सर्वसाधारणमा आइपीओ जारी गर्ने प्रक्रियामा रहेको सर्वोत्तम सिमेन्टले प्राधिकरणमा ८५ करोड बुझाउन बाँकी


सर्वसाधारणमा बुक विल्डिङ विधिमार्फत आईपीओ बिक्री गर्न लागेको सर्वोत्तम सिमेन्ट लाइन काटिएको छ ।

डेडिकेटेड र ट्रङ्क लाइन महसुल नबुझाएको भन्दै जनाउँदै नेपाल विद्युत् प्राधिकरणको परासी वितरण केन्द्रले आइतबार सर्वोत्तम सिमेन्ट र लक्ष्मी स्टिलको लाइन काटेको हो ।

प्राधिकरणका अनुसार सर्वोत्तम सिमेन्टले ८५ करोड रुपैयाँ र लक्ष्मी स्टिलले ६२ करोड रुपैयाँ बराबरको बक्यौता तिर्न बाँकी छ । यही पुस ६ गते मात्रै प्राधिकरणले विभिन्न चार उद्योगको बिजुली काटेको थियो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिहीबार मात्रै त्यस्ता लाइनको बिजुली काटेर महसुल उठाउन नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएको थियो । उनले ठूला उद्योगको लाइन काटेर राजस्व उठाउन निर्देशन दिएलगत्तै प्राधिकरणले केही उद्योगको लाइन काटन थालेको हो ।

साना तथा घरायसी उपभोक्ताले सामान्य महसुल नबुझाउँदा लाइन काट्ने प्राधिकरणले ठूला उद्योगलाई भने छुट दिएको भनेर आलोचना हुँदै आएको थियो । प्राधिकरणले यसअघि जगदम्बा स्टिल, रिलायन्स स्पिनिङ मिल्स, घोराही सिमेन्ट र अर्घाखाँची सिमेन्ट उद्योगको लाइन काटेको थियो ।

प्राधिकरणका अनुसार जगदम्बाले मात्रै चार अर्ब १४ करोड रुपैयाँ बराबरको महसुल तिर्न बाँकी छ । यस्तै, रिलायन्सले एक अर्ब ९४ करोड रुपैयाँ, घोराही सिमेन्टले एक अर्ब ३६ करोड रुपैयाँ बक्यौता भुक्तानी गर्न बाँकी छ । प्राधिकरणका अनुसार अर्घाखाँची सिमेन्टले एक अर्ब ३० करोड रुपैयाँ बराबरको महसुल बुझाउन बाँकी छ ।

पटकपटक आग्रह गर्दा बक्यौता तिर्न अटेर गरेकाले उनीहरुको लाइन काटिएको प्राधिकरणले जनाएको छ । महालेखापरीक्षकका पछिल्ला प्रतिवेदनमा समेत बक्यौता महसुल उठाउन पटकपटक प्राधिकरणलाई निर्देशन दिइएको थियो । संसद्का विभिन्न समितिले पनि यसअघि नै महसुलका विषयमा चासो राख्दै तत्काल असुलउपर गर्न निर्देशन दिएका थिए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।