बैंकले पनि बिजनेश गर्ने हो, पैसा पार्किङ गरेर बस्दैनन् : बैंङ्कर्स


व्यवसायीहरूले मात्र नभई बैंकहरूले पनि व्यवसाय गर्ने भएकाले पैसा पार्किङ गरेर नबस्ने बैंकरहरुले बताएका छन् । बैंकहरूले स्रोत अभावका कारण कर्जा लगानी गर्न नसकेको जानकारी दिँदै यस्तो बताएका हुन् ।  

नेपाल राष्ट्र बैंकका गभर्नर सहभागि भएको आगामी आर्थिक वर्षको मौद्रिक नीतिको छलफल कार्यक्रममा बैंकरहरूले स्रोत र कर्जाको तालमेल नमिलेको बताएका हुन् । नेपाल बैंङ्कर्स संघका अध्यक्ष अनिल कुमार उपाध्यायले बैंकले पनि व्यवसाय गर्ने भएकाले पैसा पार्किङ गरेर नबस्ने बताए । “स्रोत व्यवस्थापन कमजोर भएकाले नै माग अनुसारको कर्जा प्रवाह हुन नसकेको हो,” उनले भने, “आजको दिनमा निक्षेप र कर्जाको अन्तर ३०० अर्ब भन्दा बढी छ ।” 

बैंकहरूमा देखिएको स्रोत अभावको समस्या नेपाल राष्ट्र बैंकको सहयोगका कारण सहज भएको उपाध्यायले बताए ।

“बैंकहरू स्रोतको सन्दर्भमा स्थायी तरलता सुविधा र पुनरकर्जाबाट टिक्नुपरेको अवस्था छ,” उनले भने, “ अर्थतन्त्र बचाउनका लागि तीन देखि चार सय अर्ब स्रोत व्यवस्थापनमा ध्यान दिनु पर्ने देखिन्छ ।” आवश्यक स्रोत व्यवस्थापनका लागि नीतिगत व्यवस्थामा पुनर्विचार गर्नुपर्ने समेत उनले सुझाव दिए ।  

नेपाल व्यवस्थापन संघले आगामी मौद्रिक नीतिका सन्दर्भमा गरेको छलफलमा सहभागी बैङ्कर तथा व्यवसायीले चालु आवमा स्रोत व्यवस्थापन कमजोर हुँदा वर्षभरी तरलता अभाव खेपेको बताउँदै आगामी नीति स्रोत व्यवस्थापनमा केन्द्रित हुनुपर्ने औंल्याएका हुन् । साथै उनीहरूले अहिलेको अवस्थामा संकुचित भन्दा पनि सन्तुलित मौद्रिक नीति ल्याउनुपर्ने माग गरेका छन् । 

स्रोत अभावका कारण नै प्रक्षेपण अनुसारको ‘ग्रोथ’ हासिल गर्न नसकिएको उपाध्याले गुनासो राखेका थिए । कोभिडकालीन समयमा कर्जाको माग कम रहेकाले न्यून ब्याजदरमा नै कर्जा प्रवाह भएको उल्लेख गर्दै उपाध्यायले बाध्यतामा गरिएको कामलाई निरन्तरता दिन नसकिने प्रष्ट पारे । 

यस्तै नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले तरलता सहजीकरण, मूल्यवृद्धि नियन्त्रण तथा ब्याजदरको स्थायित्वमा मौद्रिक नीति केन्द्रित हुनुपर्ने बताए । रेमिट्यान्स बढाउने सहजीकरणका उपायहरू अवलम्बन गर्नुपर्नेमा समेत उनले जोड दिए । 

अहिलेको असजिलो अवस्थामा सबैलाई सन्तुलनमा राख्ने किसिमको मौद्रिक नीति ल्याइनुपर्नेमा जोड दिँदै ढकालले साना तथा मझौला उद्योग, कृषि, पर्यटन, जलविद्युतलाई पनि उच्च प्राथमिकता दिनुपर्ने बताए । पछिल्लो समय कोरोनाका कारण ३ वर्षको नकारात्मक ब्यालेन्ससिटलाई प्रोभिजन गर्नुपर्ने व्यवस्थाले बैंक तथा उद्योगी व्यवसायी समस्यामा परेको भन्दै उक्त प्रावधान समेत हटाउनुपर्ने उनको भनाई थियो ।

यसैगरी नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष कमलेशकुमार अग्रवालले संकुचित नभई अधिक लचिलो र सन्तुलित मौद्रिक नीति ल्याउनुपर्ने बताए । उनले अहिलेको अवस्थामा उद्योग व्यवसाय जोगाउन बैंकको स्प्रेडदर घटाउनुपर्ने र राष्ट्र बैंकले विगतमा प्रदान गर्दै आएका सहुलियतहरुलाई निरन्तरता दिनुपर्ने बताए ।

अग्रवालले तरलताको अभाव, विदेशी मुद्रा सञ्चितिमा परेको दबाबले निजी क्षेत्रको मनोबल हतोत्साहित भइरहेको बताउँदै सीसीडी र सेयर धितोकर्जाको ४ /१२ को नीति हटाउनुपर्ने माग गरे । “सीसीडी र सेयर कर्जाको ४/१२ को व्यवस्थाले समस्या सिर्जना गरेको छ, यसलाई तत्काल खारेज गरौं, सीडी रेसियो अन्तर्राष्ट्रिय मापदण्डको भएपनि हामीले कार्यान्वयन गर्ने बेला भएको छैन,” अग्रवालले भने । त्यस्तै विदेशी मुद्रा आर्जन गर्न क्रिप्टोकरेन्सी माईनिङलाई बैधानिकता दिनुपर्ने, विदेशी लगानी भित्रयाउन हेजिङ्ग फण्डको व्यवस्था गर्नुपर्ने उनले बताए ।

फाइनान्स कम्पनी एशोसिएसनका संघका अध्यक्ष सरोजकाजी तुलाधारले अहिलेको अवस्थामा ८ प्रतिशतको वृद्धि हासिल हुनेगरी कर्जा विस्तार गर्न असम्भव रहेको बताए । कर्जा विस्तारका लागि स्रोत व्यवस्थापनमा आगामी मौद्रिक नीति केन्द्रित हुनुपर्नेमा जोड दिएका उनले सरकारले कृषि, पर्यटन तथा उत्पादनमुलुक क्षेत्रको कर्जा विश्लेषण गर्नुपर्ने आवश्यकता औल्याए ।  

तुलाधरले स्रोत व्यवस्थापनका लागि नेपालीले पनि  विदेशमा लगानी गरेर डलर भित्रयाउन पाउनुपर्ने बताए । “नेपालीहरुले विदेशमा लगानी गर्न पाउनुपर्छ, विदेशबाट नाफा मार्फत डलर ल्याउन सक्ने व्यवस्था गरिनुपर्छ,” उनले भने ।

राष्ट्र बैंकले सेयरको भाउ बढाउने नीति लिनुपर्छ भन्ने लगानीकर्ताको आवाज आएको बताउँदै तुलाधरले वास्तविकतामा त्यस्तो नभएको बताए । केन्द्रीय बैंकको नीतिका कारण नै सेयर बजार घट्ने र बढ्ने गरेको गुनासोका साम्बन्धमा उनले आफुलाई त्यस्तो नलाग्ने बताए । ४-१२ को नीति हटाउँदा सेयर बजार घट्दैन भने त्यसलाई हटाउँदा हुने उनले बताए ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।