कर्जाको ब्याजदर सस्तियो, औसत आधार दर ९ प्रतिशत तल

0
Shares

चालु आर्थिक वर्षको १० महिनामा वाणिज्य बैंकहरुको औसत आधार दर गत वैशाखको तुलनमा गिरावट आएको छ । २०७६ वैशाखको ९.५९ प्रतिशतको तुलनामा बैंकहरुको औसत आधार दर २०७७ वैशाखमा ८.९६ प्रतिशत कायम भएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार २०७७ वैशाखमा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर ६.४४ प्रतिशत र कर्जाको भारित औसत ब्याजदर १०.९९ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यी दरहरु क्रमशः ६.६७ प्रतिशत र १२.२३ प्रतिशत रहेका थिए ।

कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन गरेपछि आर्थिक क्रियाकलाप संचालन हुन नसक्दा कर्जाको माग घटेपछि ब्याजदरमा समेत गिरावट देखिएको हो । लकडाउनमा बैंकहरुको कर्जा प्रवाह रोकिएपनि निक्षेप बढेको छ भने पुराना कर्जा असुलि हुँदा समेत कर्जा घटेको छ। लकडाउनको राहात स्वरुप राष्ट्र बैंकले कर्जाको ब्याजदर घटाउन निर्देशन दिएकाले पनि कर्जाको ब्याजदरमा गिरावट आएको हो।

राष्ट्र बैंकका अनुसार २०७६ वैशाखमा ९१–दिने ट्रेजरी विलको भारित औसत ब्याजदर ४.२९ प्रतिशत रहेकोमा २०७७ वैशाखमा ३.५१ प्रतिशत कायम भएको छ ।

वाणिज्य बैंकहरुबीचको अन्तर–बैंक कारोबारको भारित औसत ब्याजदर २०७६ वैशाखको ६.१२ प्रतिशतको तुलनामा २०७७ वैशाखमा ४.०६ प्रतिशत कायम भएको छ ।