स्वदेशी ब्राण्ड गोफीका तयारी पोशाक बजारमा


स्वदेशी गार्मेण्ट उद्योगका उत्पादनको निर्यात दिनहुँ घटिरहेको अवस्थामा नयाँ सोचका साथ स्वदेशी ब्राण्ड गोफीका तयारी पोशाकहरुको बिक्री बितरण सुरु भएको छ ।

राजधानीमा एक कार्यक्रमको आयोजना गरी मनकामना गार्मेण्ट उद्योगले जेनेरेशन अफ फेशन इण्डष्ट्री अर्थात गोफी ब्राण्डका उत्पादनहरुको औपचारिक रुपमा बिक्री बितरण सुरु गरेको हो ।

स्वदेशी उत्पादनमा आत्मनिर्भरताको बाटो पहिल्याउने लक्ष्यका साथ साहस ट्रेडिङले गोफीका पोशाकहरु बजारमा ल्याएको हो । उद्योगका अनुसार २१ प्रकारका जेन्स पाइन्ट, टि सर्ट, २४ प्रकारका बेल्ट, ४० प्रकारका सर्ट र १० प्रकारका स्वेटरको बिक्री बितरण सुरु गरिएको हो ।

रविभवनस्थित आफ्नै गार्मेण्ट उद्योगबाट उत्पादित आधुनिक शैलीका फेशनेबल लत्ता कपडाहरु अन्तर्राष्ट्रिय ब्राण्डसँग प्रतिसपर्धी रहेको गार्मेण्टका सञ्चालक सुमित प्रधानले बताए । स्वदेशी ब्राण्डको गुणस्तर कम हुन्छ भन्ने आम धारणलाई गोफी ब्राण्डका पहिरनले गलत सावित गराउने दाबी गर्दै उनले स्वदेशी उत्पादनको प्रयोगमा जोड दिए ।

‘मेड इन नेपालको ट्याग देख्ने बित्तकै नाँक खुम्च्याउने आम मानसिकताका कारण गूणस्तरीय स्वदेशी उत्पादनले समेत बजार पाउन चुनौतीको सामना गरिरहनु परेको छ । स्वदेशी उत्पानको प्रयोग नै नगरी मानसिकता बनाउने परिपाटीलाई बदल्दै कम्तीमा एक पटक नेपाली ब्राण्डका उत्पादनलाई खरिद गरी प्रयोग गरेर मात्र धारणा बनाउन म आम उपभोक्ताहरुलाई आग्रह गर्छु’ उनले भने, ‘हामी अन्य मुलुकमा उत्पादन भएकाभन्दा उत्कृष्ट गुणस्तरका पहिरन नेपालमै तयार गर्न सक्षम छौं । गोफी ब्राण्डले निकट भविष्यमा नै नयाँ उचाई लिनेमा म विश्वस्त छु ।’

गुणस्तरीय उत्पादन तयार गर्दै नेपाली अर्थतन्त्रलाई प्रत्यक्ष योगदान दिने र आफनो पृथक पहिचान निर्माण गर्न गोफीको तयारी पोशाक बजारमा ल्याएएको गार्मेण्टले जनाएको छ । अहिले गोफी ब्रान्डका कपडा काठमाडौं उपत्यकामा मात्र उपलब्ध गराइएकोमा निकट भविष्यमा नै पोखरा र अन्य शहरमा उत्पादन पुर्याउने गार्मेटले जनाएको छ । भौतिक रुपमा मात्र नभई विद्युतीय माध्यमबाट समेत आउफ्ना उत्पादन बजारमा पुर्याउन ‘गोफी डट फेसन’ डोमेनको प्लेटफर्म समेत सञ्चालनमा ल्याइएको छ । यसका अलावा फेसबुक, इन्स्टाग्रामलगायत सामाजिक सञ्जालबाट पनि पहिरन खरिद गर्न सकिन्छ ।

मनकामना गार्मेन्टले गोफी ब्राण्डका उत्पादन तयार गर्न मात्र ८० जनालाई प्रत्यक्ष रोजगारी दिएको छ ।