क्यानडाको भिसा त्यागेर भैंसी पालनमा रमाउँदै कैलालीका हिक्मत कठायत


क्यानडाको भिसा त्यागेर कैलालीको अत्तरियाका हिक्मत कठायत अहिले भैंसी पालन गरेर राम्रो आम्दानी गरिरहेका छन् । साइप्रसबाट ‘बिएससी नर्सिङ’ अध्ययन पूरा गरेका गोदावरी नगरपालिका– २ अत्तरियाका उनले विदेशमा छँदा मासिक तीन लाख आम्दानी गर्ने गरेका थिए ।

पुख्र्यौली घर बझाङको छविस पाथिभेरा २ भएका उनले नेपालमा ‘एचए’ पूरा गरी नर्सिङ पढ्न साइप्रस गएका थिए । साइप्रसबाट अध्ययन सकेर स्वदेश फर्किएको केही समयपछि जागिर नपाएपछि उनीँ वैदेशिक रोजगारीमा गएका थिए ।

सुरुवातमा काम गर्न दुबई पुगेका उनी त्यहाँ मासिक एक हजार ६ सय डलरमा काम सुरु गरे । करिब १४ महिना दुबईमा काम गरेका हिक्मतलाई विदेशमा भइरहेको त्यो कमाइ चित्त बुझेन । दुबईको १४ महिनाको कामलाई विश्राम दिएर उनी कुवेतमा मासिक दुई लाख ९० हजारको जागिर गर्न थाले ।

“व्यक्तिगत खर्च कटाएर मासिक दुई लाख ९० हजार घर पठाउँथे”, उनले भने, “त्यहाँ मैले चार वर्ष आठ महिना काम गरेँ ।” त्यसपछि बिदामा घर आएका उनीँ विदेश फर्किएनन् । बिदामा घर आएका उनले कुबेतको जागिर छाडेर सुरुमा कुखुरापालन सुरु गरे । कुखुरापालनबाट सुरुवाती चरणमा राम्रै आम्दानी भए पनि पछि भने लाखौँ घाटा बेहोर्नु प¥यो ।

“सुरुवाती चरणमा करिब चार लाख जति कमाएँ”, उनले भने, “पछि बजारको सिन्डिकेटका कारण घाटा व्होर्नु पर्यो ।” उनले कुखुरापालनकै कारण विदेश छँदा कमाएको ४६ लाख नगद र छ तोला सुन पनि सकाए । कुखुरापालनबाट लाखौं रुपैयाँ डुबेपछि हरेश खाएका हिक्मतले फेरि विदेश जाने सोच बनाए । क्यानडाको भिसा लगाएर जाने तयारी गरेका उनले साथीको सल्लाहका कारण त्यहाँ गएनन् ।

“कुखुरा पालनबाट लाखौ गुमाउँदा भएको तनाव पछि विदेश जाने भनेर क्यानडाको भिसा लगाएँ, सबै तयारी पूरा भएर जाने तरखर गर्दै थिएँ साथीको सल्लाहले फेरि रोकिए”, उनले भने । “साथीको सहयोगमा बैंकबाट कर्जा लिएर भैँसीपालन सुरु गरेको हुँ । अहिले भैँसीपालनबाट राम्रो आम्दानी भइरहेको छ ।” कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ मा एक बिघा १२ कठ्ठा जमिन भाडामा लिएर उनले हेमा कृषि फार्म सञ्चालन गरेका छन् ।

फार्ममा भैँसीपालन व्यवसाय सुरु गरेको करिब सात महिना पुग्न लाग्यो । भैंसीपालनमा पनि सुरुवाती चरणमा आफूले घाटा बेहोर्नुपरेको उनले सुनाए । “साथीको सल्लाहमा अर्का एक जनामार्फत भैँसी किनेर ल्याएँ तर दूधै नदिने भएपछि आधा पैसामा बिक्री गरेँ” उनले भने । हाल उनको फार्ममा छ वटा भैंसी छन् । दूध बिक्रीबाट मात्रै हाल मासिक करिब ७० हजार नाफा भइरहेको उनको भनाई छ ।

“अहिले प्रतिलिटर ८० का दरले दैनिक ६४ लिटर दूध बिक्री गर्छु”, उनले भने, “प्रत्येक महिना दूध बढ्दै गइरहेको र आम्दानी पनि बढ्दै जाने विश्वास लिएको छु ।” कुल ५६ लाख लगानी भएको कुखुरापालन व्यवसाय डुबेपछि आठ लाख ऋण लिएर सुरु गरेको भैँसीपालनबाट भने सन्तुष्टि मिलेको उनको भनाइ छ ।

भैँसीपालनमा कठायतलाई उनकी श्रीमती र एक जना आफन्तले सहयोग गर्दै आएका छन् ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।