ब्याजदर बुझेर मात्रै कर्जा लिन राष्ट्र बैंकको आग्रह


नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिँदा ब्याजदर बुझेर मात्रै लिन आग्रह गरेको छ ।

राष्ट्र बैंकले मंगलबार एक सुचना जारी गर्दै कर्जा लिँदा ब्याजदर निर्धारण र ब्याजदर परिवर्तन हुने सर्त बुझेर मात्र लिन आग्रह गरेको हो ।

ब्याजदरको बारेमा नबुझी कर्जा लिँदा ब्याज र आम्दानीमा तालमेल नहुँदा कर्जा भुक्तानीमा समस्या आउने राष्ट्र बैंकले जनाएको छ । निश्चित आय भएका व्यक्तिले परिवर्तन हुने ब्याजदरमा कर्जा लिँदा आम्दानी र खर्चबीच सामञ्जस्यता हुन नसक्ने बैंकद्वारा जारी सूचनामा भनिएको छ ।

‘निश्चित आय भएका व्यक्तिले परिवर्तनशील ब्याजदरमा कर्जा उपयोग गर्दा आम्दानी र खर्चबीच सामञ्जस्यता हुन नसक्ने र कर्जा भुक्तानीमा समस्या हुने अवस्थालाई ध्यान दिई व्यक्तिगत कर्जाहरु स्थित ब्याजदरमा उपलब्ध गराउनुपर्ने व्यवस्था गरिएको छ ।’राष्ट्र बैंकले जारी गरेको सन्देशमा भनिएको छ ।

पछिल्लो समय बैंक तथा वित्तिय संस्थाको चर्कोे ब्याजदरको बिरोध बढ्न थालेपछि राष्ट्र बैंकले यस्तो सूचना जारी गरेको हो ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।