छ । निर्माण कम्पनीले कोभिड–१९ को महामारीका कारण सरासर काम गर्न नपाएको बताउँदै आएको छ ।

विसं २०२० सम्म जिल्लाका सम्पूर्ण प्रशासनिक कार्यालयहरू रहेको खोटाङबजारको सडक ढलानमा भइरहेको लापरवाहीका विषयमा स्थानीय सरकारदेखि प्रदेश र सङ्घीय सांसद बेखबर देखिएका छन् । सडक ढलानको काम अलपत्र भएको विषयमा जानकारी लिन खोज्दा ठेकेदार कम्पनीका व्यक्तिसँग सम्पर्क हुनसकेको छैन ।

अलपत्र अवस्थामा सडक ढलानको काम छाडेर हिँडेका ठेकेदारलाई दशैँ/तिहारपछि काममा फर्काउने गाउँपालिकाले बताए पनि अहिलेसम्म फर्किएका छैनन् । ठेकेदारले ढलान गर्न बिछ्याइएको ठाउँबाट फलामे रड तथा सिमेन्ट र बालुवासमेत उठाएर अन्यत्र लगेको बताइएको छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।