युएईमा एकै पटक २० नेपालीमा देखियो कोरोना संक्रमण, एउटै क्याम्पमा ७७ संक्रमित, अवस्था त्रसित


संयुक्त अरब इमिरेट्समा एकै पटक २० नेपालीमा कोरोना संक्रमण देखिएको छ । संयुक्त अरब इमिरेट्सको आबुधाबीको मुसाफामा रहेको कामदार बसोबार गर्ने क्याम्पमा बसोबास गरिरहेका नेपाली सहित ७७ जनामा संक्रमण पुष्टि भएको हो , योसँगै त्यहाँस्थित नेपाली कामदारमा त्रास बढेर गएको छ ।

अबुधाबीस्थित अल दफरा वर्कर भिलेजमा रहेका ठुलो संख्याका कामदार मध्ये ७७ जनामा संक्रमण पुष्टि भएको हो । जसमध्ये २० नेपाली रहेका छन् ।

कार्स ट्याक्सी कम्पनीमा कार्यरत २० जना नेपाली ट्याक्सी चालकलाई कोरोना संक्रमण पुष्टि भएको र सबैलाई विद्यालयको बसमा बाहिर लगिएकोे त्यहाँ कार्यरत एक कामदारले नोटबजारलाई बताए ।

सुरक्षाकर्मीको बाक्लो घेराबन्दीका बिच उनीहरुलाई कहाँ लगिएको हो भन्ने विषयमा कुनै जानकारी नभएको उनले बताए । विभिन्न विद्यालयमा बनाइएको क्वारेन्टाइनस्थलमा लगिएको हुन सक्ने उनले बताए ।

विभिन्न कम्पनीमा कार्यरत हजारौं कामदारहरु आबुधाबीस्थित अल दफरा वर्कर भिलेजमा छन् । एउटा कोठामा १० जनाभन्दा बढी कामदार बसोबास गरिरहेका छन् । म बसिरहेको कोठाका २ जनामा संक्रमण देखियो । अवस्था एकदमै गम्भिर बनेको छ । हामी त्रासका बिच बाँचिरहेका छौं । उनले नोटबजारसँग भने ।

उनका अनुसार संयुक्त अरब इमिरेट्समा रहेका कामदारहरुले कुनै अवस्थामा कामदारहरु काममा जानै पर्ने बाध्यता छ । काममा नजानेले पारिश्रमिक नपाउने भएका कारण जोखिम बढेको उनले बताए ।
संक्रमित भेटिएको स्थानमा अहिले सुरक्षाकर्मीको उपस्थिती बढ्न थालेको छ भने कामदारहरु संक्रमित भेटिएको क्याम्पमा कसरी सँगै बस्ने भन्ने चिन्तामा उनीहरु छन् ।

परिवारमा चिन्ता बढ्न सक्ने भन्दै पहिचान नखुलाई दिन आग्रह गरेका उनले नोटबजारसँग भने, बाहिर देखिएको भन्दा यहाँको अवस्था गम्भिर छ । हामी नेपाल आउन चाहन्छौं, तर यसका लागि कतै बाट पहल हुने अवस्था देखेका छैनौं ।

यस सम्बन्धमा मैले दुतावासमा जानकारी गराएर समस्या बढेको भन्दै सहयोगका लागि आग्रह गरेको छु । यो क्याम्पमा हजारभन्दा बढी नेपाली बसोबास गरिरहेको अवस्था पनि दुतावासलाई जानकारी गराएको छु ।

नेपाल जान चाहन्छौं । हामीमा अहिलेसम्म संक्रमण देखिएको छैन । तर अरु डर र त्रासको अवस्थामा यहाँ बस्न सक्ने अवस्था छैन उनले भने ।