चार अंकले बजार घट्दा आठ उपसूचक ऋणात्मक, कारोबार २२ करोडले घट्यो

0
Shares

शेयर बजार परिसूचक नेप्सेमा बुधबार ३.६८ अंकले गिरावट आएको छ भने म.गलबारको तुलनामा २१ करोड ९१ लाख रुपैयाँले कारोबार रकम घटेको छ । कारोबारमा आएका एघार मध्ये आठ उपसमूहका सूचक ऋणात्मक बन्दा समग्र नेप्से ०.२८ प्रतिशतले घटेको हो।

सूचक घटेसँगै नेप्से फेरि एक हजार ३०० अंक मुनी १२९७.६० बिन्दुमा झरेको छ । बुधबार १७५ कम्पनीको १९ लाख ७ हजार ७८३ कित्ता शेयर ५० करोड ७९ लाख रुपैयाँ बराबरमा खरिद बिक्री भयो। मंगलबार ७२ करोड ८८ लाख रुपैयाँको कारोबार भएको थियो।

कारोबारमा आएका एघार उपसूचकको इक्डेक्स मध्ये व्यापार, उत्पादन र अन्य बाहेक बाँकी सबै नकारात्मक रहे । सबैभन्दा धेरै उत्पादन तथा प्रशोधन ३.०४ प्रतिशत अर्थात ६९.२२ अंक, ब्यापार १.०६ प्रतिशत अर्थात २.७० अंक र अन्य ०.४९ प्रतिशत अर्थात ३.५८ अंकले सुधार आएको छ ।
होटल समुहको सूचक सबैभन्दा धेरै १.६१ प्रतिशत अर्थात ३२.९९ अंकले नकारात्मक भयो । यस्तै हाइड्रोपावर १.४५ प्रतिशत अर्थात १७.२० अंक, निर्जीवन बीमा १४.६५ अंक, विकास बैंक ७.४१ अंक, वाणिज्य बैंक ५.८३ अंक, माइक्रोफाइनान्स ४.९५ अंक, फाइनान्स १.८१ अंक र जीवन बीमा ०.१८ अंकले ओरालो लागेका हुन् ।

सिभिल बैंकको ५ करोड ५३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । मेगा बैंक ४ करोड ९६ लाख, शिबम् सिमेन्टको ४ करोड १२ लाख, नागरिक लगानी कोष ३ करोड, र नेपाल क्रेडिट एण्ड कर्मस बैंकको २ करोड २० लाखको कारोबार भएको छ ।

हिमालयन डिस्टिलरीको शेयरमूल्यमा दोस्रो दिन बुधबार पनि सर्किट लागको छ । कम्पनीको प्रतिकित्ता शेयरमूल्य १६५ रुपैयाँले बढेर एक हजार ८१५ पुगेको छ । यस्तै नविल इक्वीटी फण्ड, चौतारी लघुवित्त, सुर्योदय लघुवित्त, बोटलर्स नेपाल (तराई)का शेयरधनीले आजको बजारमा नाफा कमाएका छन्।

मल्टीपोज फाइनान्नको शेयरमूल्य सबैभन्दा धेरै ९.५५ प्रतिशतले घटेको छ । तारागाँउ रिजेन्सी होटल, पाँचथर पावर कम्पनी, फस्ट माइक्रोफाइनान्सको शेयरमूल्य पनि ४ प्रतिशत बढीले घटेको छ । सिन्धु विकास बैंक, अरुण काबेली, माहुली सामुदायिक लघुवित्त, रिडी हाइड्रोपावर, कालिका पावर, आइएमई जनरल इन्स्योरेन्स का शेयरधनी पनि बुधबार गुमाउनेको सूचीमा परेका छन् ।