गुगल बिजनेस ग्रुपको आयोजनामा पुस १२ गते स्टार्टअप प्रदर्शनी ‘जिबिजि बिजफेस्ट’ र ‘जिबिजि बिजस्टार्ट’ हुने


नेपालका प्रविधि व्यवसायीहरूको समुह, गुगल बिजनेस ग्रुप काठमाडौंले यहि पौष १२ गते शनिबार नेपालको सबैभन्दा ठूलो स्टार्टअप प्रदर्शनी ‘जिबिजि बिजफेस्ट’ र ‘जिबिजि बिजस्टार्ट’ को दोस्रो संस्करण आयोजना गर्ने भएको छ ।

डिएभी स्कुल परीसर, जावलाखेल, ललितपुरमा आयोजना हुने जिबिजि बिजफेस्ट नेपालको एकमात्रै प्रविधि तथा स्टार्टअप व्यबसाय सम्बन्धि प्रदर्शनी हो ।

नेपालमा क्लाउड कम्प्युटिङ सम्बन्धि काम गर्ने कम्पनी जेनेस सफ्टवेयर सोलुसनसँगको मुख्य सहकार्यमा गर्न लागिएको यस मेलाको उद्देश्य देशभरबाट नव उद्यमीहरु र स्टार्टअप संस्थापकहरूलाई एउटै प्लेटफर्ममा ल्याउने र प्रवर्धन गर्ने रहेको विज्ञप्तिमा उल्लेख छ । साथै, बिजस्टार्ट नाम दिइएको विशेष वर्कशप कार्यशालामा नेपालका स्टार्टअप संस्थापकहरूले विशेषज्ञहरू मार्फत आफ्नो व्यवसायमा उपयोगी हुने गुगलका विभिन्न व्यापार प्रविधिहरु सिक्ने र उक्त प्रविधि प्रयोग गरेर आफ्नोे व्यवसाय विस्तार गर्ने अवसर पाउने छन् ।

गुगल बिजनेस ग्रुप काठमाडौंका प्रवन्धक अमित अग्रवालका अनुसार जिबिजि बिजफेस्ट विश्वका विभिन्न देशहरुमा वार्षिक रुपमा आयोजना हुने कार्यक्रम हो । नेपालमा स्टार्टअप गर्ने ट्रेन्ड भर्खरै मात्र सुरु भएको बताएका उनले धेरै जनालाई स्टार्टअप भनेको के हो र के–कस्ता स्टार्टअप कम्पनीहरु नेपाली बजारमा आएका छन् र तिनीहरुले के–के काम गर्छन भन्ने धेरैलाई थाहा नभएको बताए । गुगल बिजनेस ग्रुपले नेपाली स्टार्टअपका विविध समस्याहरुको मध्यनजर गरी सबैलाई एकै ठाउँमा ल्याउने, निःशुल्क प्रदर्शनी गर्ने र उनीहरुका संभावित ग्राहकसँग जोडिने अवसर प्रदान गर्ने हेतुले प्रदर्शनी आयोजना गरिएको उनले बताए ।

मेलामा देशभरका दुई सयभन्दा बढी स्टार्टअपहरूले आफ्नो उत्पादन र सेवाहरुको प्रदर्शन गर्ने अपेक्षा आयोजकको छ ।

गत वर्ष आयोजना गरिएको पहिलो संस्करणको कार्यक्रममा देशका विभिन्न ठाउँबाट उदाउँदै गरेका १ हजार २०० स्टार्टअप र ५ हजार भन्दा बढी अवलोकनकर्ताको सहभागिता रहेको थियो ।