बुढीगण्डकीसँग मुआब्जा माग्दै बाबुराम भट्टराई, सुरेन्द्र पाण्डे लगायत धर्नामा


पुर्व प्रधानमन्त्री एवं समाजवादी पार्टी संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराई तथा राष्ट्रिय सभाका सांसद सुरेन्द्र पाण्डे लगायतले गोरखा जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएका छन् ।

राष्ट्रिय गौरवको बुढीगण्डकी जलविद्युत आयोजनाअन्तर्गत अधिग्रहण गरिएको जग्गाको मुआब्जा वितरण छिटो टुंग्याउन माग गर्दै मुआब्जा पिडितसँगै नेताद्धयहरु धर्नामा बसेका हुन् ।

भट्टराई र पाण्डेसँगै धर्नामा गण्डकी प्रदेशका सांसदहरू प्रकाशचन्द्र दवाडी, धनमाया लामा गोरखाका स्थानीय तहका जनप्रतिनिधि र स्थानीयवासी पनि सहभागि छन् ।

सरकारलाई दवाब दिन र मुआब्जा नपाएर पीडित बनेका स्थानीयलाई हौसला दिन काठमाडौंबाट गोरखा पुगेका पूर्वप्रधानमन्त्री भट्टराईले बताएका छन् । धर्नापछि ट्वीट गर्दै भट्टराईले भनेका छन्, ‘यो महत्वपूर्ण राष्ट्रिय गौरवको परियोजनाको समस्या हल गर्न सरकारको तुरून्त ध्यान पुगोस् ।’

बुढीगण्डकी आयोजना क्षेत्रमा पर्ने आरुघाट, खहरे र आर्खेत गोरखा, र धादिङ बजार क्षेत्रका वासिन्दाको जग्गाको मुआब्जा अन्यौल भएपछि सांकेतिक रुपमा दुई घण्टा धर्ना दिएका हुन् ।

मुआब्जा तोक्न र वितरण गर्न दवावका लागि मंसिर ६ गते धादिङ र मसिर ९ गते आयोजनाको कार्यालयमा धर्ना दिने कार्यक्रम छ । त्यसबाट पनि निकास नआए थप संघर्षका कार्यक्रम घोषणा गर्ने पिडितहरुले बताएका छन् ।