सानिमा र रिलायन्स लाइफको एकीकृत कारोबार सुरु, चुक्तापुँजी ४ अर्ब १८ करोड


सानिमा लाइफ र रिलायन्स लाइफ इन्स्योरेन्सले सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको नामबाट बिहीबारदेखि एकीकृत कारोबार थालेका छन् ।

दुई कम्पनी एक बराबर एक सेयर अनुपातमा मर्ज भएका हुन् । मर्जरका लागि गत असार २९ गते प्रारम्भिक सम्झौता गरेका यी कम्पनीहरूले मर्जर सम्झौता गरेको ९ महीनापछि एकीकृत कारोबार सुरु गरेका हुन् ।

मर्जरपछि कम्पनीको चुक्तापूँजी ४ अर्ब १८ करोड रुपैयाँ पुगेको छ । मर्जर अघिसम्म रिलायन्स लाइफको चुक्ता पुँजी २ अर्ब १८ करोड र सानिमा लाइफको २ अर्ब रुपैयाँ थियो ।

यस्तै मर्जरपश्चात् जीवन बीमा कोष ८ अर्ब ३४ करोड पुगेको छ भने जगेडा कोष ७७ करोड ५९ लाख, शेयरधनी कोष ४ अर्ब ९६ करोड पुगेको छ । यस्तै खुद नाफा २८ करोड ३० लाख र लगानी १३ अर्ब ५० करोड पुगेको छ ।

सानिमा लाइफ र रिलायन्स लाइफ इन्स्योरेन्सलाई नेपाल बीमा प्राधिकरणले फागुन १८ गते र फागुन २९ गते कम्पनी रजिष्ट्रारको कार्यालयबाट मर्जर सम्बन्धी अन्तिम स्वीकृती पाएको थियो । संयुक्त मर्जर समितिको चैत ५ गते आइतबार बसेको बैठकले मर्जर सम्बन्धी निर्णय गरेको थियोे ।

मर्जर पछि सानिमा रिलायन्स लाइफ कम्पनीको कार्यकारी अधिकृत (सीइओ) शिवनाथ पाण्डे रहने छन् । उनले यसअघि राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट अवकाश लिएका थिए । पाण्डे यस अघि सूर्या लाइफ इन्स्योरेन्सको सीईओ बनिसकेका छन् ।

दुबै कम्पनीको सेयर संरचनामा हाल संस्थापकतर्फ ७० र सर्वसाधारणतर्फ ३० प्रतिशत छ । हाल कायम सेयर संरचना परिवर्तन गरी संस्थापक तर्फको १९ प्रतिशत कम गरि ५१ मा झार्ने र सर्वसाधारणको बढाएर ४९ कायम गर्ने प्रस्ताव दुबै कम्पनीहरूले वार्षिक साधारण सभाबाट पारित गराईसकेका छन् ।

दुई कम्पनीको संयुक्त कारोबार सुरु भएसँगै १५ कारोबार दिनका लागि दुबै कम्पनीको सेयर कारोबार रोक्का भएको छ । मर्जर तथा प्राप्ति सम्बन्धि व्यवस्था बमोजिम एकीकृत कारोबार भएको दिनदेखि बढीमा १५ कारोबार दिन शेयर कारोबार रोक्का गर्नुपर्ने व्यवस्था छ ।

 

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।